डुडुवामा जनप्रतिनिधि बीचको विवाद: न नीति न बजेट

बजेटको कार्यतालिका अनुसार असार १० गतेसम्म स्थानीय तहले नीति तथा बजेट कार्यक्रम ल्याउनु पर्दछ । र, त्यसलाई असार मसान्तसम्म पास गरिसक्नु पर्दछ । तर, बाँकेको डुडुवा गाउँपालिकाले असार १८ गतेसम्म बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेको छैन नै, त्यसतर्फ ठोस पहल समेत गर्न सकेको छैन ।

समयमा बजेट र नीति नआएपछि त्यसको दोषारोपण एक, अर्कालाई लगाउन थालिएको छ । पालिका अध्यक्षले मनपरी, मापदण्ड विपरित काम गरेको आरोप नेकपा एमाले र जसपाले लगाएको छ । पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भने कानुन बमोजिम गर्दा पनि अल्पमतका कारण बजेट र नीति ल्याउन नसकेको बताउँदै आएका छन् ।

जनप्रतिनिधि बीचको विवाद बढ्दै जाँदा शनिबार दुवै पक्षले आफ्ना धारणा सार्वजनिक गरेको छ । नेकपा एमालेले र जसपाले संयुक्त पत्रकार सम्मेलन गरेको छ भने पालिका अध्यक्षले प्रेस नोट पठाएका छन्, सञ्चारमाध्यममा ।

‘मापदण्ड मिचेर काम गर्न दिन्नौं’

डुडुवा गाउँपालिकामा नेकपा एमाले र जनपाका जनप्रतिनिधिहरुले शनिबार संयुक्त पत्रकार सम्मेलन गरेर पालिका अध्यक्षलाई मनपरी गर्न नदिने स्पष्ट पारेका छन् । उनीहरुले विधि, विधान र ऐन, नियम मिचेर काम गर्न नपाएकाले सहमति हुन नसकेको जसका कारण बजेट र र नीति तथा कार्यक्रम आउन नसकेको स्पष्ट पारेका छन् । जसपा र नेकपा एमाले जोड्दा संयुक्त रुपमा कार्यपालिकामा बहुमत रहेको छ ।

पत्रकार सम्मेलनमा जसपा र नेकपा एमालेका वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरुले बैठकको पूर्व जानकारी नदिने गरेको, पालिका अध्यक्षका एजेन्डामा सहमत भएमात्रै कार्यपालिका बैठक अगाडि बढ्न लगायतका कार्य अगाडि बढाएको बताएका थिए । उनीहरुले ‘गाउँपालिका अध्यक्षले एकल निर्णय जबर्जस्ती लाद्न खोजेका छन्’ भने ।

नेकपा एमाले डुडुवा गाउँपालिका कमिटि तथा जनता समाजवादी पार्टी डुडुवा गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक राख्दा ७२ घण्टा अगावै एजेण्डा सहितको पत्र कार्यपालिका सदस्यालाई जानकारी दिइनु पर्ने, बैठक पछि निर्णय प्रतिलिपि उपलब्ध गराउनु पर्ने, लक्षित वर्गको कार्यक्रम वडामार्फत सञ्चालन हुनुपर्ने, अनावश्यक करार कर्मचारीको विषयमा छलफल गरी करार सम्झौता नविकरण नगर्ने प्रस्ताव पालिकामा लैजानुपर्ने लगायतका माग गरेका छन् ।

जसपा डुडुवा गाउँपालिका अध्यक्ष दुर्गा प्रसाद बर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डुडुवा गाउँपालिका नेकपा एमाले अध्यक्ष शकिल अहमद खाँले सञ्चालन गरेका थिए ।

‘बहुमतका आडमा अवरोध’

असार १० गते नीति तथा कार्यक्रम र बजेट आउन नसक्नुमा नेकपा एमलो र जनता समाजवादी जिम्मेवार रहेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । ‘बाँकेको डुडुवा गाँउपालिकामा नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा) ले कार्यपालिकामा आफनो बहुमतको आडमा बैठक अवरोध गर्दै आएपछि बैठक सञ्चालन गर्नमा समस्या भएको छ’, अध्यक्ष चौधरीले भने ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक सञ्चालन कार्यविधी २०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्वीकृत गराई प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्र्ने कानूनी व्यवस्था रहको र उक्त कानूनी व्यवस्थालाई अध्ययन नै नगरि कार्यसूचि विपरित एकैपटक विभिन्न विषयहरुमा छलफल गर्दा बैठक सञ्चालन गर्नमा कठिनाई उत्पन्न भएको अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यपालिकाको बैठकका लागि फोन र एसएमएसमार्फत सबै सदस्यहरुलाई खबर गरि बैठकको एजेण्डा समेत प्रस्तुत गरि सभा सञ्चालन तथा विषयगत समितिको गठन बजेटको तयारी लगायतका विषयमा निर्णय गर्दा त्यसप्रति कुनै चासो नदिई अनावश्यक विवाद सृजना गरेकाले समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष चौधरीले दाबी गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया