जनचाहना विपरित उपमहानगर पालिका चल्ने कुरा हुँदैनः कार्यवाहक नगर प्रमुख राई

प्रसिद्ध शक्तिपीठ बागेश्वरी परिसरमा नेपालगन्ज उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको व्यवसायिक प्रयोजनका संरचना निर्माण कार्य रोकिएको छ । बागेश्वरी मन्दिरको पूर्व तर्फको खाली जग्गामा आइतवार देखि शुरु भएको संरचना निर्माण कार्य तिब्र जनदबाबपछि मंगलवारबाट रोकिएको हो ।
‘मंगलवारबाटै निर्माणका सम्पूर्ण कार्य रोक्ने आदेश गरिएको छ,’ कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले सरोकारवालाहरुसँग आवश्यक समन्वय परामर्श गरेरमात्रै अगाडी बढ्ने जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘जनचाहना विपरित उपमहानगर पालिका चल्ने कुरा उचित हुँदैन ।’
त्यसअघि मंगलवार, विकासका लागि नागरिक समाज सरोकार समितिको अगुवाईमा नागरिक समाजका विभिन्न अगुवाहरुले उपमहानगर पालिका पुगेर निर्माणकार्यबारे गम्भीर चासो राखेका थिए ।
समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठको अगुवाईमा पुगेका उनीहरुले प्रसिद्ध शक्तिपीठ बागेश्वरी क्षेत्रमा धार्मिक सरोकारका अति अनिवार्यबाहेकका संरचना निर्माणमा रोक लगाउन माग गरे । उनीहरुले मन्दिरको सौन्दर्यलाई हानी पुर्याउने गरि भएगरेका संरचना हटाउन माग गर्दै बृहत गुरुयोजना अनुसारमात्रै अगाडी बढ्न दबाब दिए ।
‘यसबारे सर्वदलीय सहभागितामा व्यापक छलफल गरेरमात्रै अगाडी बढ्ने निष्कर्षमा पुगेका छौं,’ दबाबका लागि नेपालगन्ज उपमहानगर पालिका पुगेका विकासका लागि नागरिक सरोकार समितिका संयोजक श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘अर्काे निर्णयसम्म नपुगुन्जेल निर्माणकार्य रोक्न कार्यबाहक मेयर सहमत हुुनुभयो ।’
प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर प्रवेशद्वार पर्ने मन्दिरपूर्वको खाली ठाउँ, सदरलाइन जग्गा एकिकरण आयोजनाको प्रथम चरणमा छुट्याइएको जग्गा हो । बागेश्वरी मन्दिर परिसरमा रहेको उक्त जग्गामा बाल अधिकारको सुनिश्चितताका लागि आवश्यक ‘बाल उद्यान’ निर्माण गर्न अदालतले आदेश गरेपछि उपमहानगरपालिकाको अघिल्लो बोर्डले सपिङ्ग कम्प्लेक्स बनाउने योजना र बजेट कार्यान्वयन गर्न सकेको थिएन ।
२०७२ जेठ २४ गते तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश बम बहादुर श्रेष्ठ र न्यायाधीश केशवराज जोशीको संयुक्त इजलासले निवेदकको माग बमोजिम चिल्डे«न पार्क निर्माण गर्नु, गराउनु भनि उपमहानगरपालिकाका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । त्यसै आदेशलाई आधार मान्दै तत्कालीन नगर प्रमुख डा. धवल समशेर राणाको सपिङ्ग कम्प्लेक्सको योजना शिलान्यास नगर्दै तुहिएको हो ।
त्यहीँ आइतवार नगर प्रमुख प्रशान्त विष्टले पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी १ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको भवन निर्माणको शिलान्यास गरेपछि जनस्तरमा चर्काे विरोध भइरहेको छ । रेष्टुरेन्टका लागि पहिलो चरणमा दुई तले अत्याधुनिक भवनसँगै व्यवसायिक प्रयोजनका सटरहरु बनाउन लागिएकोमा विरोध शुरु भएको हो ।
उपमहानगरपालिकाले करिब ५.५ कठ्ठा जग्गामा सटर निर्माण, पार्किङ्ग र फुटपाथ चिल्डे«न पार्क बनाइने बताएको छ । अघिल्लो बोर्डले सपिङ्ग कम्प्लेक्स बनाउने निर्णय गरेको ठाउँमा डिजाइन परिवर्तन गरी भवन बनाउन लागिएको हो ।
बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जग्गामा सि.नं. ०३५१४५००७ को कि.नं. २ मा १ कठ्ठा २ धुर र कि.नं. ३ मा ३ कठ्ठा १ धुर जग्गा रहेको छ । यसैगरी सि.नं. ०३५१४५००२ को कि.नं. २१ मा ५ कठ्ठा ९ धुर जग्गा छ । ५ कठ्ठा ९ धुर जमिनमा बाल उद्यान निर्माण र बाँकी ४ कठ्ठा ३ धुर जग्गामा पार्किंग र शाकाहारी भोजनालय (रेष्टुरेण्ट)को काम हुने उपमहानगर पालिकाको भनाइ छ ।
नगर प्रमुख विष्टले भने मन्दिर दर्शनका लागि आउने भक्तजनहरुका लागि उपयुक्त हुने ‘सात्विक रेष्टुरेन्ट’ सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न लागिएको बताउँदै आएका छन् । ‘धेरै ठाउँ चिल्डे«न पार्ककै लागि हुनेछ’, नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भनेका छन् ‘अदालतको भावना विपरित निर्माण कार्य हुनेछैन ।’










