जनता झुक्याउने थलो बन्दै संसद

नेपालको संसदीय इतिहासमा नेपाली जनताको सार्वभौम आवाज उठेको र त्यसको वास्तविक सम्बोधन भएको सुन्न नेपाली जनताले ठूलो आन्दोलन गर्नु परेको छ । दशकौंसम्म लडेर भिडेर हासिल गरेको व्यवस्थाभित्र बनेको सार्वभौम जनताको भनिएको संसद यो या त्यो रुपमा जनतालाई गुमराहमा राख्ने र केहि ब्यापारिक घरनाको देखि विदेशीहरुको स्वार्थ पुरा गर्ने थलोको रुपमा विकसित भैसकेको छ । कहिल्यै पनि नेपाल सापेक्षताका कुरा यो सार्वभौम नेपालीको संसदले गर्न सकेन । कहिले देशका प्राकृतिक श्रोतहरुको बेचबिखनको थलो बन्यो त कहिले देशको सार्वभौमसत्ता नै म्यानमा राख्ने सम्झौता अनुमोदनको थलो बन्यो । कहिले केहि ब्यापारिक घरनाहरुको स्वार्थ मिलाउने थलो बन्यो भने कहिले नेपाली जनताको मूलकुल धर्म सँस्कृति भाषा र यहाँको सभ्यतालाई गाली गर्ने थलो बन्यो ।

‘संसद भनेको बोकाको टाउको झुण्याएर कुकुरको मासु बेच्ने थलो हो ’ भन्ने कम्यूनिष्टहरुको निकै पुरानो कथनी रहेको थियो । नेपालको संसदलाई ठिक त्यहि हिसाबमा प्रयोग गर्नेमा नेपालका कम्यूनिष्टहरु नै सबैभन्दा अग्रसर रहे ।२०४६ साल देखि नेपालको संसदीय इतिहासमा नेपालका नदिनाला देखि नेपाली अस्मिता बेच्न यहि संसद प्रयोग भयो । नेपाली जनताको सर्वहितका लागि यो बहुदलीय सरकार भन्दा पहिलाको सरकारले स्थापित गरेका सार्वजनिक संस्थानहरु ‘नीजिकरण गरेपछि देशको कायापलट हुन्छ’ भन्ने जस्तो जनता झुक्याउने कथा त्यहि संसदमा बुनेर नेपाली काँग्रेसको सरकारले २०४८ सालमा ती सार्वंजनिक संस्थानहरु कौडीको भाउमा बेच्न शुरु गर्यो । आज ती अर्बौंका संस्थानहरु बिक्रि हुँदा नेपालीको कायापटल नेपालको पैसा विदेशिएर भएको छ ।

आफुहरुलाई देशभक्त भन्न रुचाउने कम्यूनिष्टहरुको पहिलो श्लोगन छ ‘संसारका मजदूर एक हौं, जिते संसार छ नजिते यहि ज्यान मात्रै जाने हो’ । उनीहरुको यो श्लोगनले कहिँ कतैपनि राष्ट्र र राष्ट्रियताको भौगोलिक सीमा स्वीकार गर्दैन । यसले संसारभर नै एकmल शासक एकल तानाशाहको परिकल्पना गरेको छ । माक्र्संवादको ब्याख्या र लेनिनवादको प्रयोग भनेको नै संसार कब्जा गर्ने, भ्याएसम्म पौरखीलाई दुईचारफुट छोट्याउने नसके त्यसको लूट्ने र आइसोलेट गर्ने नै हो । यहि संसारभरी कम्यूनिष्टहरुले प्रयोग गरेको आचरण हो । यस्तै सिद्धान्त र आचरणबाट शिक्षित र प्रशिक्षित नेपालका कम्यूनिष्टहरुको २०५१ सालमा बनेको पहिलोे सरकारले त्यहि संसदलाई प्रयोग गरेर जनतालाई झुक्याउँदै रातारात महाकाली बेच्यो । बिभिन्न भ्रमपूर्ण कुराहरु त्यहि संसद मार्फत जनतालाई भन्दै, अनेक ब्याख्याको शब्दजाल बुनेर महाकाली सधैंका लागि छिमेकीलाई जिम्मा लगाइयो । ‘जनताको कल्याण हुन्छ’ भन्दै जनताको मूलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतामा नाङ्गो नाच गर्ने छूट आइएनजिओलाई दिएर होलीवाइनवादको बर्चश्व गराइयो । नेपालको शिक्षा, स्वास्थ्य, कृषि देखि विकासको ढाँचाबाट नै नेपाली धरातलीय ययार्थ नेपाली मौलिक पद्धतिलाई अलग्याउने काम त्यहि बेलाको सरकारले शुरु गर्यो ।

नेपालको जमीन बाँझो राखेर, नेपालको मौलिक सीपलाई जातियताको जलप लगाएर, नेपाली कलासँस्कृतिलाई पाखण्ड र वाहियात भनेर नेपाली जनताका छोराछोरीहरुलाई उदण्डतातिर धकेलियो । नेपालको मौलिक शिक्षा पद्धतिका त कुरै छोडौं शिक्षामा अलिअलि भएको नेपालीपन र नेपाली मौलिकतालाई पनि ‘बुर्जवा शिक्षा’ भन्दै त्यहि मेकालेका खेतालाहरुले प्रायोजन गरेको शिक्षाको उपाधि लिएकाहरुले नेपाली जनताका छोराछोरीले शिक्षा लिएको, आफ्नो परम्परागत सीपलाई निरन्तरता दिएको देख्नै सकेनन् । बन्दूक, लूट, छाडापन, दैत्य आचरण, विध्वंश, विनासलाई नै आर्दश मान्ने परम्पराको थालनी गरेर फेरि स्वघोषित रुपमा सांसद बनेर जङ्गल देखि सडकसम्म त जनतालाई झुक्याइएकै थियो अब अन्तिम थलो जनता झुक्याउने त्यहि संसद नै बन्यो ।

सत्ताको चास्नीमा चुर्लुम्म परेका मक्कारहरुले बेलाबेलामा त्यहि संसदमा गएर सफाइ दिन्छन् । त्यहाँको रोष्टममा उभिएर मुखमिठाउँदै औंला ठडयाउँदै र कुम हल्लाउँदै जे जे भनिदिएपनि हुने भएको छ । त्यहाँ भनिसकेपछि सब चोखिन्छ । पार्टीका नेताहरुले त्यहाँ उभिएर भनेपछि जतिसुकै झुठ, राष्ट्र र राष्ट्रियता बिरोधी कुरा भएपनि नेपाली जनताले मानिदिनुपर्ने हुन्छ । सुन्दा कटु लाग्ला, कतिपयलाई संसदीय व्यवस्था विरोधी भएको जस्तो पनि लाग्ला तर जे सुकै लागेपनि संसदभित्र देखिएको सत्य यहि हो ।

देशको कुनाकुनामा शैक्षिक सत्रको डेढ महिना बित्दा पनि पाठ्यपुस्तक पुग्दैन, देशको दूरदराजमा कुनै ओखती पुग्दैन, सार्वजनिक सेवादिेने व्यक्ति काजको नाममा राजधानीमा सुकुला हुन्छ तर त्यो संसदमा उभिएर सबठिक छ भनेपनि जनतालाई पुग्ने ? पछिल्लो दिनहरुमा भ्रष्टाचारका अनेक खेलहरु भए । यतिओम्नी देखि कोरोना ब्यापारसम्म । वाइडबडी देखि वालुवाटार काण्डसम्म तर ती सबै काण्डको कुरामिलाएर त्यो रोष्टमबाट बोलेपछि आधाउधी त चोख्खियो बाँकी बचेको अख्तियार र न्यायालयमा नियुक्ति गर्न सुनवाइ गर्नेहरु त्यहि संसदभित्रका भएकाले बुटी सुँघाएर चोख्याउने काम नहोला भन्न सकिन्न । अराजक, झूठ, फरेब, जनता झुक्याउने कुरा चाहिँ सत्य सभ्य लाग्ने यो देशमा भाष्य नै निमार्ण भैसकेको छ । त्यो भाष्यको मुहान नै संसद बनेको पो हो कि भन्ने लाग्छ ।

त्यो संसदमा बोलेका कुरा नेपाली जनताका लागि पुरा गर्नै नपर्ने भैसकेका छन् । विदेशीको ताबेदारीमा कहिँ कतै अलिकति पनि तलमाथि हुनै हुँदैन । एमसीसी जस्ता देशको सार्वभौमसत्ता विरुद्धका कुरालाई होस या एसपीपी र इण्डोप्यासफिक का कुरा सबैमा दलहरुले त्यहि संसदभित्र उभिएर जनतालाई झुक्याएका छन् । कहिँकतै कुनै पक्षले नै स्वीकार नगर्ने ब्याख्यात्मक टिप्पणीको नौटङ्की गरेर जनतालाई त्यहि थलोबाट झुक्याइएको छ । एमसीसीसँगै के कति कुराहरु नेपाल बिरोधी बाचाकबुल भएका छन् भन्ने कुरा बिस्तारै बिस्तारै खुल्दै जानेछन् । अहिले त्यो एसपीपी भन्ने कुरा आएकोबाट योपनि एमसीसीको बाचाकबुल भित्रको कुरा हो भन्ने खुल्दैछ तर जनता झुक्याउने त्यो थलोमा यसबारे हिलो झ्यापाझ्प मात्रै भएको छ । ‘तँ रोए झैं गर म कुटे झैं गर्छु’ भन्ने नेपाली उखान झैं संसदभित्र नाटक भएको छ ।

देशको कृषिमन्त्रीले त्यहि संसदको रोष्टममा उभ्भिएर किसानलाई झुक्याउँछ । अर्थमन्त्रीले आफ्ना नीजि खेताला बोलाएर बजेट बनाउँछ र त्यहिँ उभ्भिएर देशलाई झुक्याउँछ । सँस्कृति मन्त्रीले त्यहिँ उभ्भिएर देशको मौलिकता माथि कुठाराघात गर्छ । शिक्षामन्त्रीले त्यहिँ उभ्भिएर देशको भाषा मास्ने पुरै योजना बनाउँछ । नेपाली भाषा र स्थानीय मौलिक भाषा मासेर शिक्षाको गुणस्तरको डिङ्घ हाँक्छ । विदेशमन्त्रीले नेपालको स्थापित परराष्ट्रनीतिको बिरुद्ध अमेरिकी ताबेदारी गर्दै नेपालको हितमा छ भन्छ । कोसँग के के सम्झौतागर्न हिँडेको हो त्यो भन्दैन । त्यहाँ उभिएर भनेको भन्दा पृथक गरेर आउँछ । भौतिक योजनामन्त्रीले नभएका कामपनि भएको र हुँदैछ भन्छ । रक्षामन्त्रीले सेनाले गरेको सम्झौताहरु नै ‘मलाई थाहछैन’ भन्छ । स्वयं प्रधानमन्त्रीले त्यहाँ उभ्भिएर निर्लज्जताका साथ ‘खोइ कोकस्ले के के गरे मलाई सोधेनन् र मलाई थाह भएन’ भन्छ । संसदहरु आफ्नो जिम्मेवारी भन्दा बढि चासो आइएनजिओका भत्ता भतेर, विदेश भ्रमण, मन्त्री कसरी कुन जूक्तीबाट बन्ने भन्नेमा नै केन्द्रित हुन्छन् ।त्यहि संसदमा उभ्भिएर जनताको कामको मात्रै साख्खै बनेको नाटक गर्छन्, महाढाँटहरुले बोलेको आँखा बन्द गरेर टाउको ढल्काएर हाइकाढ्दै आँखामिच्दै ग्रहण गर्छन् ।

यो सब श्रंँखला अनवरत रुपमा चलि नै रहेको छ । अन्यत्र पनि होइन यो सब यिनै जनताले चुनेर पठाएकाहरुले सत्यनिष्ठा र इमान्दारिताका साथ जनता र देशको पक्षमा काम गर्नुपर्ने ठाउँमा । लोकतन्त्रको मन्दिर भनिने ठाउँ संसदमा । मन्दिरमा बैमानी गर्नुहुँदैन भन्ने सँस्कार सनातनमा छ नेपाली मौलिकतामा छ । लोकतन्त्रको जननी भन्ने देश ब्रिटेनको संसदले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेक सबथोक गर्न सक्छ भन्ने भनाई छ । तर जनतालाई ढाँट्ने र झुक्याउने थलो संसद मात्रै हो भन्ने कल्पना त्यहाँ पनि छैन । तर लोक (जनता), गण (जनता) जेसुकै तन्त्र भनेपनि जनताको शासन नै हो भन्न खोजेको । त्यहि जनताले चुनेर तिनै जनतामाथि शासन गर्न गएकाहरु त्यहाँ पुगेर जनतालाई झुक्याउने थलो नै संसद बनाउने हो भने अब त्यो थलो अपवित्र भैसक्यो भन्नुपर्छ । अपवित्र थलोमा नैतिकता रहँदैन । बीना नैतिकता इमान्दारिता आउँदैन । जहाँ बैमानहरुको सभा हुन्छ त्यहाँ लोकतन्त्र या लोककल्याणको कल्पना नै गर्न सकिँदैन । त्यसैले लोकतन्त्रको त्यो पवित्र थलो संसदलाई जनता झुक्याउने थलो बनाउन नखोज ।

प्रतिक्रिया

प्रतिक्रिया