भेरीमा डा. बद्री चापागाईंका चुनौती


नेतृत्व सम्हालेपछि डा. बद्री चापागाईं भन्छन्, ‘सरकारी अस्पताल प्रतिका आम गलत धारणालाई चिर्नु नै अहिलेको चुनौति, सरकारी अस्पतालले पनि गुणस्तरीय सेवा दिन सक्छ भन्ने अभियान चलाउने हो ।


भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री चापागाईं नियुक्त भएका छन् । हाल कार्यवाहक मेसुको जिम्मेवारीमा रहेका डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख मेसु नियुक्त गरेको हो ।


डा. चापागाईले यसअघि अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । डा. चापागाई पहिलो पटक प्रमुख मेसु नियुक्त भएका हुन् । २०७१ साल भदौं २६ गते अस्पताल विकास समिति अध्यक्षको जिम्मेवारी सम्हालेका डा. चापागाईं २०७२ माघ १२ सम्म पदमा रहे ।


२०६३ फागुन २७ गतेदेखि स्थायी रुपमा स्वास्थ्य सेवा प्रवेश गरेका डा. चापागाईं २०७० कार्तिक ३ गते भेरी अस्पतालमा आएका थिए । ‘सरकारलाई आवश्यक रहँदासम्म मेसुको जिम्मेवारी दिने हो,’ पटक–पटक निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका डा. चापागाईंले दैनिक नेपालगन्जसँग भने, ‘जतिन्जेल जिम्मेवारीमा रहिन्छ, अस्पताललाई सक्दो राम्रो गर्न सबैसँग सहकार्य गरिन्छ ।’


अस्पताल प्रमुख डा. बीरेन्द्र बहादुर चन्दको अनिवार्य सेवा निवृत्तपछि एकसाता यता निमित्त अस्पताल प्रमुखको जिम्मेवारीमा रहेका डा. चापागाईंलाई मन्त्रीस्तरिय निर्णयबाट प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट नियुक्त गरेपछि दैनिक नेपालगन्जको प्रश्न थियो, तपाईंको प्राथमिकता के हो ?


नयाँ बन्दै गरेको २ सय ५० बेड क्षमताको भवनबाट स्तरिय स्वास्थ्य सेवा प्रवाहको योजना बुनिरहेका डा. चापागाईंले भने, विगत लामो समयदेखि यहाँ काम गरिरहेको छु, टुयुनिङ मिलिरहेको छ, सरकारी अस्पताल भन्ने वित्तिकै सेवा राम्रो हुँदैन भन्ने भ्रम छ यी कुराहरुलाई चिरेर अगाडि बढ्ने हो ।’


‘सरकारी अस्पतालले पनि गुणस्तरीय सेवा दिन सक्छ भन्ने अभियानका रुपमा चलाएर त्यो गलत धारणालाई चिर्नु नै अहिलेको चुनौति हो,’ अघिल्ला अस्पताल प्रमुखहरुसँग नजिकै बसेर सघाएका ११ औं तहका चिकित्सक डा. चापागाईंले भने, ‘अस्पतालको नेतृत्वमा रहेपनि हामी सबै एकापसमा समन्वय गरेर मिलेर अस्पताल बनाउने हो ।’


पछिल्ला दिनमा अस्पतालका विभिन्न विकृति विसंगतिका सवालहरु बाहिर आइरहेकाप्रति सचेत देखिएका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. चापागाईंले सबैखाले असंगतिलाई चिरेर भेरी अस्पतालबारे सकारात्मक धारणाको विकास र सेवाको आकर्षणमा ध्यान पुर्याउने संकेत दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया