
गृह मन्त्रालयले गत साउन २८ गते मिटर ब्याज पीडितहरुलाई उजुरी दर्ता गर्न सार्वजनिक सुचना जारी गर्यो । देशका विभिन्न ठाउँमा मिटर ब्याजका कारण परिवारहरुको बिचल्ली भएका समाचार सञ्चारमाध्यममा निरन्तर आउन थालेपछि गृहमन्त्रालयले चासो देखाउँदै उजुरीका लागि सार्वजनिक सुचना जारी गरेको हो ।
मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुमाथि गरेको शोषणको श्रृंखलाले सयौं परिवारको विचल्ली भएका समाचारहरु सार्वजनिक भैरहेका छन् । गृह मन्त्रालयले मिटर ब्याज नियन्त्रणका लागि गृह मन्त्री स्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरु सिफारिस गर्न कार्यदल समेत गरिएको छ ।
‘त्यस्ता आर्थिक अपराधीहरुलाई कानुनको दायरामा ल्याई कारवाही गर्ने प्रक्रिया पनि चलिरहेको छ तर पनि अझै धेरै पीडितहरुले आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारको लागि पहल गर्न नसकेको अवस्था छ’, गृहमन्त्रालयद्वारा गठित कार्यदलका संयोजक डा. भीष्मकुमार भुसाल भन्छन्, ‘देशैभरी मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेको अपराध र शोषण विरुद्ध आ–आफ्नो जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेसम्म यथासम्भव प्रमाण सहित उजुरी दर्ताका लागि सार्वजनिक सूचना जारी गरियो ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले गृह मन्त्रालयको सार्वजनिक सूचना पछि जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी १५ वटा उजुरी परेको जानकारी दिएका छन् । ‘गृहको सूचना बमोजिम उजुरी लिएका छौं’, उनले भने । प्रशासनले गृहमन्त्रालयबाट कार्यदल समेत गठन भएकाले त्यसको छानबिन र कारवाही प्रक्रिया निर्देशन बमोजिम हुने बताएको छ । बाँकेमा १५ वटा मिटरब्याज सम्बन्धी उजुरी परेपछि पक्राउ भने कसैलाई गरिएको छैन ।
छोटा समयमा ठूलो आर्थिक लाभमा हुने मिटरब्याज आर्थिक अपराध बढाउँदै लगेको छ । मिटर ब्याजले घरजग्गा सखाप भएको मात्रै होइन परिवार नै विखण्डन भएको समाचारले पछिल्ला दिन चर्चा पाउँदै गएका छन् । मिटरब्याजमा ठगिएका र ठगी गर्ने दुवै प्रहरी धाउने गरेको पाइन्छ ।
बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन् । सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने प्रवृत्ति समाजमा पाइन्छ ।










