आज विश्व अलबिनो दिवस । अलबिनो एक प्रकारको अपाङ्गता हो । शरिरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमिले छाला र कपाल सेतै हुने समस्यालाई अलबिनो भनिए । अलबिनो भएका व्यक्तिलाई घाममा हिडदा छाला पोल्ने, आँखा कम देख्ने लगायतका समस्याहरु समस्या हुन्छन् । जसले गर्दा उनीहरुलाई पढ्न, लेख्न तथा रोजगारीका लागि समेत समस्या हुने गर्दछ ।
‘आँखा कम देख्ने भएकाले पढ्न, लेख्न नै समस्या हुन्छ’, राष्ट्रिय अपाङ्ग अलविनो नेपाल बाँकेका अध्यक्ष टेकराज जैसीले भने, ‘समाजमा अलबिनो भएकाले धेरै संघर्ष गर्नुपरिरहेको छ ।’
अलबिनो भएकाहरुले सामाजमा होच्याउने खालका टिप्पणीले अलबिनो भएकाहरु हेपिएको बताएका छन् । आइतबार मंगल माविको खेल मैदानमा दृष्टिविहीनको क्रिकेट फाइनलमा सहभागी अलबिनो भएका विद्यार्थीहरुले अलबिनोको समस्याका कारण धेरै संघर्ष गर्नुपरिरहेको बताएका थिए । ‘आँखा कम देख्दा समयमै पढाई पूरा गर्न कठिन छ, पढाई पुरा गरे रोजगारी पाउन, स्वरोजगार हुन समस्या छ, काम पाए उपयुक्त वातावरण नभए काम गर्न नै समस्या हुन्छ’, राष्ट्रिय अपाङ्ग अलविनो नेपाल बाँकेका अध्यक्ष जैसीले भने ।
अलबिनो संक्रमितले राज्यले अपाङ्गताको छुट्टै श्रेणीमा अलबिनो संक्रमितलाई राख्नु पर्ने माग गर्दै आएका छन् । तर, आफुहरुको माग हालसम्म पूरा नभएको राष्ट्रिय अपाङ्ग अलविनो नेपाल बाँकेका अध्यक्ष जैसी बताउँछन् । ‘गर्मीमा निकै समस्या हुन्छ’, उनले भने, ‘दृष्टि कमजोर हुँदा सहयोगीको आवश्यकता परिररहन्छ ।’
बाँके अध्यक्ष जैसी राज्यले अलबिनो संक्रमितका लागि अपाङ्गताको श्रेणीमा मात्रै नराखेर छुट्टै सूचिकृत गरी सहयोग गर्नुपर्ने बताउँछन् । ‘राज्यले छुट्टै श्रेणी बनाएर सहयोग गर्ने हो भने थोरै भएपनि जीवनस्तर सहज हुन्थ्यो’, उनले भने, ‘आम नागरिकले अलबिनो संक्रमणको बारे थाह नपाउँदा विदेशीको जस्तो व्यवहार गर्दछन् ।’
अलबिनो संक्रमण सरुवा रोग होइन । त्यसैले उनीहरुलाई विभेद गर्न नहुने चिकित्सक बताउँछन् । ‘अलबिनो भएकाहरु नियमित छाला चिकित्सकसँग परामर्श लिइरहनु पर्दछ, शरीर छोपिने गरी कपडा लगाउनु पर्दछ’, चिकित्सक भन्छन् ।
अलबिनो नेपालमा ६ सय बढी संगठित
नेपालमा अलबिनोको संख्या भएकाहरुको तथ्यांक एकिन छैन । सरकारले छुट्टै श्रेणीमा नराखेकाले उनीहरुको एकिन तथ्यांक नभएको हो ।
नेपालमा हाल ६ सय बढी अलबिनो संगठित रहेको राष्ट्रिय अपाङ्ग अलविनो नेपाल बाँकेका अध्यक्ष टेकराज जैसी बताउँछन् । ‘सबै संगठित हुनुभएको छैन, तर हाम्रो सम्पर्कमा ६ सय बढी हुनुहुन्छ’, जैसीले भने । बाँकेमा करिब ४० जना जति अलबिनो संक्रमित संगठनको सम्पर्कमा रहेको उनी बताउँछन् ।
संगठन बारे थाहा नहुँदा र राज्यले छुट्टै तथ्यांक संकलन नगरेका कारण पनि अलबिनो संक्रमितको एकिन तथ्यांक नरहेको सम्बद्धहरु बताउँछन् ।
संक्रमितलाई शैक्षिक सामाग्री
बाँकेका अलबिनो भएका चार जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग अलविनो नेपाल बाँकेका अध्यक्ष टेकराज जैसीले अलबिनो भएका अष्टे«लियामा अध्ययनरत विद्यार्थी प्रज्ञा श्रेष्ठको सहयोगमा अलबिनो भएकालाई बाँकेका चार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिएका छन् ।
मंगल प्रसाद उच्च माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत छात्र, छात्राहरुलाई कापी, झोला, खानेपानीको बोतल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो ।