यात्रा आफैंमा बिशेष हुन्छन्, यात्राका दौरान हुने अनिभूति बिशेष हुन्छन् जो स्वयं यात्रुले मनैदेखि अनुभव गर्न सक्छ ती अनुभूति बेला बेलामा मनभित्र तैरिरहन्छन् । मनभरी लडिबुडी खेलिरहन्छन् ती यात्रानुभूतिहरुलाई लिपिबद्ध गरिए अरुलाई पनि केही न केही त्यसको अनुभव बाँढ्न सकिन्छ । आज मैले विभिन्न समयमा आफुले साइकल यात्रा गर्दा सङ्गालेका अनुभूति पस्किने जमर्को गरेको छु ।
श्रावस्तिको दुइदिने यात्रा ः श्रावस्तिका बारेमा मैले स्कुल पढ्दैबेलादेखि सुनेको थिए हामीलाई भूगोल पढाउने गुरु कृपाराम बर्मा सरले सुनाउनु भएको थियोे सम्भवत दक्षिण एसिया कै ठुलो घण्ट श्रावस्तिमा छ हो । त्यसैबेला देखि नै श्रावस्ती पुग्ने अभिलाषा अन्तर्मनदेखि जागेको थियो, हामी स्कुल पढ्ने बेला हाम्रोमा इन्टरनेट थिएन, गुगल त सायद आएकै थिएन उ बेला गुगल भएको भए फ्याट्ट मोबाइलमा सर्च गरेर श्रावस्ती हेरिवरी श्रावस्तीको हुटहुटी मेटिसकिन्थ्यो सायद जसरी अहिले आफैं नपुगेपनि खप्तड, बडिमालीका, लोमान्थाङ्ग र सगरमाथा आधार शिविर नियाल्ने प्यास मेटाइएको छ ।
२०१७ मा तिहारको मैका छोपेर लक्ष्मीपुजाको २ दिन अधि नेपालगन्जबाट म सहित गगन थापा र लवराज श्रेष्ठजी सहितको हाम्रो ३ सदस्यीय साइकल प्रेमीको टोली हिडियो । श्रावस्ती यात्रामा त्यो हाम्रो उत्सुकता सहितको पहिलो सेन्चुरी राइड थियो । रुपैडिहा, बाबागन्ज, नानपारा हुँदै बहराइच पुग्दा हामीले ५० किलोमिटरको साइकल यात्रा पार गरिसकेका थियौं । हामीले बहराइचमा खाजा खाएर केहिबेर सुस्ताउँदै अगाडि बढेउ माउन्टेन बाइकमा पेडलिङ गर्दै पहिलो सेन्चुरी राइडको टार्गेट त्यो पनि हाम्रा गौतम बुद्धले आफ्नो जिवनको महत्वपूर्ण २४ चतुर्मास बिताएको ठाउँ अनि स्कुल पढ्दा बर्मा सरले सुनाएको बिग बेलको कथा कम्ता उत्सुकता थिएन ।
हामीलाई कतिबेला पुगिएला भन्दै त्यो मजेदार सडकमा हाम्रो पाइडलको घुमाइ सँगै साइकलका टायरले गति तेज लिइरहेको थियो । अगाडि बढ्दै जाँदा म एक्लै भए गगन जी र लवराज जी छुट्नु भो म सँग सिम थिएन म उहाँहरुलाइ खोज्ने उहाँहरु मलाई खोज्ने केहीबेर त आफत नै आइलाग्यो । धेरै बेर कुर्दा पनि उहाँहरु नभेटेपछि अगाडि गएको हुनसक्ने अनुमान लाएर । म अघि बढे श्रावस्ती पुगेर केहीबेर कुरे केहीलाई सोधखोज गरे अझै भेट भएन बाटोमा हिड्दै गर्दा एउटा ट्रक पल्टिएको थियो । रोकै रोकै भएर पनि म अगाडि बढेको थिए पछि निकै पछुतो पनि लाग्यो । अनि तनाव पनि भयो मनमनै अनेक कुराहरु आए कतै साथीहरू त्यही सडक दुर्घटनामा परेकी वा नयाँ ठाउँ कतै केही भयो कि साथीहरूलाई पनि त्यस्तै छट्पटी भएको रहेछ उहाँहरु पानी खान सडकदेखि केही छेउमा पुग्दा म अगाडि कट्न पुगेको रहेछु केहीबेरको तनावग्रस्त छट्पटी पछि गगन जी र लवाराजजी आइपुग्नु भो त्यतिबेला दिउँसोको ३ बजिसकेको थियो ।
हामी पुगेको बार सायद सोमबार थियो कि जस्तो लाग्छ त्यो बार त्यहाँको मुख्य बौद्ध बिहार बन्द हुँदो रहेछ । बाहिरबाटै बौद्ध बिहार घुमेर हामी ठुलो घन्ट हेर्न गयौं । त्यसपछि अङ्गुलीमार गुफा, प्राचीन मठमन्दिरहरु भगवान गौतम बुद्धसँग जोडिएका थुप्रै प्राचीन स्थलहरु भ्रमण गरेर हामी त्यहाँ रहेको सरकारी अतिथि गृह जुन भब्य होटेल जत्तिकै सुबिधा सम्पन्न थियो । त्यहीँ बास बसियो, त्यहाँ पाल्पाका थापा दाइ कुक हुनुहुँदो रहेछ मिठो खाना र रमाइलो बसाई सहित एकरात बिताएर हामी भिनगा भएर नरैनापुर हुँदै नेपाल फर्कियौं । नरैनापुरमा मित्रहरू मकबुल जी र विनय दिक्षित हामीलाई कुरिरहनुभएको थियो । उहाँहरुको आतिथ्यतामा खाना खाएर केही समय आराम गरेर हामी नेपालगन्ज तर्फ गुडेउ राप्ती पुल पुग्दा सम्म निस्पट्ट अँध्यारोले छोपिसकेको थियोे । सामान्य दुर्घटनामा पर्दा मेरो हात फ्याक्चर भयो राप्ती पुल कटेर मैले मित्र महमुद बागवान ९बिबि साइकल सेन्टर० लाई फोन गरेर गाडी मगाए । हामी दिनभरको साइकल यात्राले लखतरान परिसकेका थिए भने रातीको ८ बजिसकेको थियो । त्यो दिन लक्ष्मीपुजा पनि थियो छिटो घर पुगेर घर परिवार सहित लक्ष्मीपुजामा सहभागी हुन पर्ने थियोे बागवानजीले राप्ती पुलबाट रेस्क्यु गरेर सबैलाई घर घरमा छोडिदिनु भयो । क्रमशः