आजको समाज स्वार्थी समाज जसले ‘ल’ मात्र सिकेको तर ‘द’ त बिर्सिसकेकोछ । तपाई अब सोच्दै हुनुहोला यो ल अनि द को के चक्कर छ । धैर्य गर्नुस् लेख पढ्दै जादाँ प्रष्ट हुदैँ जानेछ सब । आज जति पनि जाति, धर्म, समुदाय, दल र परिवार छन् वा धर्मगुरु, कर्मचारी, राजनीतिकर्मी, पत्रकार, लेखक यहाँ सम्म कि परिवारका सदस्य सबलाई लिन खोज्ने सोच मात्र हुन्छ । यिनले आफुले लिन खोजेका कुरा दिन पनि सक्ने भए त देश, समाज र परिवारको फरक दृष्य देखिन्थ्यो ।
‘ल’ भनेको लिन मात्र खोज्नु ‘द’ भनेको दिन न चाहनु हो भनी बुझ्नुहोला । अब लिन खोज्ने कुरा के के रहेकाछन् भन्दाखेरि अलि लामै फेहरिस्त तयार हुन्छ । सम्मान पनि आफुले लिन खोज्छन् । आकर्षण पनि आफुले नै चाहन्छन् । प्रशंसा पनि आफुले नै चाहन्छन् । हेरचाह पनि आफुले नै चाहन्छन् । निर्णय लिने अधिकार पनि आफुले नै चाहन्छन् । सरसामान, लत्ताकपडा, रकम र गरगहना सब आफ्नो लागि मात्र खोज्छन् ।

आफुले लिन खोजेको सम्मान, ध्यान, हेरचाह, अधिकार, आकर्षण, प्रशंसा, माया, स्नेह, सरसामान, आदि जुन छन् । दिने मान्छेलाई गर्न र दिन कतिको गाह्रो, अप्ठेरो, असहजता र समस्या भोग्न परिरहेकोछ । कहिले कसैले बुझ्न खोज्दछ शायद कसैले बुझ्न खोज्दैनन् । किनभने मानिस यति सम्म स्वार्थी भइसकेकाछन् कि उनलाई अरुको मतलब नै छैन ।
ठीक छ सम्मान, प्रशंसा, ध्यान, आकर्षण, अधिकार, हेरचाह पाउनुपर्छ । तर त्यही मान सम्मान, त्यही माया स्नेह, त्यही प्रशंसा, त्यही ध्यान, त्यही आकर्षण त्यही अधिकार हामी अरुलाई दिन तयार छौं रु दिन सक्छौं रु दिएका छौं रु दिने विचार गरेका छौं ?

किन दिन तयार छैनौं किनभने हामीमा अहंकार भरिएको छ मै सबथोक हुँ म नै सर्वेसर्वा हुँ भनी । किन दिन सकेका छैनौं किनकि हामी यस्तो समाज निर्माण गर्यौं जहाँ दुई तप्का बनायौं एउटा सम्मान दिने अर्को सम्मान पाउने भनेर । अनि त्यो तप्का यसरी मजबूती साथ कायम भयो कि दिनेले लिनु पर्दैन वा पाउनु पर्दैन र लिनेले दिनु पर्दैन् ऊ त लिनकै लागि बनेको हो भनी मानसिकताको विकास भयो । जुन मानसिकताले गहिरो छाप छाडीदियो सबैको मनमस्तिष्क र व्यवहारमा । जसको परिणाम थाहा छ के भइ दियो यही लिने र दिने दुई तप्का र समुह बीच ईष्या, वैमनस्यता, सत्रुता र घृणा र दूरीको खाडल खनिदिएकोछ । जसलाई पुर्न समय त लाग्ला तर प्रयास दुबै तप्का र समुहबाट गरिन आवश्यक छ ।

तपाई हामीलाई दुःख समस्या परेको बेला कसले साथ दिन्छ अवश्य पनि पत्नी आमा छोरी दिदीबैनी, बुहारी ,पति,बुवा, छोरा, ज्वाइ र दाईभाई नै । तपाई हामी अधिकांशले यिनको बारेमा सोच्दैनौं हामीलाई चिन्ता हुन्छ त फेसबुकको साथी, छिमेकीको र टाढा रहेका मित्रहरुको । जबकि तपाईका पीडा, समस्या र अवस्थताको बेला उनीहरुलाई कुनै मतलब कुनै सरोकार हँुदैन । फरक पर्ने भनेकै तपाईका परिवारका सदस्यहरुलाई हो । त्यस कारण चिन्ता यिनको गर्नुपर्छ जसलाई तपाईको पीडा र समस्याले चिन्तित तुल्याउँछ । जो तपाई अलि कति बिरामी हुदाँ प्रार्थना गरी थाक्दैनन् । तिनका पछाडि समय फालेर कुनै अर्थ छैन जसलाई तपाई नरहे अरु भेट्न सक्छन् अरु नभए अरु कोही भेटिहाल्नेछन् । यस कारण भ्रममा पर्नु हुँदैन कि सबै खास छन् भनी आफ्नो भनिने पनि हराउँछ जस सहयोग र साथको खाँचो पर्नेछ । कहिले एक्लै बसेर आफुसंग प्रश्न गर्नुहोला कि तपाईको मृत्युले कसलाई असर पार्छ जवाफमा जसलाई असर पर्छ हो तिनको बारेमा सोच्नुपर्छ । सम्बन्धलाई बलियो बनाउनुछ भने एक अर्कामाथि विश्वास सबभन्दा बढी आवश्यक छ । किनकि शंका गर्नका लागि त संसार छँदैछ । पारिवारिक सम्बन्धमा खास गरी पति पत्नी बीच विश्वास र सन्तोष छ भने एक छाक खाएर पनि गुजारा गर्न सकिन्छ । तर पति पत्नी बीचको सम्बन्धमा विश्वास र सन्तोष छैनन् भने महल र महंगा खानेकुरा, चिल्ला गाडी र ब्रान्डेड कपडा भए पनि कलह र टेन्सन नै हुनेगर्छ । एक अर्काको खुशीका कारण बन्नुपर्छ दुख त आफै खोज्दै आइहाल्छ । त्यही दुखमा पनि पुर्ण विश्वासका साथ एक अर्काको काँधमा काँध जोडेर उभिदा दुख समस्या सब फुर्रर भइहाल्ने गर्छ ।

यसै सन्दर्भमा एउटा वैवाहिक समारोहमा भेट्दा ३० वर्षीय नजमा खातुन ९नाम परिवर्तित०ले भनेका कुरा जोड्दै । उनी त्यस्तो हर्षोल्लास भएको समारोहमा निकै अँध्यारो मुख लगाएर बिरामी जस्तै देखिरहेकी थिईन् । के छ हाल खबर भनी सोध्दा उनी भावुक हुँदै भनेकी थिइन, मेरो विवाह भएको १३ वर्ष हुन लागेछ बच्चाहरु पनि छन् । तर पनि म आफ्नो पतिको घरमा अन्जान र बाहिरको सदस्य झै महसुस गर्दैछु । बच्चाहरु स्कुल जाने गर्छन् । केही वर्ष यता मेरो परिवारमा मप्रतिको व्यवहार बदलिएकोले म मानसिक रुपले निकै समस्यामा छु । बिहे गर्ने बेला छोराले के काम गर्छ कसरी मेरो छोरीलाई पाल्नेछ सोध्दा । उनले भने मैले खर्च चलाउदैछु तपाईले चिन्ता लिनुपर्दैन् भनी आमाबुवासंग भनेका । अहिले पतिले कमाउँदैन भनी घरखर्च कट्टा गरेकाछन् । ससुराले सासु र बिहे नभएका छोराछोरी र आफ्नो मात्र खर्च व्योहोर्दै छन् । बच्चाहरुको साना साना इच्छा पनि पुरा गर्न सक्दिन् म । पति पनि दिनभरी बाहिर साथीहरुसंग घुमफिर गर्ने सांझ घर फर्किदा खाना खाएर मोबाईल चलाएर बस्ने गरिरहेकाछन् । म संगै भइरहदाँ पनि मलाई वास्तै नगरी अबेर मोबाईल मै व्यस्त भइरहने गर्छन् । मलाई कुनै स्वास्थ्य समस्या वा मानसिक तनाव भए नभएको उनी मतलबै गर्दैनन् । मलाई साह्रै तनाव छ किन बिहे गरेकी हुँला भइरहेछ ।

नजमा जस्तै तपाईको घरपरिवारका सदस्यलाई यसरी मानसिक तनाव खेप्न नपरोस् । यस कारण जसले परिवारमा तपाईलाई पति, ससुरा देवर छोरा भाई बुवा आदि भनी सम्मान गर्छिन् तपाईले पनि उनीहरुको सम्मान गर्नुहोस् । जसले तपाईको ख्याल राख्छन् तपाई पनि उनीहरुको ख्याल राख्नुस् । जसले तपाईलाई माया र स्नेह गर्छिन् तपाईले पनि उनीहरु स्नेह र माया दिनुस् । जसले तपाई बिमारी पर्दा तपाईको हेरचाह गर्छिन् तपाई पनि उनीहरु बिरामी पर्दा हेरचाह गर्नुस् । जसले तपाईका आदेश सहर्ष स्वीकार गर्छिन् तपाईले कुनै निर्णय गर्नु परेमा उनको सल्लाह लिनुस् । आफुलाई खाना पस्किदाँ पत्नीले पनि संगै बसालेर खुवाउनुस् वा खान भन्नुस् । आफुले खानु अघि अरुले खाएकी खाएनन् सोध्नुस् । नखाएकाहरुलाई आफुसंगै बसालेर खाना खुवाउनुस् । आफ्नो लागि सरसामान किन्नु पूर्व पत्नी बच्चा आमाबुवा र अन्य सदस्यका लागि किनेर लग्नुस् । घर बाहिर बसेर साथीभाई बीच गफ हाक्नु भन्दा आफ्नै घरमा बसेर आफ्नो परिवारजन आमाबुवा, दिदीबैनी, दाईभाई, पत्नी, बच्चाहरुको साथमा बढी भन्दा बढी समय बिताउनुस् । यसरी उनीहरुको तपाई प्रतिको विश्वास बढ्नेछ । अपन्त्व बढ्छ । निकटता बढ्छ । अनि तपाईले हेर्नु हुनेछ परिवारको माहोल फरक भइहाल्नेछ । तपाईप्रति पत्नी, आमा, छोरी, दिदीबैनी सबैको सोच धारणा यहाँ सम्मकि व्यवहार समेत फेरिएको पाउनु हुनेछ ।

तसर्थ ढिलो होस् त्यो भन्दा पहिला नै आफ्नो व्यक्तित्व लाई निखार्नुस् । आफ्ना कमी कमजोरी खोजेर सुधार गर्नुस् । किनकि समय र आफन्त हातबाट फुत्किहालेपछि बाकी केही रहदैन दुःख खेद र पछुतोको अवाला ।

प्रतिक्रिया

प्रतिक्रिया