नेतृत्वको रस्साकस्सी


होटल व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको होटल व्यवसायी संघ बाँके नेपालगन्जको नेतृत्व लिन रस्साकस्सी सुरु भएको छ । त्यसका लागि वर्तमान अध्यक्ष भीमलाल कंडेल र महासचिव रंग बहादुर खड्काले बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।

‘सर्वसम्मतका लागि समय मागेकाले निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छैन’, संघका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता बसन्त गौतमले भने, ‘शनिबार साँझसम्म टुंगो नलागे निर्वाचन कार्यक्रम अगाडि बढ्नेछ ।’ असार ४ गतेका लागि मतदान कार्यक्रम टुंगो लागेपनि उम्मेदवारी दर्ता लगायतका निर्वाचन कार्यक्रमहरु आइतबारबाट सुरु गर्ने योजनामा निर्वाचन समिति रहेको बताइएको छ ।

संघमा नेतृत्वका लागि सर्वसम्मतको पहल भैरहेको होटल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । ‘सकभर सर्वसम्मत नेतृत्व चयन गरिनेछ’, संघका पूर्व अध्यक्ष समेत रहेका काफ्लेले भने, ‘कोभिड महामारीले थलिएको व्यवसायिक क्षेत्रमा आपसी एकता आवश्यक भएकाले सकभर मत विभाजन रोजाई हुने छैन ।’

अध्यक्ष कंडेलले आफ्नो कार्यकालको अधिकांस समय कोभिड महामारीमा बितेकाले गर्न खोजिएका योजना कार्यान्वयनका लागि पनि पुनः नेतृत्व दाबी गरेको बताउँदै आएका छन् । अघिल्लै अधिवेशनमा अध्यक्ष पदका दाबेदार खड्काले ‘पूर्व सहमति अनुसार स्वतः दाबेदार भएको’ बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया