लागुऔषध प्रयोग गर्न निःशुल्क सुई

एउटा सुई धेरैले प्रयोगगर्दा हुने एचआइभी एड्स लगायतका प्राणघातक रोगको प्रसार रोक्नका लागि लागुऔषध प्रयोगकर्तालाई सुई दिइँदै आएको हो

सुई मार्फत लागुऔषध सेवन गर्ने दुव्र्यसनीका लागि बाँकेमा निःशुल्क सुईको वितरण गरिंदै आएको छ । सुईको प्रयोगबाट लागुऔषध प्रयोग गर्नेले एउटै सुई धेरैले प्रयोग गर्दा घातक सरुवा रोग एकबाट अर्कोमा सर्न थालेपछि सुई वितरण हुँदै आएको हो ।

लागुऔषधको प्रयोगकर्तालाई सजायको व्यवस्था छ । लागुऔषध नियन्त्रण ब्यूरोका प्रकाश बहादुर केसीका अनुसार, लागुऔषध सेवनकर्तालाई १ बर्षसम्म र बिक्रेतालाई लागुऔषधको परिणाम अनुसार कैदको सजाय व्यवस्था छ ।
एकातिर सेवनकर्तालाई सजाय र अर्को तर्फ सुई मार्फत लागुऔषध सेवन गर्नेलाई राज्यकै नीति अन्तर्गत लागुऔषध सेवनका लागि सुई वितरणको बाध्यता छ । सुई मार्फत लागुऔषध लिनेका कारण हेपाटाइटिस, एड्स जस्ता रोगको प्रसारको जोखिम हुँदा बर्र्षाैदेखि बाँकेमा प्रयोगकर्तालाई सुई वितरण हुन थालेको हो ।

रगतमार्फत सर्ने विभिन्न रोगको राज्यले निःशुल्क परीक्षण र उपचार गर्दै आएको छ । जसमा निकै ठूलो धनराशी खर्च हुन्छ । त्यसैले यस्तो रोगको प्रसार न्यूनीकरणका लागि लागुऔषध प्रयोगकर्तालाई सुई वितरण हुँदै आएको हो ।

‘नेपाल सरकारले सन् २०३० सम्ममा नयाँ एचआइभी संक्रमित निमूल पार्ने लक्ष्य लिएको छ’, चेञ्ज टिमकी कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसीले भनिन्, ‘उक्त लक्ष्य प्राप्त गर्न सरकारले विभिन्न जोखिमका क्षेत्रको पहिचान गरी न्यूनीकरणको योजना बनाएको छ, जसमध्ये सुईबाट लागुऔषध प्रयोग गर्ने पनि एउटा समूह हो, त्यसैले एचआइभी प्रसार नहोस् भनेर सुई वितरण भैरहेको हो लागुऔषध प्रयोगकर्तालाई ।’

कार्यक्रम संयोजक जिसीले चेञ्ज टिमले लागुऔषध प्रयोगकर्तालाई आफ्नो लक्ष्य भन्दा बढी सुई वितरण गरेको जानकारी दिइन् । उनले १ लाख ३५ हजार ३ सय ६६ सुई वितरणको लक्ष्य रहेकोमा १ लाख ३७ हजार ८ सय सुई वितरण भएको बताइन् । ‘लागुऔषध प्रयोगकर्ताले प्रयोग गरिसकेको सुईको सुरक्षित व्यवस्थापनका लागि १ लाख २५ हजार ३१ वटा फिर्ता लिएका छौं’, उनले भनिन्, ‘कतिपय प्रयोगकर्ताले सुई फालिदिंदा वितरण अनुसार फिर्ता भने पाउन सकेका छैनौं ।’
कार्यक्रम संयोजक जिसीले चेञ्ज टिमले लागुऔषध प्रयोगकर्ताको व्यवहार परिवर्तनका लागि काम गरिरहेको जानकारी दिइन् । ‘एचआइभीको प्रसार रोक्न कण्डम वितरण, लागुऔषध प्रयोगकर्तालाई मेथाडोन उपचारको व्यवस्था पनि संस्थाले विभिन्न निकायहरुको सहयोगमा गरिरहेको छ’, उनले भनिन् । मेथाडोन लागुऔषध छाड्नका लागि लिइने मौखिक उपचार पद्धति हो । जुन चेञ्ज टिमसँगको सहकार्यमा भेरी अस्पताल नेपालगन्जबाट प्रदान हुँदै आएको छ ।

चेञ्ज टिमले आइतबार लागुऔषध प्रयोग, नियन्त्रण, यसले पारेका नकारात्मक प्रभावबारे सरोकारवालासँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै विभिन्न संघ, संस्थाका प्रतिनिधिले लागुऔषध प्रयोगकर्तामा एचआइभी भन्दा हेपाटाइटिस सिको उपचार निकै चुनौतिपूर्ण बन्दै गएको बताएका थिए । चेञ्ज टिमकी कार्यक्रम संयोजक जिसीले कमजोर आर्थिक अवस्था भएका लागुऔषध प्रयोगकर्तालाई हेपाटाइटिस सि हुँदा खर्चिलो उपचारका कारण ज्यान नै जोखिममा रहेकाले सरकारको ध्यान जानुपर्ने बताएकी थिइन् ।

चेञ्ज टिमले सञ्चालन गरेको कार्यक्रमको लक्ष्य र प्रगतिको प्रतिवेदन पेश गरिएको कार्यक्रममा बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, वडा नं. १२ का वडाध्यक्ष तरुण बज्राचार्य, जनस्वास्थ्य निरीक्षक मानव नेपाली, उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

फाउण्डेसनलाई नयन राज स्मृति पुरस्कार
नयनराज रावत स्मृति सम्मान तथा पुरस्कार–२०७९ आइतबार औपचारिक कार्यक्रम बीच प्रयास फाउण्डेसन बाँकेलाई प्रदान गरिएको छ । ६औं नयनराज रावल स्मृति दिवसको अवसरमा दमयन्ति फाउण्डेशन नेपालले प्रयास फाउण्डेसनलाई नगर १० हजार एक रुपैयाँ सहित सम्मान गरेको हो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुणकुमार बर्जाचार्य, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, दमयन्ति फाउण्डेसन नेपालकी अध्यक्ष इन्द्राकुमारी जिसीले प्रयास फाउण्डेसनकी अध्यक्ष सन्ध्या शाहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ मा रहेको प्रयास फाउण्डेसनलाई सामाजिक सेवाको क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै उक्त सम्मान गरिएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा लागुऔषध विरुद्धको अभियन्ता स्व. नयनराज रावलले लागूऔषध दुव्र्यसनीविरुद्ध गरेका कामहरुका बारेमा चर्चा समेत गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया