नेपालगन्ज वडा नंं १८ का नवनिर्वाचित पदाधिकारीहरुले मंगलबार पद बहाल गर्दै वडाका स्थायी बासिन्दाहरुका लागि दुई बुंदे निर्णय गरेका छन् । नवनिर्वाचित अध्यक्ष दिपक कुमार बर्मा, सदस्यहरु दिग्विजय ढुंगाना, बलराम रेदास, आशा शाही, कृष्णावति चमारले पदभार ग्रहण गरेका हुन् ।
उनीहरुले वडाका पूर्ण अपांगता भएकाहरुका लागि स्वास्थ्य बीमा र सुत्केरी भत्ता दुई हजार उपलब्ध गराउने निर्णय गरेका छन् ।
त्यसअघि कर्मचारीहरुले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रममा वडा सचिव बज्रभुषण झाको नेतृत्वमा कर्मचारीहरुले स्वागत सम्मान गरेका थिए । कार्यक्रममा नेकपा एमाले बाँकेका जिल्ला इन्चार्ज सुर्य ढकाल, केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, श्याम शाक्य लगायतले शुभकामना दिएका थिए ।
निर्वाचन भाग लिएका प्रतिस्पर्धीहरु पनि सहभागी भएको कार्यक्रममा उनीहरुले वडाको सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।













