नेपालगन्जमा रक्ततत्व निर्माण कार्यशाला

इमेरजेन्सी बाहेक सामान्य अवस्थामा रगत चढाउनु नपर्ने डा.राजन पाण्डेको सुझाव


भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. राजन पाण्डेले इमेरजेन्सी बाहेक सामान्य अवस्थामा रगत चढाउनु नपर्ने बताएका छन् ।


नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा रगत तथा रक्ततत्व निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सहजीकरण गर्दै डा. पाण्डेले विरामीको अवस्था हेरी शरीरले आफै रगतको पूर्ति गर्न सक्ने अवस्था भएकोले त्यस तर्फ ध्यान दिन चिकित्सकहरुलाई ध्यानाकर्षण गराए ।


हालसम्म रगतको वैकल्पिक व्यवस्था नरहेको तर एक युनिट रगतबाट आवश्यकतानुसार विभिन्न प्रकारको रक्ततत्व निर्माण गर्न सकिने चिकित्सकले बताउदै आएका छन् । उक्त सेवा नेरेसो प्रादेशिक रक्तसंचार सेवा नेपालगन्जमा उपलब्ध रहेको रेडक्रसले जनाएको छ । डा. पाण्डे र नेरेसो प्रादेशिक रक्तसंचार सेवाका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले सहजीकरण गरेका हुन् ।


नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले चिकित्सा पद्धतीमा रक्तसंचार सेवा एउटा महत्वपूर्ण कार्य भएको तर्क गर्दै नेपालको जनसंख्या मध्ये २ प्रतिशतले मात्र रक्तदान गरेमा रगतको आपूर्ति व्यवस्था सहज हुने बताए । सभापति सम्झनाले सोमवार गोष्ठी समापनमा उक्त सेवा सफल गर्न स्वयंसेवी रक्तदाता, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई अनुरोध गरे ।


बाँके जिल्लामा २०३३ सालमा रक्तसंचार सेवा स्थापना भएको हो । बाँकेको रक्तसंचार सेवाबाट लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका विरामी तथा घाइतेलाई सेवा दिँदै आएको जानकारी दिंदै रक्तसंचार सेवा नेपालगन्ज प्रमुख उपेन्द्र रेग्मीले स्थापना कालदेखि हालसम्म २ लाख ३९ हजार ७ सय ४६ पिन्ट रगत वितरण गरिएको बताए ।


कार्यक्रममा नेरेसो बाँके शाखाका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपनिर्देशक दोलखबहादुर डाँगी, भेरी अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाई, सुशिल कोइराला क्यान्सर अस्पतालका प्रमुख कृष्ण आचार्य लगायतले बोलेका थिए ।


समापन कार्यक्रमको सहजीकरण नेरेसो बाँकेका लेखा अधिकृत झवीलाल शर्माले गरेको रेडक्रसकर्मी प्रहलाद विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया