बाँकेका जग्गा तथा आवास व्यवसायी संगठित
बाँकेका जग्गा तथा आवास व्यवसायीहरु संगठित भएका छन् । व्यवसायीहरुको शनिबार भएको भेलाले संगठन स्थापना गर्दै व्यवस्थित र मर्यादित व्यवसायमा जोड दिएका छन् । ‘दर्ता नगरी व्यक्तिगत व्यवसाय सञ्चालन गर्ने व्यक्तिहरुका कारण घरजग्गाको कारोबार बदनाम भएको छ’, बाँके जग्गा तथा आवास विकास संघको प्रथम साधारण भेला उद्घाटन गर्दै नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष राजकुमार राईले भने, ‘व्यक्तिगत व्यवसाय गर्नेले नीति, नियम र मापदण्ड विपरित एनिहाउ पैसा कमाउ गरिदिंदा व्यवसाय जोखिममा परेको छ ।’
त्यसैले देशव्यापी रुपमा संगठन बिस्तारमा लागेको महासंघका उपाध्यक्ष राईले जानकारी दिंदै भने, ‘धान खाने मुसा तथा चोट खाने भ्यागुताको अवस्थाबाट मुक्तिका लागि हामीहरु लागि परेका छौं ।’ सरकारको जग्गा वर्गीकरणको नीतिले व्यवस्थित भू उपयोगको सुनिश्चितता गर्ने तर्क उपाध्यक्ष राईको छ । ‘तर, राजनीतिलाई समाजसेवा नभई व्यवसाय ठानिरहेका कतिपय जनप्रतिनिधिहरुका कारण धेरैजसो स्थानीय तहले जग्गा वर्गीकरणको कामलाई प्राथमिकतामा राखेका छैनन्’, उपाध्यक्ष राईले भने, ‘सबै पालिकामा यसको सुनिश्चितताका लागि लाग्नु पर्छ ।’
महासंघका महासचिव विष्णु प्रसाद घिमिरेले मुलुकका ६० जिल्लामा व्यवस्थित आवास तथा जग्गाको कारोबार भैरहेको जानकारी दिंदै ती सबै ठाउँमा संगठन बिस्तारको प्रयास गरिने जानकारी दिए ।
‘हाम्रो घर जग्गा कारोबार सबैको आवश्यकता हो, सबैजसो पेशा, व्यवसायका व्यक्तिहरु यसमा संलग्न छन्’, महासचिव घिमिरेले त्यही व्यवसायको समस्याका बारेमा कसैले नबोलिदिएको गुनासो गर्दै भने, ‘न सरकार न जनप्रतिनिधि, न त उद्योग वाणिज्य महासंघ नै हाम्रा समस्याहरुमा बोलिदिन्छन्, त्यसैले हामी आफै संगठित हुनुपर्यो ।’
बाँकेमा जग्गा तथा आवास विकास व्यवसायमा संलग्न व्यवसायीहरुले सरकारको अस्थिर नीतिका कारण आफुहरुको लगानी निरन्तर जोखिममा पर्दै गैरहेको गुनासो गरेका छन् । अधिकांस व्यवसायीले जग्गा वर्गीकरणलाई स्थानीय सरकारले गम्भीरतापूर्वक नलिंदा रोकिएको कित्ताकाटले व्यवसाय नै धरापमा परेको अनुभव सुनाए ।
बाँकेका व्यवसायीहरुलाई संगठित गर्ने भेलाको पहलकदमी लिएका टकसार रियल स्टेट प्रा.लि.का अध्यक्ष इश्वर प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले भु उपयोग नीति व्यवसायीका लागि नयाँ चुनौति भएको बताए । ‘दबाबका भरमा जग्गा वर्गीकरण कार्यान्वयन गरिंदा समस्या सिर्जना हुने अवस्था देखिंदैछ’, इन्जिनियर शर्माले भने ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्वमा निजी क्षेत्रको सहभागिता आवश्यक भएको औंल्याए । ‘पैसा मात्रै कमाउने ध्याउन्नमा समाजलाई विकृति मात्रै थोपर्दा पेशा व्यवसाय नै बदनाम हुन्छ’, सिग्देलको भनाइ थियो, ‘उद्योगी, व्यवसायीहरुले सामाजिक उत्तरदायित्वमा देखिने गरी काम गर्नुपर्यो ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओली उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपालगन्ज मल्टिपल क्याम्पसका प्राचार्य थानिश्वर पाण्डेय, युवा व्यवसायी मनोज पौडेल लगायतले राज्यका नीति र व्यवसायिक दायित्वसँगै व्यवस्थित तथा मर्यादित व्यवसायमा ध्यानाकर्षण गराएका थिए ।
व्यवसायीहरुको भेलामा नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष राई, महासचिव घिमिरेसँगै केन्द्रीय सदस्य दशरथ पण्डित, मोहन राउत, गोमा राई, हरि भट्टराई लगायतका प्रतिनिधिहरु सहभागी थिए ।