इश्तियाक राई मन्त्री नियुक्त, लाइसेन्समा चासो

बाँके क्षेत्र २ बाट निर्वाचित सांसद मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाइएका छन् । उनले सोमबार मन्त्रालयमा पदबहाली समेत गरिसकेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनी मन्त्रालय आइपुगेर पदबहाली गरेका हुन् ।

पदबहालीसँगै उहाँले सडकको ‘क्रोनिक’ ठेक्काको समस्या समाधानका लागि र यातायात क्षेत्रको समस्या समाधानका लागि दुई टिम बनाउने बताए । यी टिमलाई १५ दिनको समय दिइने र त्यो अवधिमा समस्यासहित समाधान पहिल्याउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘उहाँहरुको सुझावका आधारमा नै योजना बनाएर कार्यान्वयन गरिनेछ ।’

यातायातको क्षेत्रमा सवारी चालक अनुमतिपत्र र इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा समस्या रहेको मन्त्री राईले औँल्याएका छन् । यातायात क्षेत्रमा चालक अनुमतिपत्र लिन सेवाग्राहीले लामो समय कुर्नुपरेको मन्त्री राईले बताए । त्यस्तै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटको विषयमा पनि विरोधाभाष रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो रिड गर्ने मेकानिजम नभएकाले त्यसमा आवश्यक सुधार गरिनेछ ।’

आयोजनाहरुको कार्यान्वयन हुँदा देश समृद्ध हुने र विकास खर्च बढ्ने मन्त्री राईले बताए । ठूलो बजेट भएको ठूलो मन्त्रालय भएकाले पनि रुग्ण आयोजना रहेको र त्यो तत्काल समाधान आवश्यक रहेको उनले औँल्याए । मन्त्रालयको वित्तीय खर्च बढी हुँदा देश विकासमा फड्को मार्नसक्ने उनको भनाइ छ । सडक पूर्वाधार निर्माणमा विगतदेखि ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति रहेको उनले बताए ।

राईले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।


यसअघि जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको थियो । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । पार्टीले रिक्त मन्त्रालयमा नयाँ मन्त्री सिफारिस गरेको थियो । जसपाले भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया