नेपालगन्ज उपमहानगरपालिका संस्थागत सुधारका दृष्टिले मनपरी भैरहेको भन्दै बहुसंख्यक कर्मचारीहरु संगठित भएका छन् । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत विरुद्ध संगठित हुँदै उनलाई संस्थागत सुधारका पक्षमा काम गर्न दबाब दिएका हुन् ।
निश्चित राजनीतिक दलको पृष्ठपोषणबाट नेपालगन्ज ल्याइएका उपसचिव बस्नेतले त्यही दलको हितमा निश्चित नेताको इशारामा चलेको भन्दै लामो समयदेखि चुलिएको असन्तुष्टि छताछुल्ल भएको हो ।
कृष्ण जोशीको नेतृत्वमा कर्मचारी वृत्ति विकास, उपमहानगरपालिकाको संस्थागत सुदृढिकरणका लागि तदर्थ समिति गठन गरेर २३ बुंदे माग पेश गरेका हुन् । कर्मचारीहरुले भर्खरै जिम्मेवारी सम्हालेका प्रमुख, उपप्रमुखलाई समेत ज्ञापनपत्र बुझाएका छन् । उक्त ज्ञापनपत्र गत जेठ ११ गते दर्ता भएको थियो । यसअघि पनि नगर प्रमुख, उपप्रमुखलाई ज्ञापन दिइएपछि प्रमुख प्रशासकीय अधिकृतलाई नियम बमोजिम गर्न निर्देशन दिएका थिए ।
उपमहानगरपालिकामा कर्मचारीलाई जिम्मेवारी बाँडफाँड गर्दा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले मनपरी गरेको आरोप कर्मचारीहरुले लगाएका छन् । ‘एउटा सेवा, समूहको कर्मचारीलाई अर्को सेवा, समूहमा राखिएको छ’, कर्मचारी भन्छन्, ‘यसले अव्यवस्थापन बढाएको छ ।’
कर्मचारीहरुले दुई दर्जन बढी माग गरेका छन् । जसमध्ये उपमहानगरपालिकाको संस्थागत सुधार सम्बन्धमा संगठन व्यवस्थापन सर्वेक्षण (ओम) लाई प्रभावकारी बनाउने, आर्थिक खरिद ऐन पालना गर्न, कर्मचारीलाई सम्बन्धित सेवा, समूह अनुसार खटाउन माग गरिएको छ ।
‘संगठन व्यवस्थापन कमजोर हुँदा उपमहानगरपालिकामा बेतिथि निम्तिन्छ, कर्मचारी बीच बिग्रह ल्याउँदा त्यसले प्रतिकुल प्रभाव पार्दछ’, कर्मचारी भन्छन् ।











