प्रविधिको दुरुपयोगबाट पछिल्लो समय अपराधका घटनाहरु वृद्धि हुँदै गएको छ । प्रहरीमा पर्ने धेरै अपराधमा प्रविधिको प्रयोग भएको पाइन्छ । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगबाट भएको अपराधको छुट्टै तथ्यांक नराखेपनि प्रविधिको दुरुपयोगबाट थुप्रै अपराधिक घटना भएको बताउँछन् । ‘अपराधिक मानसिकता भएका व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गरेको पाइन्छ’, बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले भने, ‘जिल्लामा हुने साइबर सम्बन्धी अपराधिक घटना काठमाडौं स्थित साइबर ब्यूरामा पठाइने गरेको छ ।’
गत शनिबार सामाजिक सञ्जालमा चिनजान भएका केटाको भरोसामा पर्दा एक बालिकाको सामूहिक बलात्कार भएको घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ कि एक बालिकाको सामूहिक बलात्कार घटना फेला परेको हो ।
आइतबार विहान ४ बजे खजुरा गाउँपालिका वडा नं. ५ मा रहेको प्रतिक्षालयमा चेकजाँचमा खटिएको इलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलीले मोटसाइकलमा तीन जना सवार रहेको पाएपछि सोधपुछ गरेको थियो । प्रहरीको सोधपुछका क्रममा सामूहिक बलात्कारको घटना खुलेको थियो ।
बाँके प्रहरीले दिएको जानकारी अनुसार, मोटरसाइकलको बीचमा राखिएकी किशोरी अर्धचेतको अवस्थामा पाएपछि थप बुझ्न तीनै जनालाई मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय धनौली लगिएको थियो । प्रहरी कार्यालयमा भएको सोधपुछका क्रममा किशोरीले घटना विवरण बताएपछि प्रहरी तत्कालै एक्सनमा आएको थियो ।
प्रहरीले आइतबार विहान धनौलीमा पश्चिमबाट पूर्वतर्फ गईरहेको बैजनाथ गाँउपालिका वडा न.८ झिगौरा बस्ने बर्ष २० को बिश्वनाथ थारुले चलाएको भे.३ प.३५२७ न.को पल्सर मोटरसाइकलमा पछाडी बसेको १७ बर्षका किशोर, बिचमा बसेकी किशोरीलाई फेला पारेको हो । ‘किशोरी लठ्ठिएको जस्तो देखेपछि शंका लागेर प्रहरी कार्यालय पुर्याएका थियौं’, प्रहरी अधिकारीले भने, ‘किशोरी बयानबाट सामूहिक बलात्कारको घटना खुलेको हो ।’
किशोरीलाई एक बर्षदेखि फेसबुकमा चिनजान भएका हेमराज थारुले जन्मदिन मनाउन भनि जेठ २१ गते शनिबार बोलाएका थिए । दिउँसो ४ बजे खजुरा गाउँपालिका वडा न. ६ मानखोला नजिक पुगेकी किशोरीलाई युवाहरुले मोटरसाइकलमा राखेर बर्दियाको मानखोला नजिकैको जंगलामा पुर्याए । ‘जंगलमा ४÷५ जनाको युवा समूहले घरेलु मदिरा ल्याए, आफुहरु सहित किशोरीलाई पनि सेवन गराएको अनुसन्धानका क्रममा खुलेको छ’, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने, ‘राती १२ बजेसम्म किशोरीमाथि सामूहिक बलात्कार गरेपछि उनी बेहोस भएको खुलेको छ ।’
किशोरी बेहोस भएपछि युवाहरुले बैजनाथ गाउँपालिका वडा नं. ८ स्थित बिक्रम थारुको घरमा पुर्याएर एउटा टिनको टहरामा लगेका थिए । किशोरीले त्यहाँ पनि दुई जनाले बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छन् ।
बिक्रान्त थारुले थप एक युवा सहित आइतबार विहान किशोरीलाई घर पुर्याउन जाँदा प्रहरीको चेकजाँचमा परेका थिए ।
ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले किशोरीको बयानका आधारमा सामूहिक बलात्कार घटनामा ७ जना युवालाई पक्राउ गरेको छ । किशोरीको सामूहिक बलात्कार भएको बयान प्रहरीलाई दिएपछि प्रहरीले तत्कालै उनीहरुको खोजी सुरु गरेको थियो ।
प्रहरीले बैजनाथ गाउँपालिका वडा नं ८ का १७ बर्षीय किशोर, बर्ष २४ का बिक्रान्त थारु, बर्ष २५ को निराजन थारु, १६ बर्षीय किशोर, २३ बर्षीय राज कुमार थारु, २० बर्षीय किशोर, १७ बर्षीय किशोरलाई पक्राउ गरेको जानकारी दिएको छ । घटनामा संलग्न ४ जना किशोर २१ बर्ष मूनिका रहेका छन् ।
पछिल्ला दिनमा सामाजिक सञ्जाल फेसबुक ट्विटर, इन्स्ट्राग्राम, भाइबरलगायतका माध्यम लोकप्रिय रहेको छ । अधिकासं युवा, युवती सामाजिक सञ्जालमा समय बिताइरहेको पाइन्छ । सामाजिक सञ्जालकै माध्यमबाट हत्या, हिंसा, बलात्कार, यौन दुव्र्यवहार, लुटपाट, मानव बेचबिखनका घटना भैरहेको पाइन्छ ।
सामाजिक सञ्जालमा चिनजान हुने, त्यसैको आधारमा प्रेम हुने र उमेर नै नपुगी विवाह गर्ने, अभिभावकको मञ्जुरी बिना विवाह गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । सामाजिक सञ्जालमा राम्रा भन्दा आलोचनात्मक, नराम्रा, विवादित विषयहरु बढी पाइन्छन् । जसले गर्दा मानिसहरु नकारात्मकता तिर धकेलिइरहेको पाइन्छ ।
प्रविधिका धेरै राम्रा पक्ष छन् । त्यसको सुदुपयोगले धेरै प्रगति पनि भैरहेको छ । तर, साथसाथै यसले विकृति पनि भित्र्याइरहेको छ ।
बाँकेमा १० महिनामा करणीका ५२ घटना
बाँकेमा चालु आर्थिक बर्षको १० महिनामा करण सम्बन्धी ५२ वटा मुद्दा दर्ता भैसकेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटको तथ्यांक अनुसार, चालु आ.व.को बैशाखसम्म जबर्जस्ती करणीका ३६, जबर्जस्ती करणी उद्योगका १४ र वैवाहिक करणीको २ वटा मुद्दा दर्ता भएका छन् ।
आ.व. २०७५/०७६ मा जबरजस्ती करणीका ५६, आ.व. २०७६/२०७७ मा ५२, २०७७/०७८ मा ५५ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, जबर्जस्ती करणी उद्योगका आ.व. २०७५/०७६ मा ४, २०७६/२०७७ मा १०, २०७७/०७८ मा १३ वटा मुद्दा दर्ता भएका छन् ।











