बर्दिया : कसरी गयो सुरक्षा खोज्नेको ज्यान ?

बर्दिया ओरालीबजार गोली काण्डमा आन्दोलनकारी र सुरक्षाकर्मीको आ आफ्नै दावी
सिटि फुकी अन्धाधुन्ध गोली हानेर हत्या गरियो : आन्दोलनकारी
प्रहरी माथी ढुंगा प्रहार गरी लखेटेपछि बल प्रयोग : सुरक्षाकर्मी

बर्दियाको ओराली बजारमा भएको गोली काण्डमा स्थानिय १८ बर्षिय नबिना चौधरीको सुरक्षाकर्मीले हानेको गोली लागी मृत्यु भएको घटनाको सम्बन्धमा स्थलगत अनुगमनमा घटनास्थल पुगेका अधिकारकर्मी सामु सुरक्षाकर्मी र आन्दोलनकारी दुवै पक्षले आ आफ्नै दावी प्रस्तुत गरेका छन् ।

घटनाको सम्बन्धमाआन्दोलनकारी र पीडित पक्षले सुरक्षाकर्मीले पुर्व सुचना नदिई गोली हानेर हत्या गरेको आरोप लगाएको छ भने सुरक्षाकर्मीले आन्दोलनकारीले प्रहरी माथी ढुंगा प्रहार गरी लखेटेपछि सुरक्षाकर्मी बल प्रयोग गर्न बाध्य भएको दावी गरेको छ ।

एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश सयोजक अधिवक्ता बसन्त गौतम, इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्ल, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी सम्मिलित अधिकारकर्मीले टोलीले बुधवार घटनास्थलको स्थलगत अध्ययन गरेको थियो । बर्दियाको मधुवन २ स्थित ओराली बजारमा सुरक्षाकर्मी र आन्दोलनकारी बिच झडप हुँदा सुरक्षाकर्मीको गोली लागी मधुवन २ की १८ बर्षिया नबिना चौधरीको मृत्यु भएको थियो ।

स्थलगत अध्ययन टोलीले घटनास्थल, पीडित परिवार, प्रहरी प्रशासनका प्रमुख तथा प्रतिनिधिका साथै अन्य सरोकारवाला निकायसंग भेटी घटनाको बारेमा तथ्य संकलन गरेको थियो ।

आरक्षित बन्यजन्तु संरक्षण बन क्षेत्रबाट बाघ, चितुवा लगायतका बन्य जन्तु गाउँपसि श्रृखलावद्ध रुपमास्थानियको ज्यानै लिन थाले पछि सुरक्षाको आवश्यक प्रबन्ध मिलाई दिन स्थानियहरुले बिभिन्न सरोकारवाला निकायलाई गुहारेका थिए । तर बाध चितुवा दिउसै गाउँ छिरी सर्वसाधारणको हत्या गर्न थाले पछि स्थानियहरु सरोकारवालालाई दवाव दिन बाटो अवरुद्ध गरि आन्दोलनमा उत्रिएका थिए ।

जिल्ला बर्दिया मुधवन नगरपालिका – २ ओराली बजारमा २०७९ जेठ २३ गते अपरान्ह ६ ः ०० बजेतिरसुरक्षाकर्मीले चलाएको गोली लागेर जिल्ला बर्दिया मधुवन नपा–२ सोनाहाकी १८ वर्षीया नविना चौधरीको मृत्यु भएको थियो भने सोही ठाउँका २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका थिए ।यस्तै घटनामा मधुवन २ का ३० बर्षिय धनीराम थारुले आन्दोलनका क्रममा प्रहरीले बाया कुमका बन्दुकको कुन्दाले हाने बताए । दाया कुममा चोट देखाउदै वहाँले सुरक्षाकर्मीकले जथाभावी कुटेको आरोप लगाएका थिए ।

स्थानियद्धारा अवरुद्धबाटो खुलाउन सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोली गएकोमा भिड नियन्त्रणका लागी दुवै तर्फबाट गोली चलाएकोमा कसको गोली लागी मृत्यु भएको भन्ने यकिन खुलेको छैन । घटनामा आफ्नो तर्फबाट गोली नचलाएको सशस्त्रको प्रहरीको दावी रहेको छ । कोखामा गोली लागेर घाइते भएका राकेश कुमार चौधरीको नेपालगञ्ज स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा नेपालगंजमा उपचार भैरहेकोघटनाका प्रत्यक्षदर्शी कालुराम चौधरीले जानकारी दिए ।
यसको १५ दिन पहिले पनि बाघको आक्रमणबाट स्थानिय कौशिला देवी पाल(५४ बर्ष) को मृत्यु भएको थियो । उक्त घटना सेलाउन नपाउदै एक पछि अर्को गर्दै गाउँ घरमै बाघ आई ब्यक्तिलाई आक्रमण गरि मृत्यु हुने घटना बढे पछि यसको रोथाम र नागरिकको जिवन रक्षाको लागी शान्तिपुर्ण आन्दोलनमा उत्रन बाध्य भएको अनुगमन टोली समक्ष बताएका थिए । १५ दिन अघि नै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले मानव बस्तीमा तारबार लगाएर बन्यजन्यबाट सुरक्षा प्रदान गर्न पहल गर्ने बताएका थिए । तर एक पछि अर्को घटना घट्ने र नागरिक बाघको आक्रमणबाट मर्ने क्रम नरोकिए पछि बाँध्य भई आन्दोलनमा उत्रिनु परेको स्थानियहरुले अनुगमन टोलीलाई बताएका थिए । आन्दोलनकारीहरूले सरकारले घाइतेको निशुल्क उपचार गर्नु पर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिनुको साथै नागरिकहरूको सुरक्षा हुन पर्ने माग गर्दै २०७९ जेष्ठ २३ गते दिनभरी सडक अवरोध गरी आन्दोलन गरेका थिए ।

साँझ दुबै पक्षबिच भएको वार्तामा सहमती गरेर अवरोध हटाउने भनिएको भएपनि अचानक आन्दोलनकारी र प्रहरीबिच तनाव भएको थियोे । आन्दोलनले उग्र रुप लिए पछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटना स्थलमै मृत्यु भयो भने एक जना घाइते भएका छन् ।यसमासुरक्षाकर्मीले पुर्व सुचना नदिई एक्कासी सिटि फुकेर गोली चलाएको आरोप लगाएका छन् भने सुरक्षाकर्मीले भने आन्दोलनकारीबाट ढुंगामुडा गरि सुरक्षाकर्मी लड्न थाले पछि स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको प्रत्तिक्रिया दिएको छ ।

घटनास्थलबाट प्रहरीले स्थानिय ३५ बर्षिय भिम नेपाल, २२ बर्षिय संजिव योगी चौधरी र ३३ बर्षिय तिलक शाहीलाई नियन्त्रणमा लिएर लगेकोमा सोहि दिन २०७९ जेष्ठ २३ गते राती ११ बजे जिल्ला प्रहरी कार्यालय बाँकेबाट मुद्धा नचलाई थुनामुक्त गरेको स्थानियको भनाई छ । बजारमा आफु सेभ भईदैन भनेर सुरक्षाकर्मी जंगलसाईडमा गई गोली हानेको आरोप स्थानियहरुले लगाएका छन् भने प्रहरीले ७०० मिटर परसम्म लखेट्दै ढुंगाामुडा गरेकोले योजनावद्ध रुपमा घटना घटनाएको हुन सक्ने प्रहरी उपरिक्षकलेबीरबहादुर शाही आफ्नो सफाई पेश गरेका छन् ।

घटनाको स्थलगतअनुगमन गर्ने क्रममा अध्ययन टोलीले घटना स्थल, घटनाका प्रत्यक्षदर्शी, पीडित परिवार, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्स्तोला, प्रहरी उपरिक्षब बीरबहादुर शाहीसंग भेटघाट गरी घटनाको तथ्य संकलन गरेको थियो । अनुगमन टोलीसंग मृतकका वुवा दुलारे थारु र आमा रामकृष्णी थारुले घटनाको सत्य तत्थ्य बाहिर ल्याउन र दोषीलाई कानुनी कार्वाही गर्नु पर्ने मुख्य माग रहेको रहेको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक बीरबहादुर शाहीले प्रहरीका तर्फबाट शक्तिको प्रयोगकानून र आवश्यकता अनुसार गरिएको बताए । आन्दोलनकारीले ढुंगामुडा गरि लखेट्ने, ढलाउने कार्य गरे पछि बल प्रयोग प्रयोग भएको हो । यसमा अनावश्यक बल प्रयोग गर्ने गरेका होईन । सरकारले अनुसन्धान टोली गठन गरेकाले यथार्थ कुरा त्यहिबाट आउने प्रहरी उपरिक्षकको भनाई छ । आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरी नायव उपरिक्षक सहित ११ प्रहरी घाईते भएको भएको प्रहरी उपरिक्षकले बताए । वडा कार्यालयले बनाईदिएको सुरक्षा बिट जलाउने, मोटरसाईकल जलाउने कार्यले घटना पुर्व पोजना हो कि भन्ने आशंका उब्जाएको उनको भनाई छ ।

सो घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गृह मन्त्रालयबाट घटनाको छानविन समिति गठन भएर आइसकेकोले अब के कसरी ब्यक्तिको मृत्यु हुनेसम्मको घटना हुन पुग्यो भन्ने बारेमा समितिको प्रतिवेदनले खुलाउने प्रतिक्रिया दिए ।


घटनामा गोली चली एक किशोरी नबिना चौधरी मृत्यु भएको र केही स्थानिय घाईते भएको सन्दर्भमा घटनास्थलमा जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा तैनाथ रहेकोमा सुरुवा आवश्यकता अनुसार गोली चलाएको भनी आफ्नो माथील्लो निकायमा जाहेर गरेको सशस्त्र प्रहरीले पछि आफ्नो तर्फबाट गोली नचलाएको दावी प्रस्तुत गरेको बताइन्छ ।

पीडित र सरकार पक्ष विच पीडितलाई तत्काल क्षतीपूर्ति र घाइतेको निशुल्क उपचार गर्ने सहमति भएपछि अवरुद्ध सडक बन्द खुलेको छ ।पीडित पक्ष, प्रशासन, स्थानीय जनप्रतिनिधि र राजनीतिक दल बीच मृतकका परिवारलाई बीस लाख रुपैयाँ क्षतिपूर्ति, मृतकको शालिक निर्माण र घाइतेहरुको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति पछि गत सोमबार देखि अबरुद्ध सडक सूचारु भएको हो ।


बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्गमा मानव वसोबास क्षेत्रभित्र मानव वन्यजन्तु द्धन्द्धको स्थायी समाधान खोज्ने, पटक पटक मानिसलाई आक्रमण गर्ने नरभक्षी बाघको पहिचान गरी स्थानान्तरण गर्ने र सो वन्यजन्तुको आक्रमण बढी हुने करिब २० कि.मि.क्षेत्रमा तारजाली तथा कंक्रिट वाल लगाउने सहमति पछि सडक सूचारु भएको हो ।
यसै बिच घटनाबारे अनुसान्धान गर्न गृह मन्त्रालयले छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समितिले घटना स्थल पुगि जेठ २५ गते देखि काम शुरु गरेको छ ।समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी काम शुरु गरेको समितिका संयोजक हरि घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया

प्रतिक्रिया