ट्रकमै विभिन्न जिल्ला क्यारिङ
भारतसँग खुला सीमाना रहेको बाँकेमा मुख्य नाका बाहेक भित्री नाकाबाट पनि मालसमान तस्करी हुँदै आएको पाइएको
छ । तस्करहरुले सानो परिणाममा क्यारिङ मार्फत भन्सार छली गरेर बाँकेका विभिन्न क्षेत्रमा भण्डारण गर्ने र एकमुष्ठ विभिन्न जिल्ला पठाउने गरेका छन् । जसले गर्दा बाँके मात्रै नभई देशका विभिन्न जिल्लामा मूल्यमा असमानता समेत सिर्जना भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघमा पछिल्लो पटक आयोजित कार्यक्रममा व्यवसायीहरुले भन्सार छलिएको मालसामान पहाडि जिल्ला सहित काठमाडौं समेत पुग्ने गरेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।
व्यवसायीहरुले कर तिरेर व्यवसाय गर्ने व्यवसायीहरु तस्करीबाट मालसामान भित्र्याउने व्यवसायबाट नोक्सान व्यहोर्नु परेको बताउँदै आएका छन् । व्यवसायीहरुको छाता लगायत अन्य संगठनहरुले त्यसबारेमा विभिन्न समयमा औपचारिक रुपमै सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छन् । यद्यपि, व्यवसायीहरुले भन्सार तथा प्रहरी, प्रशासनलाई भन्सार कडाई गर्न आग्रह गरेपनि आजसम्म तस्करीको बारेमा सूचना भने प्रहरी, प्रशासनलाई दिएको पाइँदैन । जसले गर्दा प्रशासनले तस्करीको सूचना व्यवसायीले नदिंदा पनि तस्करी नियन्त्रण चुनौति हुँदै आएको बताउँदै आएको छ ।
लाखौंको सामान बरामद
सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हेक्वा बागेश्वरी बाँकेबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ओसारपोसार भैरहेको लाखौंको मालसामान बरामद गरेको छ । मंगलबार बैजनाथ गाउँपालिका १ हात्तीसारमा सुर्खेततर्फ जाँदै गरेको भे. १ ख. ३५८८ नं.को ट्रकलाई शंका लागि चेकजाँच गर्दा बिना बिलको लाखौंको सामान बरामद भएको गण प्रमुख, प्रहरी उपरीक्षक जनक राज बस्नेतले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीले बरामद मालसामान भन्सार छलेर ल्याइएको आशंका गर्दै ढुवानीमा प्रयोग भएको ट्रक सहित मालसामान नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ । ‘ट्रक र मालसामान मंगलबार नै भन्सार दाखिला गरेका छौं’, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘थप कारवाही भन्सारबाट हुनेछ ।’
सशस्त्र प्रहरीले बरामद गरेको ट्रकबाट बिना बिलको सय बोरा चिनी, चामल, सुपर पावर, लत्ताकपडा लगायतको मालसामान फेला परेको हो । सशस्त्रले ट्रक सहित मालसामानको मूल्यांकन ५९ लाख ४० हजार गरेको छ । ‘नेपाली यातायातको साधन भएकाले गाडीको कागजात पनि भन्सार नै बुझाएका छौं’, प्रहरी उपरीक्षक बस्नेतले भने ।
सशस्त्र प्रहरीले २ जना ट्रकचालक तथा सह–चालक पनि नियन्त्रणमा लिएर भन्सार बुझाएको छ ।