सम्हालिंदै सहरको बौद्धिक सम्पदा, साढे दुई दशकपछि महेन्द्र पुस्तकालयलाई जीवन दिने प्रयास, नयाँ नेतृत्व आउँदै
सहरको बौद्धिक सम्पदाका रुपमा रहेको नेपालगन्ज स्थित महेन्द्र पुस्तकालयलाई झण्डै साढे दुई दशकपछि जीवन दिने प्रयास थालिएको छ । कुनै बेला पश्चिम नेपालकै ठूलो पुस्तकालयको छवि बनाएको महेन्द्र पुस्तकालय व्यवस्थापकीय असमक्षताले धराशयी भएपछि सार्वजनिक हस्तक्षेप भएको थियो । हस्तक्षेप बनेको तदर्थ समितिले झण्डै १२ हजार पुस्तक सहित करोडौंको भौतिक पूर्वाधार रहेको महेन्द्र पुस्तकालयलाई नयाँ जीवन दिन लागेको हो ।
त्यसका लागि २५ बर्षपछि पुस्तकालयको निर्वाचन हुँदैछ । विक्रम सम्वत् २००३ सालमा पश्चिम नेपालकै अग्रणी पुस्तकालयका रुपमा प्रेम पुस्तकालय स्थापना भएको हो । प्रेम पुस्तकालयलाई नै २०२१ सालमा महेन्द्र पुस्तकालय नामाकरण गरी सार्वजनिक रुपमा सञ्चालन गरिंदै आएको थियो ।
पुस्तकालयका तत्कालीन सचिव, तदर्थ समितिका सदस्य सनत रेग्मीका अनुसार २०५४ सालसम्म प्रत्येक दुई बर्षमा निर्वाचनबाट नेतृत्व चयन गर्दै पुस्तकालय नियमित र आकर्षक ढंगले सञ्चालन हुँदै आएको थियो । ‘त्यसपछिको सञ्चालक समितिका अधिकांस सदस्यहरु निष्क्रिय रहनु, जिल्ला बाहिर जानु र नेतृत्व सहित सीमित व्यक्तिले संस्थालाई सक्रिय ढंगले अगाडि बढाउन नसक्नुका कारण पुस्तकालय धराशयी हुँदै बन्द भयो’, रेग्मीले पुस्तकालय बन्द हुँदा समेत नेतृत्वले हस्तान्तरणको प्रक्रिया नथालेपछि आजीवन सदस्यहरुको भेलाले हस्तक्षेप गरी नयाँ तदर्थ समिति गठन गरेको जानकारी दिंदै भने, ‘भदौ २८ गते निर्वाचन गरी नयाँ नेतृत्वलाई हस्तान्तरण गरिनेछ ।’
सोमबार महेन्द्र पुस्तकालय तदर्थ समितिले पत्रकार सम्मेलन गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्यो । पुस्तकालय स्थापनाको ७५ बर्ष पूरा भई ७६ बर्ष लागेको अवसरमा भव्य बार्षिकोत्सव सहित नयाँ नेतृत्वलाई स्वागत गर्न लागेको तदर्थ समितिले आगामी भाद्र ३ गते अमृत महोत्सव आयोजना गर्दैछ । भदौं ५ गतेदेखि आजिवन सदस्यता खुल्ने जानकारी दिंदै तदर्थ समितिका अध्यक्ष बलराम यादवले पुस्तकालयलाई सम्पूर्ण रुपमा नयाँ जीवन दिन लागिएको बताए ।
अमृत महोत्सवको सेरोफेरोमा माध्यमिक विद्यालय स्थापनाको छात्रछात्रा बीच निबन्ध प्रतियोगिता आयोजना गरेको महेन्द्र पुस्तकालयले ‘विद्यार्थी जीवनमा पुस्तकालयको महत्व’ बारे प्रतिस्पर्धात्मक सचेतनापनि फैलाएको अध्यक्ष यादवले जानकारी दिए । ‘आर्थिक अव्यवस्था बाहेक तदर्थ समितिलाई दिइएको म्यान्डेट पूरा गर्ने गरी भदौं भित्रै नयाँ टिमलाई पुस्तकालयको नेतृत्व जिम्मा लगाउँदैछौं’, शिक्षा क्षेत्रमा लामो योगदान दिएका तदर्थ समितिका अध्यक्ष यादवले पत्रकारहरुसँग भने, ‘यो पछिल्लो साढे दुई दशकको आर्थिक बेथितिको हिसाबकिताब भने हामीलाई दिइएन ।’
करोडौंको भौतिक पूर्वाधारमा स्थापित महेन्द्र पुस्तकालयलाई ‘इ–लाइब्रेरी’ का रुपमा लैजान सकिने वरिष्ठ साहित्यकार सनत रेग्मीको भनाइ छ । ‘त्यसकालागि दृढ इच्छा शक्ति सहितको प्रभावकारी व्यक्तित्वले पुस्तकालयको नेतृत्व लिनु पर्दछ’, रेग्मीले तदर्थ समितिका अध्यक्षलाई नै एक कार्यकाल नेतृत्व दिन उचित हुने प्रस्ताव गर्दै भने, ‘उहाँले गतिलो टिम छनोट गरेर पुस्तकालयलाई नयाँ स्वरुपमा आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’
पत्रकारहरुसँग तदर्थ समितिका सचिव सुदिप भट्टराई, सदस्य कृष्ण मुरारी भट्ट, जमिल अहमद सिद्दिकी लगायतले सम्मेलनमा प्रस्तुत भएका थिए । त्यसक्रममा पुस्तकालयको एउटा सभाकक्ष वडा कार्यालयले ‘कब्जा गरेको’ भन्दै नेपालगन्ज वडा नं. ८ लाई पुस्तकालय सञ्चालनको निर्बाध वातावरण बनाइदिन सदस्यहरुले अपिल पनि गरेका छन् ।
युवा सूचना केन्द्रका नाममा लिइएको सभाकक्षमा अस्तव्यस्त पुस्तक, कम्प्युटरहरु राखिएपनि त्यसको उपयोगिता नखोजिएको पुस्तकालयका पदाधिकारीको भनाइछ ।