आज नेपालगन्जको नीति तथा कार्यक्रम

प्रशान्त विष्ट, नेपालगन्ज उपमहानगरपालिकामा अत्याधिक मतान्तरले विजयी नगर प्रमुख । अहिलेसम्मकै युवा नेतृत्व नेपालगन्ज उपमहानगरपालिकाका ।

जति उत्साहप्रद परिणाममा निर्वाचित भए, विष्ट पदभारपछि त्यतिनै शान्त देखिए । उनी गर्दै के होलान् ? धेरैको चासो यो बीचमा उत्पन्न भएपछि दैनिक नेपालगन्जले नगरसभाको अघिल्लो दिन सम्यक संवाद गर्दै गरेको प्रश्ननै त्यही रह्यो, ‘तपाईं के गर्दै हुनुहुन्छ ?’ आध्यात्मिक चिन्तनले ओतप्रोत विष्ट मन्द मुस्कानका साथ हामीसँग प्रस्तुत भए, ‘अघिल्लो कार्यपालिकाले भन्दा हामी केही फरक र विशेष गर्नेपर्छ भन्नेमा कसरत गरिरहेका छौं ।’

आन्तरिक स्रोतको अभावमा संघप्रदेशकै भरमा के गर्न सकिन्छ त विशेष ? नगरप्रमुख विष्टले दैनिक नेपालगन्जसंग भने, ‘अघिल्लो कार्यपालिकाले आन्तरिक स्रोत वृद्धिका लागि काम गरेकै रहेनछ, अब हामीले त्यसतर्फ पाइला चाल्दैछौं ।’ उसो भए कर बढ्ने भो हैन ? ‘होइन, करको दर बढाएर होइन, दायरा बढाएर नेपालगन्जको विकास सम्भव छ ।’

आज विहीवार नेपालगन्ज उपमहानगरपालिकाको नगर सभा गरिंदैछ । नव निर्वाचित जनप्रतिनिधिको पहिलो नगरसभा कसरी गरिंदैछ ? यसैको सेरोफेरोमा आजको सम्यक संवाद ।

निर्वाचितपछिको व्यस्तता के मा छ ?

हामी आगामी आ.व. २०७९÷०८० को लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि नगरसभाको तयारी अन्तिममा रहेको छ ।

नगरवासीका तपाईंसँग अपेक्षा धेरै छन्, कस्तो आउँला नीति र बजेट ?

हामीले युवा नीति ल्याएर कार्यपालिकाबाट पास गरेर नगरसभामा पेश गर्दैछौं । युवामैत्री सहर बनाउने योजनामा छौं ।

हामीले सबै क्षेत्र हेर्नुपर्दछ, शिक्षा, स्वास्थ्य, विकासका पूर्वाधार, सहर सौन्दर्यीकरण, सरसफाई लगायतका सबै क्षेत्र समेटिने गरी बजेट ल्याउने छौं । नेपालगन्जलाई इतिहास, संस्कृति र सम्पदा सबैको संरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य हो । सबै समेटेर नीति तथा कार्यक्रम बनाउँछौंं ।

नीति तथा कार्यक्रममा पुराना राम्रा कार्यक्रमलाई पनि निरन्तरता दिन्छौं । नयाँ कुराहरु पनि नीतिमा आउनेछ । ट्राफिक व्यवस्थापन, सरसफाई, ज्येष्ठ नागरिकसँग स्थानीय सरकार जोडिने कुरालाई, सञ्चार क्षेत्र, वडा नं. २३ मा इन्टरनेट पुर्याउने, नगरका चोकमा वाईफाई फ्रि गराउने कुरा नीतिमा समेटिने छ ।

दीर्घकालीन योजना केही छ ?

केही कार्यक्रम यसै बर्षका लागि मात्रै रहन्छ भने केही कार्यक्रम पाँच बर्षका लागि रहन्छन् । उद्यमशीलता, तालिम, बागेश्वरी मन्दिरका विषय लगायतका सर्ट कार्यक्रम छन् भने केही पाँच बर्ष निरन्तर गर्नुपर्ने योजना पनि छन् । जस्तै चक्रपथ हाम्रो योेजनामा छ ।

अहिलेसम्म नेपालगन्ज उपमहागनगरपालिकामा सर्वे मात्रै भएको र बजारमा चक्रपथको धेरै हल्ला भएको र कुनै पनि काम नभएको पाइयो । त्यसलाई हामीले डिपिआर गराएर पाँच बर्ष भित्र नेपालगन्ज उपमहानगरपालिका भित्र चक्रपथ निर्माण गर्ने हाम्रो योजना रहेको छ ।

महानगरको बाटो रहने छ त नीतिमा ?

साविकका वडाहरु जुन नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएका छन् । त्यहाँ भौतिक विकास, शिक्षा, स्वास्थ्य कुनै पनि विकास नगरिएको देखिन्छ । त्यसकारण साविकका वडाहरु गाविसलाई जोडेर उपमहानगरपालिका बनाइयो, त्यसको विकासको सँगै महानगरको परिकल्पना गर्न सकिन्छ । महानगरको परिकल्पना गर्नु त पर्दछ । अहिले महानगर बनाउने मात्रै कुरा रहेनकी, साविकका वडाहरुलाई त्यही किसिमको विकास गर्दै अगाडि बढाउनु कुरा महत्वपूर्ण छ ।

महानगरपालिकामा अपग्रेड गर्नुपर्दछ भन्ने संघ, प्रदेश र स्थानीय तहको त छँदैछ । तर, त्यससँगसँगै साविकका वडाहरुको स्तरोन्नती गर्न जरुरी छ । ।

बजेट कसरी बाँडफाँड गरिंदै हो ?

बजेट केन्द्रिकृत पनि हुन्छ र वडालाई पनि विनियोजन गरिएको छ । वडाले गर्ने विकास हामीले गर्ने विकास नै हो । वडा र उपमहानगरपालिका बीच राम्रो समन्वय गरेर कार्यक्रम तथा योजना डुप्लिकेशन नपर्ने गरी कार्यक्रम बनाउने छलफल भएको छ ।

संघ र प्रदेशको समपुरक बजेटबाट केही गर्न सकिन्छ । उपमहानगरपालिकासँग भएको थोरै आन्तरिक आम्दानीले धेरै काम गर्न सकिने अवस्था छैन । त्यसैले आन्तरिक आम्दानी बढाउन आवश्यक छ । करको दायरा बढाएर सबै क्षेत्र समेटिनु पर्दछ । अनिमात्र नेपालगन्जको विकास गर्न सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया