अछाममा नाबालक हत्या: न्याय माग्दै नेपालगन्जमा आफन्त

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको निर्मम हत्या भएको घटनालाई लिएर आफन्तहरुले न्याय माग्दै नेपालगन्जमा पत्रकार गुहार लगाएका छन् । जेठ १७ गते वेपत्ता भएर गत शनिबार बिहान घर नजिकैको घनाजंगलमा मृत भेटिएका शाहीको हत्यामा प्रहरी अधिकारीनै संलग्न भएको आशंका आफन्तको छ ।


‘होइन भने प्रहरीले हाम्रो जोहेरीसम्म नलिएर उल्टै धाकधम्की किन दिइरहेको छ ?, विनोदका दाजु सुशान्तविक्रम शाहीले नेपालगन्जमा पत्रकारहसँग भने, ‘घटनाको अनुसन्धान हुनुपर्ने सिंगो गाउँ आन्दोलित छ, हामी न्याय माग्न नेपालगन्ज र काठमाडौंमा पुग्दैछौं ।’


निर्वाचनका विषयमा गाउँमा विवाद उत्पन्न भएपनि दुई पक्षबीच झड्पको अवस्था सिर्जना भएको थियो । १० कक्षामा अध्ययनरत शाहीको शव घर नजिकैको जंगलको भिरमा फेला परेपछि गाउँहरु आक्रोशित हुँदै दिनहुँ प्रहरीविरुद्ध आन्दोलित छन् ।

अनुसन्धान गर्न घटनास्थलमा जान रोक लगाएर स्थानीयले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका छन् । आक्रोशित भिडले इलाका प्रहरी कार्यालयमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ८ राउण्ड गोली चलाइएको अछामका डिएसपी रविराज थपलियाले जानकारी दिए ।


स्थानीय तह निर्वाचनको विषयलाई लिएर कालिकास्थानमा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच झडप भएको थियो । त्यहीँ बेलाको झडपपछि किशोर बेपत्ता भएका थिए । उनी हराएको पाँच दिनपछि शनिबार बिहान शव भेटिएको थियो । घटनाले अहिले राजनीतिक रूप लिएको छ । जेठ १७ मा ३ वटा मोटरसाइकलमा आएका ९ जनाले पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा दुईजनालाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा संलग्न मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

सो घटनाका आरोपीलाई पक्राउ गर्दा प्रहरीले महिलालाई अपमानजनक व्यवहार गरेको दृष्य देखाउँदै पत्रकार सम्मेलनमा पीडितले भने, ‘सामान्य घटनामा हामीलाई निर्मम व्यवहार गर्ने प्रहरीले मानिसको ज्यानै लिने घटनामा हाम्रो जाहेरी सम्म लिन मानेको छैन ।’ स्थानीयवासी समेत रहेका टंकसिंह धामीले घटनामा राज्यआतंक देखिएको भन्दै तत्काल अपराधको अनुसन्धान गरि दोषीलाई कानुनको दायरामा ल्याउन माग गरे । ‘अन्यथा आन्दोलनले आँधीबेहरी सिर्जना गर्न हामी बाध्य हुनेछौं,’ धामीले पत्रकारहरुसँग भने ।


नाबालक हत्या घटनामा डिएसपी थपलियाको भूमिकामा गम्भीर आशंका गरिएको छ । पीडितले पालिकामा नवनिर्वाचित नगरप्रमुख अम्बिका चलाउने र डिएसपी थपलियालगायतका केही काँग्रेस नेतालाई हत्याका योजनाकार भनेका छन् । शव भेटिएको यतिका दिनसम्म पनि घटनास्थलमा नगरप्रमुख नपुगेको भन्दै मृतक शाहीको कांग्रेस कार्यकर्ताले हत्या गरेको एमाले कार्यकताले आरोप लगाएका छन् ।


स्थानीय आन्दोलित भएपछि पञ्चदेवल विनायक नगरपालिकाकी नगरप्रमुख चलाउने सदरमुकाम मंगलसेनमा बस्न थालेकी छन् । नगरप्रमुख चलाउने आफूविरुद्ध नाराबाजी भएपछि असुरक्षित ठहर गर्दै सदरमुकाम सरेकी हुन् । घटनामा आफूलाई लगाएको आरोप झुटो भएको भन्दै दोषी जोसुकै भएपनि घटनाको सत्यतथ्य छानबिन गर्न आफू पनि लागेको दावी चलाउनेको छ ।

सुरक्षा अधिकारीका अनुसार, उक्त घटनाको अनुसन्धानका लागि अहिले कुकुरसहितको सिआइबी र टोली खटिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले अनुसन्धान गरिरहेको बताएका छन् । संसदमा समेत शाहीको हत्याको सवालले महत्व पाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया