लोककल्याणकारी विज्ञापनको मासिक भुक्तानी पहल
बांके जिल्लामा प्रेस काउन्सीलको बर्गिकरणमा परेका पत्रपत्रिकाका सञ्चालकहरुसँग जिल्ला हुलाक कार्यालय बांकेले परामर्श बैठक गरेको जनाएको छ ।
जिल्ला हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेका अनुसार, बाँकेमा १४ वटा दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक पत्रिका काउन्सीलको वर्गीकरणमा छन् ।
स्थानीय सबै पत्रिकाका सम्पादक तथा प्रतिनिधिहरुसंग परामर्श बैठकको आयोजना गरिएको जानकारी दिंदै पाण्डेले लोक कल्याणकारी बिज्ञापनको बर्गिकरण, बिज्ञापन प्रकाशन गर्ने तरिका तथा भुक्तानीको लागि विल भरपाई तथा प्रतिवेदन पेश गर्ने तरिकाका सम्बन्धमा जानकारी गराइएको बताए ।
‘यस आर्थिक वर्षमा नेपाल सरकाबाट प्रदान गरिने जनहितका लोक कल्याणकारी बिज्ञापन प्रकाशन गर्न पाउने गरि बाँकेबाट दैनिक नेपालगन्ज र कालपृष्ठ दैनिक प्रदेश क वर्गमा बर्गिकरणमा परेका छन्,’ पाण्डेले भने ।
जिल्ला हुलाक अधिकृत पाण्डेका अनुसार, सदभाव दैनिक र हाम्रो समाचार दैनिक स्थानीय क वर्गमा, मिसन टुडे दैनिक प्रदेश ख वर्गमा, प्रभात घोषणा दैनिक, लोकप्रीय सन्देश दैनिक, जनमत अर्ध साप्ताहिक, न्यूज यथार्थ साप्ताहिक, गुड न्यूज साप्ताहिक, आजको सामना साप्ताहिक, समाज जागरण साप्ताहिक, महिला संचार साप्ताहिक स्थानीय ख वर्गमा तथा असलशासन पोष्ट साप्ताहिक स्थानीय ग वर्गमा छनोट भएका छन् ।
प्रेस काउन्सीलले देशभरका पत्रपत्रिकाको नियमन र वर्गीकरण गर्दै आएको छ । त्यसका आधारमा सरकारले सञ्चार मन्त्रालय अन्तर्गत सञ्चार केन्द्रमार्फत भुक्तानी गर्दै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी विज्ञापन बोर्डमार्फत जिल्ला हुलाक कार्यालयबाट भुक्तानीको व्यवस्था मिलाइएको हो ।
‘सहि सूचनाको सम्प्रेषण र समयमै भुक्तानीका लागि हामीले सहजीकरण गरिरहेका छौं,’ जिल्ला हुलाक अधिकृत पाण्डेले दैनिक नेपालगन्जसंग भने, ‘यसले सरकारको लक्षित उद्देश्य प्राप्तिमा सहयोग पुगेको छ ।’ उनले मासिक भुक्तानीका लागि आफुले पहल गरिरहेको पनि जानकारी दिए ।