बागेश्वरीको गुरुयोजना सार्वजनिक गर्न नागरिक प्रतिनिधिको माग


प्रसिद्ध शक्तिपीठ, नेपालगन्ज स्थित बागेश्वरी मन्दिर विकासको बिस्तृत गुरुयोजना सार्वजनिक गर्न माग गरिएको छ ।

मंगलबार नेपालगन्ज उपमहानगरपालिका पुगेका नागरिक समाजका अगुवाहरुले बागेश्वरी मन्दिरको सौन्दर्यमा क्षति पुग्ने गरी पटकपटक हुने गरेका विवादास्पद निर्माण कार्य रोकिनु पर्ने भन्दै कुनै पनि निर्माण कार्यका लागि गुरुयोजनालाई आधार बनाउन माग गरे ।

बागेश्वरी परिसरको पूर्वी मोहडामा व्यवसायिक प्रयोजनका संरचना निर्माण गर्न लागेपछि त्यसबारे चासो र चिन्ता व्यक्त गर्दै विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा कार्यवाहक नगर प्रमुख कमरुद्दिन राईसँग बहसमा सहभागी सबै जसोको भनाइ थियो, ‘शक्तिपीठ माथिको छेडखानी अति भयो रोक्नुस् ।’ नागरिक अगुवाहरुको दबाब पछि आइतबारबाट सुरु भएको संरचना निर्माण कार्य रोक्न कार्यवाहक नगरप्रमुख राईले निर्देशन दिए ।

‘अबका कुनै पनि संरचना निर्माण कार्य बृहत गुरुयोजनामा टेकेर गरिनु पर्छ’, बागेश्वरी मन्दिरको शोध अनुसन्धानमा सहभागी संस्कृतिविद् डा. राजकुमार सुवेदीले भने, ‘त्यसअघि नागरिक सामु गुरुयोजना सार्वजनिक गरिनु पर्दछ ।’ सरकारले बनाएको गुरुयोजनामा समय सापेक्ष सुधारको आवश्यकता महसुस भए छलफलमा लैजान सकिने तर्क गर्दै डा. सुवेदीले भने, ‘तर त्यसलाई बृहत रुपमा छलफल गरेर कमसेकम सय बर्षसम्म बागेश्वरीको अवस्था कस्तो हुन्छ भन्ने योजना बनाउन सक्नु पर्छ ।’

पुरातात्विक महत्वको सम्पदा माथि जनप्रतिनिधि आएपछि झन् बढी आक्रमण भैरहेको नागरिक समाजका अगुवाहरुको टिप्पणी थियो । ‘बागेश्वरीको सम्पदा संरक्षण गरी धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य निर्माण गर्नेतर्फ जनप्रतिनिधिहरुको ध्यान जानु पर्दथ्यो’, विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठको भनाइ थियो, ‘हामी कहिलेसम्म उनीहरुले बिगारेका काममा औंलो ठड्याउँदै धाइरहने ?’ यसअघि पनि समितिले खबरदारी गरेपछि उपमहानगरपालिकाले अनाधिकृत निर्माण कार्यमा अंकुश लगाएको थियो ।

नेपालगन्जका पूर्व नगर प्रमुख, विजय कुमार गुप्ताले अहिले संरचना बनाउन लागिएको ठाउँ सदरलाइन बिस्तार कार्यका क्रममा सहरी विकास योजना अन्तर्गत आवश्यक खाली छोड्नु पर्ने जग्गा भएको जानकारी दिए । ‘खाली ठाउँ देख्नै नहुने कस्ता जनप्रतिनिधि चुन्दैछौं हामी ?’, सदरलाइन बिस्तार योजनाका नेतृत्वकर्ता गुप्ताले कुनैपनि ठाउँमा भएका सार्वजनिक खुल्ला ठाउँ संरक्षण र हरियाली तर्फ नगरपालिकाको ध्यान जानु पर्ने बताए ।

नेपालगन्ज नगर विकास समितिका पूर्व अध्यक्ष ललित रौनियारले खाली छाडिएको जग्गामा कुनै किसिमका पूर्वाधार निर्माण कार्य मान्य नहुने बताए । ‘त्रिवेणीमोडदेखि त्रिभुवनचोकसम्मको बस्ती भुकम्पीय जोखिममा निकै चुनौतिपूर्ण छ’, रौनियारले उक्त ठाउँ खाली राख्न आवश्यक रहेको औचित्य पुष्टि गर्दै भने, ‘भोलि आपतकालीन उद्दार गर्नुपर्यो भने कहाँ जाने ?’

बागेश्वरी मन्दिर गुठीका सदस्य मधुसुदन शर्माले व्यवसायिक प्रयोजनका लागि बागेश्वरी परिसरको जग्गा उपयोग गर्न नहुने तर्क गर्दै बागेश्वरीकै बृहत्तर विकासमा उक्त जग्गा प्रयोग गर्नुपर्ने बताए । ‘भविष्यमा त्यस क्षेत्रमा पार्किङ्गको ठूलो समस्या देखा पर्छ’, शर्माले छलफलमा भने, ‘अण्डर ग्राउण्ड पार्किङ्ग बनाएर माथि चिल्डे«न पार्क बनाउनु नै अहिलेको उपयुक्त निर्णय हुन्छ ।’

वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, अधिवक्ता लोक बहादुर शाह, विकास आचार्य, बसन्त गौतम, विश्वजित तिवारी लगायतले कानुनी रुपमा अदालतको आदेश अवज्ञा हुने गरी कुनै पनि संरचना निर्माण नगर्न उपमहानगरपालिकाको ध्यानाकर्षण गराए । ग्रीन नेपालगन्ज क्लीन नेपालगन्जका संयोजक डा. विनोद कर्ण, कपास विकास समिति खजुराका अध्यक्ष हेमन्तराज काफ्ले, शिव सेनाका अध्यक्ष राजकुमार रौनियार लगायतले कार्यवाहक नगर प्रमुख कमरुद्दिन राईसँग बागेश्वरी परिसरमा दीर्घकालीन प्रभावका कामहरु गर्नुअघि गुरुयोजनालाई आधार मान्नुपर्ने जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया