सामाजिक अभियन्ताका रुपमा सक्रिय डा. विनोद कर्णले आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालगन्ज मेडिकल कलेजका प्लाष्टिक सर्जन डा. कर्णले सोमवार पत्रकार सम्मेलन गरि आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाँके क्षेत्र नम्बर २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘नेपालगन्जको समृद्धिनै मेरो उम्मेदवारीको ऐजेन्डा हो,’ आफन्त, शुभेच्छुक, समर्थक सहित प्रस्तुत भएका डा. कर्णले पत्रकारहरुसँग भने, ‘राजनीतिक गर्ने मेरो अन्य कुनै ठुलो चाहना छैन, यो क्षेत्रलाई देशकै नमुना कसरी बनाउन सकिन्छ भनेर उम्मेदवारी घोषणा गरेको हो ।
लामो समयदेखि नेपालगन्जमा हरित अभियान तथा सरसफाईसँग जोडिएर ‘क्लीन नेपालगन्ज ग्रीन नेपालगन्ज’ अभियान मार्फत विभिन्न सामाजिक अभियानमा सक्रिय उनी २०७४ सालमा विवेकशील साझाबाट प्रदेशमा उम्मेदवारी दिएका थिए ।
‘त्यसपछि म कुनै दलमा आबद्ध छैन,’ मर्नु भन्दा अघि नेपालगन्ज समृद्ध भएको हेरेर मर्ने ठुलो ईच्छा रहेको भन्दै भावुक रुपमा प्रस्तुत भएका डा. कर्णले पत्रकारसँग भने, ‘मेरो उम्मेदवारीको घोषणा पनि त्यसमै लक्षित छ, की म अन्तिम सास लिंदा नेपालगन्ज समृद्ध देख्न पाइयोस् ।’ दलसँग जोडएर निर्वाचनमा जाँदा उनीहरुका गलत कामको साक्षी बस्नुपर्ने आशंका उनको छ ।
ख्यातीप्राप्त प्लाष्टिक सर्जन डा. कर्णले आफ्नो चिकित्सा क्षेत्रमा रहेर निकैको स्वाथ्यउपचारमा सहुलियत उपचार गरेको बताए । ‘त्यहाँबाट विकास र समृद्धिका लागि योगदान गर्न सकिन्न,’ राजनीतिमा आउनु आफ्नो सेवाभावमात्रै भएको तर्क गर्दै डा. कर्णले भने, ‘आफ्ना लागि पेशाकर्मबाटै काम गरियो, अब नेपालगन्ज विकासका लागि समर्पित हुने हो ।’
निर्वाचनको सकारात्मक परिणामका लागि चरणबद्ध छलफलमा रहेका डा. कर्णले विभिन्न स्वतन्त्र र नागरिक समाजका प्रतिनिधिहरुसँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् ।










