शाब्दिक अर्थमा भन्नु पर्दा कुनै पनि कम्पनीको पूँजीलाई बराबर भागमा बाँडिन्छ र त्यै भागलाई शेयर भनिन्छ, जसको स्वामित्वमा त्यो शेयर हुन्छ त्यसलाई शेयर होल्डर (Shareholder) भनिन्छ । जम्मा शेयर मध्ये जो सँग जति शेयर हुन्छ कम्पनीमा उसको त्यति प्रतिशत नै स्वामित्व हुन्छ र कुनै पनि सुचिबद्ध कम्पनीमा हिस्सेदारी खरिद बिक्री गर्ने ठाउँ नै शेयर बजार हो । शेयरको मतलब हुन्छ हिस्सा र बजार तेही ठाउँलाई भनिन्छ जहाँ हामी खरिद वा बिक्री गर्न सक्छौं । सन् १९३७ मा बिराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको शेयर खोलेर धितो बजार नामक संस्थाको स्थापना भई विभिन्न काल खण्डमा विनियम केन्द्र लिमिटेड, स्टक एक्सचेन्जका नाममा रुपान्तरित हुदै हालमा नेपाल स्टक एक्सचेन्जको नामले नेपालमा शेयर कारोबार हुने गर्दछ ।
नेपालमा नेपाल स्टक एक्सचेन्ज एक मात्र प्रमुख शेयर बजार हो । नेपाल स्टक एक्सचेन्जमा कुनै पनि सुचिकृत कम्पनीको शेयर ब्रोकरको माधेमबाट खरिद बिक्री गर्न सकिन्छ तथापी यस बजारमा शेयर मात्र नभई विभिन्न मुचुअल फन्ड र डिबेन्चरहरु पनि सुचिकृत भै कारोबार हुने गर्दछन् ।
शेयर बजारमा धेरै प्रतिफलको आशमा यस्तै सुचिकृत शेयर, मिउचुअल फन्डहरु र डिबेन्चर जस्तामा व्यक्तिगत तथा संस्थागत लगानी गरिएको हुन्छ । कुनै पनि कम्पनीको शेयर कारोबार हुन पूर्व नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुनुपर्दछ भने यस बजारलाई नियन्त्रण गर्ने काम भने नेपाल धितोपत्र बोर्ड नामक संस्थाले गर्ने गर्दछ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि मात्र कुनै पनि कम्पनी शेयर बजारमा सुचिकृत भै आफ्नो प्राथमिक शेयर निस्कासन गर्न सक्दछन् ।
कुनै पनि कम्पनी नेपाल स्टक एक्सचेन्जमा कसरि सुचिकृत हुन्छन् त ?
शेयर बजारमा सुचिकृत हुनको लागि कुनै पनि कम्पनी र नेपाल स्टक एक्सचेन्ज बीच लिखित सम्झौता हुनु पर्ने हुन्छ र त्यसपछि बजार नियामक निकाय नेपाल धितो पत्र बोर्डलाई आवश्यक सम्पूर्ण कागजातहरु जम्मा गर्नु पर्दछ । धितो पत्र बोर्डको जाँचमा सूचना सहि र सम्पूर्ण सर्तहरु पुरा गरे संगै कम्पनी नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुने गर्दछ । यदी कोही कम्पनीले सुचिकृत सम्झौताका शर्तहरु पालना नगरेमा नेपाल धितो पत्र बोर्डले उक्त कम्पनीलाई दिलिस्तिंग गर्न पनि सक्नेछ ।
शेयरको मूल्यमा उतार चढाव किन आउने गर्दछ ?
कुनै पनि कम्पनीको मुल्यांकन त्यस कम्पनीको आधारभूत पक्ष, कम्पनीको बित्तिय अवस्था, कम्पनीको प्रदर्शन आदिलाई विश्लेषण गरेर गर्ने गरिन्छ । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत सम्पूर्ण कम्पनीको दैनिक रुपमा कारोबार भई मुल्यमा तल माथि हुने गर्दछ । यहि मुल्यांकनको आधारमा माग घट्नु र बढ्नुको कारणले मूल्यमा उतार चढाव आउने गर्दछ । यी बाहेक कैले कहीँ विभिन्न बाहिरिए पक्षहरुले पनि शेयरको मूल्यलाई प्रभावित पर्दछ ।
कसरी गर्ने त शेयर कारोबार ?
शेयर कारोबार गर्नका निमित्त विभिन्न सेकुरिटिज कम्पनीहरु दर्ता भई शेयर कारोबार गर्दै गराउँदै आएका छन् । हामीले पनि त्यस्तै ब्रोकर कम्पनीको मद्दतमा डिम्याट खाता खोल्नु पर्ने हुन्छ र शेयर कारोबार गर्न ट्रेडिंग खाता टि यम यस खाता खोली आफ्नो बैंक खातासँग लिङ्क गर्नु पर्ने हुन्छ, सो ट्रेडिंग खाता खुले पश्चात उक्त ट्रेडिंग खातामा आफुले किन्न चाहेको रकम ट्रान्सफर गरि टि एम एस लगइन गरि चाहेको कम्पनीको शेयर खरिद बिक्रि गर्न सकिन्छ ।
कस्ता कम्पनीमा गर्ने त लगानी ?
नेपाल स्टक एक्सचेन्जमा २ सय भन्दा बढी कम्पनीहरु सुचिकृत भई दैनिक रुपमा कारोबार हुने गर्दछन्, उक्त कम्पनीहरुलाई विभिन्न सेक्टरमा बर्गिकरण गरिएको हुन्छ । सामान्यतया नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका जुन सुकै सेक्टरका जुन सुकै कम्पनीमा पनि हामीले लगानी गर्न सक्दछौ तर हामीले लगानी गरेको कम्पनीको बारेमा भने आफुले राम्ररी अध्ययन भने गर्नु पर्दछ । साधारणतया राम्रो बित्तिय अवस्था रहेको, लगातार रुपमा लगानीकर्तालाई लाभांश वितरण गरिरहेको, प्रति शेयर आम्दानी धेरै भएको, नेटवर्थ सकारात्मक धेरै भन्दा धेरै भएको, मूल्य आम्दानी अनुपात कम भएको, भविष्यमा आफ्नो ब्यापार व्यवसायलाई बढाउँदै बढी भन्दा बढी लाभांश वितरण गर्न सक्ने बलियो जगेडा कोष भएको कम्पनीमा लगानी गर्नु पर्दछ ।










