बाँके राप्तीपारि नरैनापुर स्वास्थ्य चौकीका सहायक भण्डारी यादवमाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट गम्भीर घाइते उनलाई थप उपचारका लागि सोमवार भारत, लखनउ लगिएको छ ।
सम्बद्ध परिवारका अनुसार, दुई दिनअघि आइतवार नेपालगन्ज आएका भण्डारीलाई रानी तलाउ सब्जी मण्डीबाट लखेटेका तीन जनाले नेपालगन्ज– ६ रामनगरमा फेला पारेर आक्रमण गरेका हुन् ।
‘टाउकोेमा खुकुरीले निर्मम प्रहार भएकाले अवस्था गम्भीर छ,’ भण्डारीका दाजु सोहनलाल यादवले दैनिक नेपालगन्जसँग भने, ‘घाइतेको अवस्थाबारे परिवार निकै चिन्तित छ, प्रहरीले अपराधीलाई कारबाही गर्नेतर्फ गम्भीर होस् भन्ने चासो छ ।’ उनका अनुसार, गोलु भन्ने गणेश यादव, परशु र मुन्ना यादवले आक्रमण गरेको जाहेरी प्रहरीलाई बुझाइएको छ ।
‘अहिलेसम्म प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ, जाहेरीनै दर्ता गरेको छैन,’ सोहनले राजनीतिक दबाब र प्रभावमा परेर प्रहरीले अपराधी जोगाउने होकि भन्ने चिन्ता परिवारमा रहेको गुनासो गरे । भण्डारीलाई अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको उनले बताए ।
परिवार सम्बद्ध स्रोतका अनुसार, एकवर्ष अघिको व्यक्तिगत समस्यालाई लिएर पछ्याएका आक्रमणकारीले भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन् । ‘एक वर्षअघिनै मिलाप भइरसकेको इस्युमा विवाद झिकेर ज्यानै लिनेगरि आक्रमण भयो,’ भण्डारी निकट परिवार स्रोतको दावी छ । ‘आक्रमणकारीलाई जोगाउन मिलापको दबाब दिन थालिएको’ सोहनको भनाइ छ ।