काँग्रेस कार्यालयमा ताला


नेपाली काँग्रेसको नेपालगन्ज स्थित जिल्ला पार्टी कार्यालयमा अगुवा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । पार्टी नेता बादशाह कुर्मीको नेतृत्वमा रहेका अगुवा कार्यकर्ताहरुले बुधबार पार्टी कार्यालयमा तालाबन्दी गर्दै यसअघि विमति जनाइएका निर्णयहरु खारेज नभएसम्म ताला नखोल्ने बताएका छन् ।

पार्टी झण्डा सहित कार्यालयको मुल गेटमा तालाबन्दी गरेका उनीहरुले पार्टी जिल्ला नेतृत्व अवैधानिक रुपमा अल्पमतलाई लिएर हिडेको आरोप लगाएका छन् । ‘निर्वाचन अगाडि नै गरिएको बदमासी हो’, संविधानसभा सदस्य समेत रहेका काँग्रेस नेता कुर्मीले दैनिक नेपालगन्जसँग भने, ‘तर, स्थानीय निर्वाचन अभियानमा कुनै किसिमको असर नपरोस् भनेर रोकिएको आन्दोलनलाई अगाडि बढाइएको मात्र हो ।’

खासगरी कार्यसमितिलाई पूर्णता दिंदा कोषाध्यक्ष निर्वाचनमा अल्पमतको निर्णय हाबी भएको असन्तुष्ट पक्षको आरोप छ । त्यसबारे पार्टी केन्द्रले छानबिन गरेर सुधारको प्रतिबद्धता जनाएपनि जिल्ला स्तरबाट त्यसबारे उदासिनता देखाइएपछि आन्दोलन बाध्यतात्मक बनेको काँग्रेस जिल्ला सदस्य अशोक कुमार श्रेष्ठले जानकारी दिए । तालाबन्दी अघि असन्तुष्ट पक्षले जिल्ला पार्टी सचिव सुधांसु कोइरालालाई ज्ञापन पत्र पनि बुझाएको नेता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया