दिनहुँ शेयर कारोबार ओरालो लाग्दै गएपछि लगानीकर्ताहरु आन्दोलित भएका छन् । देशैभरी शेयर लगानीकर्ताहरु निराश भइरहँदा नेपालगन्जका लगानीकर्ताहरु स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउन अग्रसर भएका हुन् ।
लगानीकर्ता अगुवा पुष्पमणि प्रधानका अनुसार, त्रिभुवन चोकमा भेला भएका लगानीकर्ताहरु जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई १९ बुंदे ज्ञापनपत्र बुझाएका छन् । ‘बाँकेमा मात्रै ४ देखि ५ सय लगानीकर्ता भएको अनुमान छ’, प्रधानले सीमित संख्याका लगानीकर्ता स्थानीय प्रशासन पुगेको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘सरकारको अनाहक हस्तक्षेपले कयौंको लगानी जोखिममा पर्ने भएपछि आन्दोलित हुनु परेको हो ।’
प्रतिनिधिमूलक लगानीकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा प्ले कार्ड सहित केहीबेर धर्ना पनि दिएका थिए । उनीहरुले पूँजीगत लाभकर तीन प्रतिशत भन्दा कम गर्न माग गरेका छन् भने प्रतिस्पर्धात्मक ब्रोकर कमिसन कायम गर्न भनेका छन् । ‘पूँजी बजार सुधारका लागि ४÷१२ नीति खारेज गर’, प्लेकार्डमा भनिएको छ ।
अगुवा लगानीकर्ता देबेन्द्र शुक्लाले पूँजीको अनिश्चितताले लगानीकर्ताहरुको ठूलो नोक्सानी भैरहेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई १९ बुंदे माग पत्र पढेर सुनाएका थिए । ज्ञापनपत्र बुझाउन शुक्लासँगै पुष्पमणि प्रधान, ज्ञानेन्द्र हमाल, राजेन्द्र पछाईं, टोपेन्द्र बस्नेत लगायत जिल्ला प्रशासन पुगेका थिए । लगानीकर्ताहरुको नेपालगन्जमा केन्द्रीय लगानीकर्ताहरुको संगठन बिस्तार गर्न पनि पहल थालेको प्रधानले जानकारी दिए ।