जनप्रतिनिधिहरुले हातमा कुचो भन्दा कलम र घोषणापत्र लिएर कार्यान्वयन तर्फ कदम चाल्ने समय हो

गणतन्त्र दिवसका दिन नेपालगन्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राईलगायतका कतिपय जजप्रनितधिहरु हतमा कुचो लिएर सफाइ अभियानमा निस्किएको समाचार पढ्न पाइयो । नेपालगन्जका जोशिला मेयर उप–मेयरको जोडीले सम्भवतः पहिलो सार्वजनिक कार्यक्रम यसरी कुचो लिएर निस्किएका होलान् । सवेराले दिनको संकेत गर्छ, मेयर, उपमेयरनै कुचो लिएर सडक, पार्क, मन्दिरमा पुगेपछि सहर सफा हुने अपेक्षा गर्न सकियो, बाँकी हेर्दै जाऔं ।

मलाई चाहिं मेयर, उपमेयर र वडाअध्यक्ष जस्ता निर्णायक पदमा पुगिसकेका व्यक्तिहरुले कुचो र डस्टबिन लिएर सडकमा हेर्दा अच्चम लागिरहेको छ । देशभरीका जनप्रतिनिधिहरु अहिले अधिकांश त अबीरमालामा भुलिरहेका छन् भने कति त कुचो लिएर नगरपरिक्रमा गरिरहेको देख्न सकिन्छ । त्यसैको एउटा उदाहरण नेपालगन्जमा यो साता सञ्चारमाध्यममा छाइरहेको देखिन्छ । खादामालादेखि कुचोसम्म ।

वास्तवमा, यसरी यो दुनिया दिवाना गरेर समय मात्र खेर जान्छ । जनताले यस कारण भोट दिएको होइन कि तपाईहरु कुचो लिएर सडकमा फोटो सेसन र मीडियाबाजी गर्नुस् । आज जसलाई हेर्यो कुचो लिएर सडकमा छ । मेयर भनेको त नगरको प्रमुख हो उसको काम नगरलाई राम्रो गराउन योजना तर्जुमा र ती योजना कार्यान्वयन गर्न गराउन पहल गर्नु हो । जुनकी मेयर बाहेकले गर्न सक्ने अधिकार अरुलाई हँुदैन् । यस्तै उपमेयर भनेका न्यायिक समितिका संयोजक जस्ता हस्ती हुन् । जसको काम न्यायिक समितिमा आएका मुद्दाहरु हेर्ने न्याय पाउने वातावरण सृजना गर्ने, पीडित र पीडक दुबै पक्षको न्यायिक समिति प्रतिको विश्वास बढाउने पहल र प्रयास गर्नु हो । यो काम उपमेयर बाहेक अरु गर्न मिल्दैन ।

नगरको सरसफाईका लागि हरेक नगरपालिकामा कुचिकारहरु छन् । जसको काम नै सडक सफा गर्नु हो । उनले तलब त्यही सडक सफा गरे बापत नै लिन्छन् । तसर्थ तपाईहरुले उनीहरुलाई नगर सफा राख्न उनको जिम्मेवारी पुरा प्रोत्साहित गर्नुपर्छ । प्रोत्साहित गर्नकालाई उनीहरुलाई सरसफाईको लागि चाहिने आवश्यक आधुनिक सरसामान उपलब्ध गराइ दिनुपर्छ । उनीहरुको समस्या सुन्दिनुपर्छ र समस्या सुनेर त्यसलाई समाधान गरिदिनुपर्छ ।

नागरिक समुदायमा सरसफाई सम्बन्धी सचेतनता फैलाउन कार्यक्रम आयोजना गर्नुस् । नगर र नगरबासीहरुको विकासका लागि कदम चाल्नुस् । तपाईहरु आ आफ्नो पदीय जिम्मेवारी इमान्दारिता, कर्मनिष्ठा, सकृयता र जवाफदेहिता साथ निर्वाह गर्नुस् । मिडिया तपाईको घरदैलो आफै पुग्नेछ । त्यसको लागि यो दुनियांदारी गर्नै पर्दैन् । रोग लाग्दा डाक्टरले हो उपचार गर्ने आफैले उपचार गर्न थाल्नु उचित त होइन नि ! सुधारात्मक सुझावलाई अन्यथा नलिइदिई सुधार गरियोस् ।

मेयरले गर्नु पर्ने काम त सर्वसाधारणका लागि अस्पतालमा सेवासुविधा औषधी व्यवस्थित र नियमित र निःशुल्क गर्न गराउन पहल गर्नु पर्ने हो । खानेपानीको उचित र वैकल्पिक व्यवस्था मिलाउनुपर्ने हो । नगरभरी जहाँ आवश्यक छ त्यहाँ त्यहा सुलभ शौचालय निर्माण गराउनु पर्ने हो । नगरमा रहेका कार्यालयहरुले दिइने सेवासुविधाहरु सेवाग्राहीले सहज रुपमा पाउन सक्ने गरी कर्मचारी, स्रोतसाधनको व्यवस्थापन गर्नु हो । ठाउँ अनुसार भैपरी आपत्तबिपत आउँदा जनधनलाई जोगाउनका लागि रेस्क्यू टीम, दमकल, फस्टएड बक्सको व्यवस्था गर्नु हो । नगरमा सचेतना फैलाउन सचेतनामुलक कार्यक्रम आयोजना गर्नु हो । स्कुल, अस्पताल, सडक, नाला, पुलपुलेसा जस्ता अति आवश्यक भौतिक निर्माण गर्नु गराउनु हो । तमाम काम छन्, गर्नु पर्ने र गराउनु पर्ने । हाम्रा जनप्रतिनिधिको पहिलो काम कुचो लिएर तमासा गर्ने होइन ।

वर्ष २०७९ बजेट भाषणमा वृद्धभत्ता उमेर घटाएर ६८ वर्ष गरिएको छ । कसलाई थाहा त कि ऊ ६८ वर्षको उमेर सम्म बाँच्नेछ र वृद्ध भत्ता लिनेछ । अझ सरकारले भत्ता नलिने स्वघोषणा गर्छ भने सम्मान दिने कुरा चलिरहेको छ । सम्मानमा के दिइने खादा, प्रमाणपत्र, अबीरमाला त्यति न हो त्यो पनि ६८ वर्ष उमेर पूरा गरिसकेपछि मात्र । बरु ६८ वर्ष भन्दा पहिला खानालाउन बस्न सहज होस् त्यसका लागि स्थानीय सरकारले स्वघोषित स्वरुप बढ्दै गरेको पेट्रोलियम पदार्थ, खाद्य पदार्थ जस्तैः खानेतेल, दाल, चामल, चिनी, चियापत्ती, मरमसला, तरकारी, माछा, मासु अनि लुगाकपडा, मोबाईल रिचार्जकार्ड, बिजुलीको बिल,स्कुल फीस, स्टेशनरी, बसभाडा , रिक्साभाडा र हजयात्राका खर्च लगायत अन्य आवश्यक कुरामा प्रचलित दररेटलाई घटाएर सर्वसाधारणले व्यहोर्न सक्ने गरी सुपथ दररेटमा सहजता साथ ग्रहण गर्न सक्ने चांजोपांजो मिलाइ दिनु पर्यो । खोइ तपाईको ध्यान त्यतातिर मेयरसा’ब ?

वडा अध्यक्षहरुले बिना आनाकानी कुनै बहाना नगरीकन सेवाग्राही प्रति कुनै आग्रह पूर्व आग्रह नराखिकन बिना विभेद आफ्नो कार्यालयबाट दिइने सेवा जस्तैः नाता प्रमाणित, नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश गर्ने, बहाल करको लेखाजोखा सिफारिश गर्ने, कोठा खोल्न रोहबरमा बस्ने, मोही लगत कट्टा सिफारिश गर्ने, घर जग्गा करको लेखाजोखा सिफारिश गर्ने, जन्म मिति प्रमाणित गर्ने, व्यापार व्यवसाय बन्द भएको वा संचालन नभएको वा ब्यापार व्यवसाय हुँदै नभएको सिफारिश गर्ने, मिलापत्र कागज गराउने निवेदन दर्ता सिफारिश गर्ने कुरामा सहजता मिलाइ दिनु्स् ।

विवाह प्रमाणित, अविवाहित प्रमाणित गर्ने, निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिश गर्ने ,आफ्नो अधिकारक्षेत्रका विषयमा अंग्रेजी भाषामा सिफारिश तथा प्रमाणित गर्ने, व्यक्तिगत विवरण प्रमाणित गर्ने, पुर्जामा घरकायम गर्ने, सिफारिश गर्ने, फरकफरक नाम, थर, जन्म मिति सिफारिश र प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिश गर्ने , नाम, थर, जन्म मिति संसोधनको सिफारिश गर्ने, जग्गा धनीपुर्जा हराएको सिफारिश गर्ने, कागज र मन्जुरीनमा प्रमाणित गर्ने, कित्ताकाट सिफारिश गर्ने, संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिश गर्ने, जीवितसँगको नाता प्रमाणित गर्ने लगायतका अन्य काम यथास्रीघ पुरा गरिदिनु पर्ने हो । खासमा त मेयर उपमेयर र वडा अध्यक्षहरुले आ–आफ्ना घोषणापत्रमा उल्लेख गरिएका योजनाहरुलाई क्रमशः कार्यान्वयन गर्ने र गराउने पदीय जिम्मेवारी हो ।

यस कारण यो त मेयर उपमेयर र वडा अध्यक्षहरुले हातमा कुचो होइन कलम र घोषणापत्र लिएर कार्यान्वयन तर्फ कदम चाल्ने समय हो । त्यसतर्फ ध्यान पुगोस् ।

प्रतिक्रिया

प्रतिक्रिया