बाँके : तस्करीका लागि कन्टेनर भित्र कन्टेनर

नेपालबाट कन्टेनरमा लुकाएर अवैध रुपमा भारत लगिंदै गरेको २ सय ५० बोरा वस्तु प्रहरीले नेपाल–भारत सीमाको जमुनाह नाकाबाट फेला परेको छ । कन्टेनर भित्र कन्टेनर बनाएर लग्दै गरेको अवस्थामा २ सय ५० बोरा ह्वाइट सिड जस्तो देखिने वस्तु फेला परेको हो ।

प्रहरीले चेकजाँचका लागि रोकेपछि चालक फरार भएका छन् । कन्टेनर र सरसिउ वा ह्वाइट सिट प्रहरीले अवैध ओसारपोसार भन्दै भन्सार दाखिला गरेको छ । ‘बरामद मालसामान र कन्टेनर नेपालगन्ज भन्सारमा बुझाएका छौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने, ‘बरामद सामान के हो भन्नेबारे अब भन्सारबाट नै अनुसन्धान पछि खुल्नेछ ।’

बरामद गरिएको वस्तु अफिमको दाना भएको आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि भने भएको छ । तर, लुकाएर तस्करी गरेर नेपालबाट भारत लग्न थालिएको भने पुष्टि भएको छ ।

नाकामा नेपालबाट भारत जाने खाली कन्टेनर सामान्य रुपमा मात्रै चेकजाँच गरिने भएकाले त्यसको फाइदा उठाउँदै लामो समयदेखि तस्करी भैरहेको हुनसक्ने अनुमान गरिएको छ । कन्टेनटर भित्र कन्टेनर बनाएर अवैध रुपमा प्रतिबन्धित सामानको ओसारपोसार विगतमा भैरहेको आशंका गरिएको छ । ‘चेकजाँचका क्रममा चालक र सहचालक पक्राउ नपरेकाले कहाँ लग्न थालिएको हो भन्ने खुलेको छैन’, बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले भने ।

प्रहरीले लागुऔषध वा सुन तस्करीको सूचना पाएपछि कन्टेनर चेकजाँचका लागि रोकेर जाँच गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया