सौन्दर्यकला व्यवसायीले भने, ‘राज्य उदासिन’

विभिन्न क्षेत्रका अगुवा व्यवसायीहरुले सौन्दर्यकला व्यवसाय क्षेत्र प्रत्यक्ष रुपमा महिला आत्मनिर्भर तथा स्वरोजगार हुने व्यवसाय भएपनि राज्य उदासिन रहेको बताएका छन् । सौन्दर्यकला व्यवसायमा महिलाहरुको सहभागिता बढिरहँदा राज्यले त्यसलाई सघाउ पुर्याउने खालको नीति नलिएको उनीहरुको गुनासो थियो ।

सौन्दर्यकला व्यवसायी संघको पाँचौं अधिवेशन तथा चौधौं बार्षिक साधारणसभाका वक्ताहरुले कुनै बेला लुकेर ब्युटिसियन तालिम लिनुपर्ने अवस्थाबाट अहिले व्यवसाय सम्मानजनक अवस्थामा पुगेको बताएका थिए । ‘सौन्दर्यकलाको माग बढेको छ’, व्यवसायीहरुले भने, ‘व्यवसायी तथा यसमा काम गर्ने महिलाहरुको संख्या पनि बढेको छ ।’

कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख कमरुद्दिन राईले महिलाहरुलाई स्वरोजार बनाउन सौन्दर्यकला व्यवसायको भूमिकाको सराहना गरे । उनले महिलाहरु घरबाहिर निस्केर काम गर्ने वातावरण रहेको भन्दै घरमै सीमित नहुन आग्रह गरे । ‘महिला घर बाहिर निस्केर काम गर्ने महिलाहरुको आर्थिक सशक्तिकरणमा उपमहानगरपालिका सहयोग गर्न तयार छ’, उनले भने ।

सौन्दर्यकला व्यवसायी संघ बाँकेका अध्यक्ष दुर्गा अधिकारीले जिल्लामा ३ सयको हाराहारीमा ब्यूटिपार्लर सञ्चालनमा रहेको जानकारी दिइन् । उनले आफ्नो कार्यकालमा कोभिडका कारण देखिएको चुनौति र त्यसको समाधानका लागि आफ्नो नेतृत्वमा भएका कामहरुको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अध्यक्ष अधिकारीले मूल्यमा एकरुपतादेखि कोभिडका समयमा व्यवसायी तथा कर्मचारीको कोभिड परीक्षण, व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि गरेको प्रयास उल्लेख गरिन् ।

‘महिला दिदीबहिनीको मानसिक र शारीरिक सौन्दर्य निखार्न र आन्तरिक क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न सौन्दर्य कला व्यवसायले ठूलो टेवा पुर्याएको हुँदा अहिले यो व्यवसाय ब्यूटि क्लिनिकको रुपमा रुपान्तरण हुँदैछ’, अध्यक्ष अधिकारीले भनिन्, ‘तर, यस पेशा, व्यवसायलाई सरकारी निकायबाट जुन खालको टेवा पुर्याउनु पर्ने हो, सो अनुरुप टेवा पुर्याएको देखिदैन ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले समयसँगै सौन्दर्यकला व्यवसायमा राम्रा प्रविधिहरु भित्रिदा सोही अनुकुल व्यवसायीहरु पनि परिवर्तन हुनुपर्ने बाध्यता रहेको बताए । ‘पहिले हात हुने काम अहिले मेसिनले गर्छन्, सौन्दर्यकलामा अहिले चिकित्सक तथा नर्स समेत संलग्न हुनुहुन्छ, त्यसैले सौन्दर्यकला व्यवसायीले समयानुकुल प्रविधि भित्र्याउँदै जानु पर्दछ’, अध्यक्ष मन्सुरीले भने । उनले व्यवसायिक छाता संगठनमा व्यवसायीहरु आबद्ध हुन जोड गरे । ‘संगठन बलियो भयो भने समस्या समाधानका मुद्दा उठाउन सहज हुन्छ’, अध्यक्ष मन्सुरीले भने ।

महिला उद्यमी संघ बाँकेका अध्यक्ष सुमित्रा चौधरीले महिलाहरु स्वावलम्वनको बाटोमा अघि बढ्दै गएको बताइन् । नेपालगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी व्यवस्थापन समितिका संयोजक मन्दिरा पाण्डेले नेपालगन्जमा प्रमुख वा उपप्रमुख महिला हुनुपर्नेमा महिलाको भाग गठबन्धनका नाममा खोसिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख राई कार्यव्यस्तताले बोलेपछि उठेर हिडेको तर्फ इङ्गित गर्दै पाण्डेले भनिन्, ‘उपप्रमुखज्यू जानु भयो, उहाँलाई भन्नु थियो ।’ पाण्डेले उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख मध्ये एक जना महिला नबनाएर भाग खोसिएको भन्दै महिलाहरु आफ्नो अधिकारका लागि लड्नु पर्ने बताएकी थिइन् ।
नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले व्यूटिसियनको स्कोप बढ्दै गएको भन्दै सौन्दर्य स्वास्थ्य र आफुलाई आत्मविश्वासी बनाउन पनि आवश्यक रहेको बताइन् ।

नेपाल सौन्दर्यकला व्यवसायी संघका केन्द्रीय सल्लाहकार सरस्वती श्रेष्ठले आफ्नो पेशा र व्यवसायमा निरन्तर र इमान्दार प्रयास आवश्यक रहेको बताइन् ।

घरेलु तथा साना उद्योग महासंघ बाँके अध्यक्ष मधु खड्काले व्यवसायीहरुलाई आफु सम्बद्ध संगठनमा आबद्ध हुन आग्रह गर्दै महिला उद्यमीका लागि तीन तहकै सरकारले ल्याउने विशेष आर्थिक सहयोग, ऋण सहयोग लगायतका बारेमा जानकार हुन आग्रह गरिन् ।

कार्यक्रममा नेपाल वन पैदावर उद्योग व्यवसाय महासंघका पूर्व अध्यक्ष कपिल प्रसाद अधिकारी, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, सौन्दर्यकला व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

‘पाठ्यक्रममा समावेश गर’

नेपाल सौन्दर्यकला व्यवसायी संघ बाँकेका अध्यक्ष दुर्गा अधिकारीले सौन्दर्यकला वर्तमान समयमा आवश्यक भैसकेकोले उक्त विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राखेकी छन् । उनले नेपाल सौन्दर्य कला व्यवसाय संघ नेपालको अथक प्रयासबाट पद्यम कन्या क्याम्पसमा सौन्दर्यकला विषय समावेश भएको उद्धृत गर्दै बाँकेमा पनि विद्यालय स्तरमा पाठ्यक्रममा समावेश गर्न पहल गर्न आग्रह गरिन् ।

सान्दर्यकला व्यवसायी संघको बार्षिक साधारणसभा तथा अधिवेशनमा सहभागीहरुले समेत सौन्दर्यकला अहिलेको आधुनिक युगमा निकै आवश्यक भएको भन्दै मानिस आफै पनि आफ्नो आकर्षक व्यक्तित्वका लागि त्यसमा चासो राख्न थालेको बताएका थिए ।

‘सबैलाई राम्रो देखाउ भन्ने सोंच हुन्छ, महिला मात्रै होइन कुनै पनि औपचारिक कार्यक्रममा राम्रो देखिएर जाने चाहनामा पुरुषमा पनि हुन्छ, यो सबै सौन्दर्यमा जोडिएको विषय हो’, सहभागीले भने, ‘त्यसैले यसलाई समयानुकुल बढाउन सबैले सहयोग गर्नुपर्दछ ।’

राधा शाहको अध्यक्षतामा कार्यसमिति

सौन्दर्यकला व्यवसायी संघ बाँकेले नयाँ कार्यसमिति चयन गरेको छ । राधा शाहको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो ।


कार्यसमितिमा कृष्णा श्रेष्ठ उपाध्यक्ष, प्रमिला चौधरी सचिव, सरिता बोहरा कोषाध्यक्ष, नरमाया घर्ती सहसचिव, कोमल श्रेष्ठ सहकोषाध्यक्ष चयन भएका छन् ।


सदस्यहरुमा बर्षा बज्राचार्य, चेतना थापा, सोनम केसी, शोभासोनी बस्नेत, कल्पना मल्ल, ललिता पाठक, जस्मिन अन्सारी, सरिता आचार्य, किरण सिंह, पृष्टिना राना, श्रृया सिलवाल, ऋतु शाह, पुनम बर्मा चयन भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया