होप स्कूलमा आफ्नै फुटसल

२ करोड ५० लाखबढी लागतमा विद्यालय परिसरमै फुटसल सञ्चालनमा ल्याइएको हो

नेपालगन्जस्थित होप इन्टरनेसनल स्कुलले फुटसल सञ्चालनमा ल्याएको छ । शनिवार नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले दुई करोड ५० लाख रुपैयाँ लगानीमा बनाइएको फुटसल उद्घाटन गरेका हुन् ।

होपका संस्थापक निर्देशक सुरेश गौतमका अनुसार, साढे दुई कठ्ठा जग्गामा बनाइएको फुटसल विद्यार्थीका लागि प्राथमिकतामा रहनेछ । ‘५० लाख रुपैयाँ फुटसलका लागिमात्रै खर्च भएको जानकारी दिंदै संस्थापक निर्देशक गौतमले विद्यालयको सबै पूर्वाधार बनिसकेकाले खेलकूदमा जोड दिइएको जानकारी दिंदै भने, ‘बजार क्षेत्र भएकाले जग्गामा ठुलो लगानी भयो ।’

विद्यालय परिसरमै बनाइएको भएपनि फुटसलमा स्कुल समयबाहेकको समयमा सदस्यता लिएकाहरुलाई खेल्न सक्ने व्यवस्था मिलाइएको संस्थापक निर्देशक गौतमले जानकारी दिए । ‘हाम्रा आफ्नै विद्यार्थीलाई खेलकुदमा आकर्षित गरेर स्वस्थ रहन विभिन्न अभ्यासमा सहभागी गराइनेछ,’ गौतमले दैनिक नेपालगन्जसँग भने, ‘नियमित फुटसल खेल्दा शरीरलाई फिट राख्न सकिन्छ भन्ने कुरा बोध गरेरनै विद्यालयले फुटसलमा लगानी गरेको हो ।’

होपले फुटसलका उद्घाटनका क्रममा फुटसल प्रतियोगिता आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ, बार एसोसिएसन, मानवअधिकारकर्मी, नेपाल आर्मी, नेपाल प्रहरी, होप इन्टरनेसनल स्कुल, राँझा फुटबल टिम, बाँके जिल्ला फुटबल संघको टोलीले प्रतियोगितामा भाग लिएको विद्यालयले जनाएको छ ।

प्रतियोगिताको उपाधि आयोजक होप इन्टरनेसनल स्कुलले जितेको छ । होपले फाइनलमा नेपाल आर्मीलाई पराजित गरेको थियो । विजयी खेलाडीहरुलाई संस्थापक निर्देशक गौतमसँगै प्रिन्सीपल केशवा गौतम लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया