खजुरामा कुन वडामा को विजयी

बाँकेको खजुरा गाउँपालिकामा माओवादी–काँग्रेस गठबन्धन विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी नेता डम्मर विक (तुफान) प्रमुख र उपप्रमुखमा काँग्रेस उम्मेदवार मञ्जु मल्ल विजयी भएका छन् ।

गठबन्धनबाट विजयी तुफानले १०७९० मत ल्याएका छन् । उनी निकट रहेका सुमन मल्लले ९१३७ मत ल्याए । राप्रपाका धन सिंह रानाले ११७६, नेकपा एकीकृत समाजवादीका होमनाथ सापकोटाले ७८९ मत, जसपाका बलिराम अहिरले २०८ मत ल्याए ।

गठबन्धनबाट उपप्रमुख उम्मेदवार मल्लले १००३४ मत ल्याएर निर्वाचित भइन् । उनकी निकट एमाले उम्मेदवार ताजरुन निसाले ८०९१ मत ल्याइन् । राप्रपाकी तिल कुमारी हमालले १३४८ मत, जसपाकी नुर जहाँ खाँले २७० मत, जनमोर्चाकी मोमिना खातुनले १७२ मत प्राप्त गरिन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका थिए । एमालेले यसपटक खजुरामा आफ्नो बर्चश्व गुमाएको छ । २०७४ सालमा प्रमुख निर्वाचित किस्मत कुमार कक्षपतिले ८०७० मत ल्याएका थिए । त्यतिबेला निकतम रहेर ६८९२ मत ल्याएका विक यसपटक भने काँग्रेससँग गठबन्धन गरेपछि विजयी भएका हुन् । २०७४ को निर्वाचनमा तेस्रो रहेको काँग्रेसले ४९५४ मत ल्याएको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा उपप्रमुखमा नेकपा एमाले उम्मेदवार एकमाया विकले ८२१४ मत ल्याएकी थिइन् । त्यतिबेला निकट रहेकी काँग्रेस उम्मेदवार माओवादी उम्मेदवार फिरोज बानो खाँले ६४३३ मत र काँग्रेस उम्मेदवार दिल कुमारी आलेले ४७९७ मत ल्याएकी थिइन् ।

कुन वडामा को विजयी ?

बाँकेको खजुरा गाउँपालिकाको वडा नं. १, २, ३ र ४ मा माओवादी र काँग्रेस बीच गठबन्धन रहेको थियो । गठबन्धनबाट वडा नं. १ मा काँग्रेस, वडा नं. २ मा माओवादी केन्द्र, वडा नं. ३ मा काँग्रेस, वडा नं. ४ मा माओवादीबाट वडाध्यक्षको उम्मेदवारी दिइएको थियो । वडा नं. ५, ६, ७ र ८ मा भने गठबन्धन थिएन ।


खजुराको वडा नं. १ मा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका मनवीर क्षेत्री १०५१ मत सहित विजयी भएका छन् । त्यहाँ नेकपा एमालेका जयविर थापा मगरले ८६६ मत मात्रै पाए । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले उम्मेदवार सुमन मल्ल वडामा १०५८ मत ल्याएर विजयी भएका थिए । हाल वडाध्यक्ष विजयी मनवीर क्षेत्री २०७४ को स्थानीय तह निर्वाचनमा ३०७ मत ल्याएर पराजित भएका थिए । उनी क्षेत्री यसपटक भने विजयी हुन सफल भएका छन्, लोकप्रिय मत सहित ।


खजुरा गाउँपालिका वडा नं. २ मा गठबन्धन तर्फबाट उम्मेदवारी दिएका माओवादी उम्मेदवार धनीराम ओली क्षेत्री २४२९ मत सहित विजयी भए । उनको निकट रहेका एमाले उम्मेदवार समर बहादुर क्षेत्रीले २०५१ मत ल्याए । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवीलाल शर्मा २२४० मत ल्याएर विजयी भएका थिए । २०७४ मा माओवादी उम्मेदवार १५०० मत ल्याएर पराजित भएकोमा यसपटक विजयी हुन सफल भए ।


वडा नं. ३ मा भने गठबन्धन सफल हुन सकेन । गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेस उम्मेदवार रमेश कुमार सिजाली तेस्रो स्थानमा रहँदै १०५७ मत मात्रै प्राप्त गरे । त्यहाँ नेकपा एमाले वडाध्यक्ष उम्मेदवार पूर्ण बहादुर भण्डारी १२९९ मत सहित विजयी भए । एमालेबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका विकास काउचा मगरले लोकप्रिय १०८३ मत ल्याउँदै निकट रहे । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीका कान्तुराम गौतम १२७४ मत सहित विजयी भएका थिए । गठबन्धन गरेपछि माओवादीले आफु विजयी भएको वडा काँग्रेसलाई दिएको थियो । तर, काँग्रेस उम्मेदवारले गठबन्धन र एमालेको बागी उम्मेदवार हुँदा पनि वडा नं. ३ मा जित निकाल्न सकेनन् ।


वडा नं. ४ मा गठबन्धनबाट माओवादी उम्मेदवार टेक बहादुर रोका क्षेत्री १२२४ मत सहित विजयी भए । उनी निकट रहेका एमाले उम्मेदवार तिलक वीर सुनारले ११२१ मत पाए । त्यहाँ राप्रपा उम्मेदवार ओपेन्द्र बहादुर खत्रीले ६६३ मत प्राप्त गरेका छन् । वडा नं. ४ मा २०७४ सालमा नेकपा एमाले उम्मेदवार तिलक वीर सुनार नै १०६२ मत सहित वडाध्यक्ष निर्वाचित भएका थिए । २०७४ मा सुनारसँग ७८३ मत ल्याएर पराजित क्षेत्री यसपटक विजयी भएका हुन् ।


वडा नं. ५ मा भने गठबन्धन थिएन । त्यहाँ २०७४ सालमा नेपाली काँग्रेसका उम्मेदवार देबेन्द्रमान श्रेष्ठ ७०८ मत सहित निर्वाचित भएका थिए । यसपटक वडा नं. ५ मा माओवादी केन्द्रका गरिबे शेष ९६७ मत सहित वडाध्यक्ष निर्वाचित भए । वडा नं. ५ मा नेपाली काँग्रेसका बिसनु कुमार बर्मा कुर्मी ८६९ मत सहित निकट रहे ।


वडा नं. ६ मा माओवादी केन्द्रका फारुख शेष ८७४ मत सहित विजयी भए । त्यहाँ एमालेका साबीर जोलाह ५४८ मत सहित निकट रहे । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका जोलाह ७८१ मत ल्याएर विजयी भएका थिए । यसपटक उनी पराजित भए, एमालेले जितेको वडा गुमायो । २०७४ मा ७६८ मत सहित निकट रहेका शेष यसपटक फराकिलो मतान्तरले विजयी भए ।


वडा नं. ७ मा माओवादीका राम गोपाल यादव १०१२ मत सहित वडाध्यक्ष निर्वाचित भए । उनी निकट रहेका एमाले उम्मेदवार अतिउल्ला खाँले ७८३ मत प्राप्त गरे । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका अतिउल्ला ११०० मत सहित विजयी भएका थिए । यसपटक एमालेले वडामा हार बेहोरे । यादव २०७४ मा अतिउल्लसँगै ७५७ मत ल्याएर पराजित भएपनि यसपटक उनैलाई हराएर विजयी भए ।
वडा नं. ८ मा काँग्रेसका फिरोज खाँ फराकिलो मतान्तरले विजयी भएका छन् । खाँले १५९० मत ल्याउँदा निकट रहेका माओवादी उम्मेदवार इमरान खाँले भने ९८९ मत मात्रै ल्याए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि खाँ नै वडाध्यक्ष निर्वाचित भएका थिए माओवादी उम्मेदवारलाई हराउँदै । खाँले यसपटक आफ्नो प्राप्त मत समेत बढाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया