नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो पहिलो निर्णय ‘लोकप्रिय’ गरेका छन् । वडा होस् वा स्थानीय तह प्रमुखले पदभार सम्हाल्दा राम्रा निर्णय गर्दै कार्यान्वयनमा लैजाने बताएका छन् ।
स्थानीय तहमा नवनिर्वाचित बाँकेका जनप्रतिनिधिले पहिलो बैठकमा लोकप्रियता हासिल गर्ने गरी निर्णय गरेका हुन् । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले कार्यभार सम्हाल्दै विभिन्न आठ निर्णयमा हस्ताक्षर गरे ।
उपमहानगरपालिका कार्यालयलाई अपांगमैत्री र जेष्ठ नागरिकको सेवालाई सहज बनाउन उपमहानगरपालिकामा लिफ्ट जडान गर्ने, जेष्ठ नागरिकलाई सहज तरिकाले वडा कार्यालयवाटै बैकिंग प्रतिनिधिमार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने, भेरी अस्पतालमा बिरामीहरूको लागी सहज तरिकाले खानाको ब्यवस्थापन गरिरहेको अंजनी माता रसोई लाई प्रति महिना १ लाख दिने लगायत निर्णयमा नगर प्रमुख विष्टले गरेका हुन् ।
कृषकको पशु बीमा उपमहानगरपालिकाले बेहोर्ने, फोहोरको उचित व्यवस्थापनका लागि नगरबासीलाई प्रेरित गर्ने, प्रावि तहमा स्थानीय भाषामा पठनपाठनको सुरुवात स्थानीय भाषामा पाठ्यक्रम निर्माण गरी क्रमशः कार्यान्वयन गर्ने लगायतका निर्णय नगर प्रमुख विष्टले गरेका हुन् ।
नरैनापुर गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो क्षेत्रका प्रत्येक माध्यमिक विद्यालयलाई एक/एक स्कुल बस प्रदान गर्ने निर्णय गरेको छ । बाँकी रहेका स्थानमा विद्युतीकरण गरी प्रत्येक वडाको मुख्य चोकमा हाईमाष्ट लाइट जडान गर्न प्रक्रिया अघि बढाइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउँछन् । उनका अनुसार पहिलो कार्यपालिका बैठक वडा नं१ महनितीयामा रु तीन करोडको लगानीमा माध्यमिक विद्यालय निर्माण र जयकिसान माविमा क्याम्पस स्थापना गर्ने निर्णय पनि गरिएको छ ।
खजुरा गाउँपालिकाको पहिलो बैठकले ज्येष्ठ नागरिक र दीर्घरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने निर्णय गरेको छ । बैठकले वृद्ध, जेष्ठ नागरिक र दीर्घरोगीको स्वास्थ्य जाँच हरेक दुई हप्ताको अन्तरमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार, वडास्तरमा रहेका स्वास्थ्य चौकीमार्फत निःशुल्क नियमित स्वास्थ्य परीक्षण गरिने छ । बैठकले अभिभावकविहीन बालबालिकालाई संरक्षण गर्ने, पालिकाभित्र फोहरमैला व्यवस्थापनका लागि जमिन व्यवस्थापन समिति समेत बनाएको छ ।
कोहलपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सीप सिकेका व्यक्तिलाई रोजगारी दिन रोजगार बैंक तथा श्रम बैंक स्थापना गर्ने निर्णय गरेको छ । नगरपालिकाले अति विपन्न, दलित तथा लक्षित वर्गका विद्यार्थीका लागि उच्च शिक्षा निःशुल्क गर्न सरकारी विश्वविद्यालयका आङ्गिक क्याम्पससँग सहकार्य गर्ने पनि निर्णय गरिएकोे नगरप्रमुख पूर्ण आचार्यले बताए ।
त्यसैगरि, बैजनाथ गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीले सात बूँदे निर्णय गरेका छन् । सोमवार पदबहाल भएका गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले पदभार ग्रहणसंगसंगै ७ महत्वपूर्ण निर्णय गरेका हुन् । नौवस्ता औद्यौगीक क्षेत्र व्यवस्थापन चुनौती बनेको अव्यवस्थित भूमिहिन दलित सुकुमबासी बस्तिको व्यवस्थापन गर्ने, किसानसँग अध्यक्ष कार्यक्रम गर्ने, वडा स्तरमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने लगायतका निर्णय बैजनाथले गरेको छ ।
विपन्न परिवारलाई मृत्यु संस्कार गर्नका लागि नगद ५ हजार उपलब्ध गराउने निर्णय गरेको बैजनाथले गाउँपालिकामा २० दिन भित्र जन्म दर्ता गराए शिक्षाका लागि बैंक मौजदात नगद २ हजार बैंक खातामा बचत गर्ने, नेपाल सरकारले घोषणा गरेको २० युनिट विद्युतमा थप १० गरी कुल ३० युनिट विद्युत निःशुल्क गर्ने र पूरा दरबन्दी भएका माध्यमिक तहसम्म पुर्ण रूपमा निःशुल्क शिक्षा दिने निर्णय बैजनाथले गरेको छ ।
त्यस्तै राप्तीसोनारीले विभिन्न ६ बुंदे निर्णय गर्दै गाउँपालिका भित्रका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेको छ । विकास निर्माणका योजनादेखि सुत्केरी, गर्भवति महिला र ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवाप्रदान गर्ने निर्णय गरेको राप्तीसोनारीले विपन्न तथा बहुअपांगता भएका नागरिक दीर्घरोगी लगायतलाई २० हजारसम्म उपचार राहत खर्च दिने निर्णय गरेको छ ।
पालिका अध्यक्ष तप्प पौडेलका अनुसार, पालिका भित्र मुख्य आन्तरिक स्रोतका रुपमा रहेको नदीजन्य पदार्थको व्यवस्थापनका लागि आइइ गर्ने र प्रतिवेदनका आधारमा प्रारम्भमै टेण्डर प्रक्रियामा जाने निर्णय पालिकाले गरेको छ ।