सहर रंगाउने रहर

भारतसँगको नाकामा पश्चिम नेपालको प्रवेशद्वार, रुपैडिहादेखि नेपालगन्जको दायाँबायाँ दुबैतर्फ राँझा हुँदै कोहलपुरसम्म विभिन्न कलात्मक तस्विरले घरपर्खालका भित्ता रंगाउदा कस्तो देखिएला ? पक्कै आकर्षक र मौलिक सहरको परिचयको आधार बनेर चम्किन्छ । कलात्मक चित्रसँगै पर्यटकीय गन्तव्यका तस्विर, सूचनामूलक जानकारी पनि प्रस्तुत गरिने योजना
छ ।

‘रुपैडिहाबाट जमुनाह नाका प्रवेश गर्नासाथ पश्चिम नेपालका पर्यटकीय गन्तव्यका सूचनामूलक तस्वीर हुनेछन्,’ सहर रंगाउने रहर बनाएर अभियानमा लागेका पर्यटनकर्मी श्रीराम सिग्देलले आइतवार बीपीचोक नजिकै सुर्खेतरोड किनारमा रंगाइएका भित्ता देखाउँदै भने, ‘यी कलाले हरेकका मनमस्तिष्कलाई मनोरम बनाइदिन्छ ।’ ग्रीन एण्ड क्लीन नेपालगन्जले सिंगारेको एनएमए पार्क छेउका भित्तामा कलात्मक रंगाइएको दृष्यले त्यो क्षेत्र सुन्दरमात्रै होइन, चित्ताकर्षक र मनमोहक देखिन्छ ।

पर्यटनकर्मी सिग्देल नाट्टा नेपालगन्जका अध्यक्ष हुन् । कोल्टे भान्छाघरका सञ्चालक उनी लामो समय पत्रकारितामा रहे । पत्रकारिता गरिरहँदानै ट्राभल एजेन्सीमार्फत पर्यटनमा व्यवसायिक करियर थालेका सिग्देल कोरोनाले थलिएको नेपालको पर्यटनलाई कसरी उठाउन सकिन्छ भनिरहँदा, सहर रंगाउने रहर सुनाए । त्यसो त, नेपालगन्जमा पहिलो पटक ट्राभल मार्ट आयोजना गरेर पर्यटक नेपालगन्ज हुँदै मुलुक भित्र्याउने सुत्राधारको नेतृत्व लिएर सिग्देलसँग यर्पटन प्रवद्र्धनका तमाम योजना छन् । ‘तर, पर्यटन राज्यका निकायको प्राथमिकता बन्न सकेन,’ सिग्देल भन्छन्, ‘हाम्रा लागि पर्यटननै आर्थिक विकासको आधार हुनसक्छ ।’

आइतवार नाट्टा नेपालगन्जका अध्यक्ष सिग्देल आइतवार नेपालगन्ज उपमहानगरपालिका पुगे । नगर प्रमुख प्रशान्त विष्टसँग पर्यटनका योजना र बजेटबारे जानकारी मागे, परामर्श गरे । झण्डै आधा घण्टा पर्यटनका कुरा भए । उपमहागरपालिकामा बजेटको सीमितताका बाध्यता सुनाइरहँदा पर्यटन विकासका कुनै नयाँ योजना नगर प्रमुख विष्टसँग देखिएनन् ।

‘मलाई नेपालगन्जका भित्ता उपलब्ध गराई दिनुस् मेयरसा’ब,’ नाट्टा अध्यक्ष सिग्देलले नगरप्रमुख विष्टसँग भने, ‘सक्नुहुन्छ बजेट दिनुस्, सकिन्न कम्तिमा सुर्खेतरोडका भित्ता उपलब्ध गराइदिनुस् ।’ सिग्देल भन्छन्, ‘अनाहकका फोहर भित्ता राख्नु वा जथाभावी विज्ञापन पोतेर कुरुप बनाउनु भन्दा सहरलाई एउटा उद्देश्यसहित कलात्मक रंग दिउँ ।’

यसअघि नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा नाट्टाले गरेको संयोजनमा नेपालगन्ज उपमहानगरपालिकाले सहरका विभिन्न १० ठाउँमा कलात्मक चित्र रंगाउन ९ लाखबढी खर्च गरेको छ । नेपालगन्जका कलाकार लक्ष्मण श्रेष्ठले एनएमए पार्क लगायतका कतिपय ठाउँमा चित्र कोरिसकेका छन्, भने अरु कतिपय ठाउँमा कोरिंदैछन् । नाट्टा अध्यक्ष सिग्देलले नेपालगन्जलाई सुन्दर, मौलिक र पर्यटकीय गन्तव्यको सहरका रुपमा स्थापित गर्न सबैेतिरबाट पहल र प्रयास आवश्यक रहेको बताए ।

नगरप्रमुख विष्टसँगको भलाकुसारीपछि नाट्टा अध्यक्ष सिग्देलले उप–प्रमुख कमरुद्दिन राईलाई पर्यटन विकासका सम्भावनाका लागि एउटा योजना सुनाए, ‘इस्लामिक म्यूजियम’ । मुलुककै बढी धार्मिक अल्पसंख्यक, मुस्लिम समुदायको उपस्थिति रहेको सहरमा ‘इस्लामिक म्यूजियम’ आफैमा अर्काे मौलिक परियोजना हुनसक्छ । ‘मुस्लिम–गैरमुस्लिम सबैका लागि इस्लामिक जानकारीको स्रोत ‘इस्लामिक म्यूजियम’ बन्नसक्छ,’ सिग्देलको चाहना हो, नेपाल–भारतका पर्यटकहरु अध्ययन अवलोकनका लागि नेपालगन्ज आउन, ‘इस्लामिक म्यूजियम’को अवलोकन गरुन् ।’

सिग्देलले त्यसका लागि नेपालगन्जका युवा इन्जिनियर अरशद कमाल सिद्दीकीलाई प्रस्ताव तयार गर्न अह्राएको सुनाएपछि उप–प्रमुख राईले भने, ‘यो गर्न सकिने काम हो, सस्तो अनि लोकप्रीय ।’ तर सिग्देल भन्छन्, धार्मिक सद्भावको सहर नेपालगन्जलाई विश्वस्तरमै चिनाउन ‘इस्लामिक म्यूजियम’ले सहयोग गर्छ ।

‘नेपालगन्जका मुस्लिम समुदायबाटै मुष्ठिदानबाट इस्लामिक म्यूजियम बन्छ, दातानै खोज्नुपरे दशौं करोड जुट्नसक्छ,’ सिग्देलले अवधारणाबारे दैनिक नेपालगन्जसँग भने, ‘इस्लामिक म्यूजियम धार्मिक भन्दा साँस्कृतिक महत्वको हुनेछ, जहाँ मुस्लिम के हुन् भन्ने कुरा उठानदेखि हालको अवस्था चित्रित हुनेछ ।’

इलामिक संस्कार, संस्कृति, भेषभुषा, खानपान, रहनसहन सबैकुरालाई सजीव प्रस्तुत गर्न सकिने तर्क राख्दै सिग्देलले ‘इस्लामिक म्यूजियम’को कुरा सुनाइरहँदा उपप्रम्ख राईले लोपोन्मुख टांगादेखि अवधी, थारु संग्रहालयका बारे उपमहानगरापालिकाले योजना बनाइरहेको बताए ।

‘जमुनाहदेखि राँझा विमानस्थलसम्म सुर्खेतरोडका दुबैतर्फ हरियाली हुनेछ, नाला नदेखिने गरि सफा चिटिक्क पारिने योजना र बजेट बनाएका छौं,’ हालै नगरसभा सकेका उपप्रमुख राईले दैनिक नेपालगन्जसँग भने, ‘कम्तिमा दुई ठाउँमा यसैवर्ष ट्राफिक लाइट र पानीका फोहरा जडान गरिनेछ ।’

त्यसका लागि ६० लाख बजेट पनि छुट्याइसकेको जानकारी राईले दिए । ‘रंगाएर होस् वा हरियाली बनाएर, हाम्रो सहर पर्यटक आउँदा रमाउने सफा, आकर्षक हुनुपर्यो,’ नाट्टा अध्यक्ष सिग्देलले उपमहानगरपालिकाबाट बाहिरिंदै भने, ‘नेपालगन्ज कसरी राम्रो बनाउन सकिन्छ भन्ने जुनून हरेक नगरबासीसँग हुनुपर्छ, जनप्रतिनिधिको मुख ताकेर चाहिं हुँदैन ।’

प्रतिक्रिया

प्रतिक्रिया