आउँदै जनताको अभिमत

देशकै पुरानो पार्टी नेपाली काँग्रेसले बाँकेमा पहिलो मतपरिणाम आएको नेपालगन्ज वडा नं. २३ बाट विजयी सुरुवात गर्यो । नेपालगन्जमा आफ्नो जित सुनिश्चित गर्न प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवारी रहेको काँग्रेस र जसपाले प्रमुख, उपप्रमुखमा अन्य दलका उम्मेदवार भन्दा बढी मत ल्याउँदै वडाध्यक्ष पनि आफ्नो पक्षमा पार्यो । प्रमुख र उपप्रमुखमा गठबन्धन भएपनि वडामा भने सत्ता गठबन्धनका आ–आफ्नै उम्मेदवार छन् ।

नेपालगन्ज वडा नं. २३ मा तत्कालीन संघीय समाजवादी फोरमले जितेको वडा हो । हाल जसपाको वर्चश्व मानिएको वडामा २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट पराजित उम्मेदवार जबर अलि बेहनाले काँग्रेसका उम्मेदवारलाई नै हराउँदै यसपटक जित दर्ज गरे ।
लगत्तै बाँकेमा आएको दोस्रो परिणाम अनुसार, नेपालगन्जको वडा नं. २२ मा जसपा विजयी भयो । यसअघि नेपाली काँग्रेस विजयी उक्त वडामा जसपा वडाध्यक्ष पदका उम्मेदवार विजयी भए । त्यहाँ पनि सत्ता गठबन्धनबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवारले राम्रो मत पाएका छन् । वडा नं. २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित भए ।

आइतबार नेकपा एमालेले नेपालगन्ज वडा नं. १ बाट खाता खोल्यो । प्रमोद रिजाल वडा नं. १ मा विजयी भैरहँदा त्यहाँ राप्रपाले पछ्याएको थियो । त्यहाँ अन्य पदमा भने काँग्रेसका उम्मेदवारले जित हासिल गरेका थिए ।

नेपालगन्ज–२ काँग्रेसको गढ मानिन्छ । तर, त्यहाँ यसपटक वडाध्यक्ष पदमा भने राप्रपाका मनोज श्रेष्ठ विजयी भए । त्यहाँ काँग्रेस दोस्रो नम्बरमा रह्यो । मतदाताले वडा नं. २ मा मन बदलेको स्थानीय बताउँछन् ।

नेपालगन्जमा वडामा विजयी उम्मेदवारले उत्सव मनारहँदा प्रमुख पदमा माओवादीका नरेन्द्र न्यौपानेले कोहलपुर वडा नं. १ मा मतगणना चल्दै गर्दा अग्रता लिएका थिए । कोहलपुर वडा नं. १ मा माओवादी केन्द्रको प्यानल विजयी भयो । माओवादीले कोहलपुरमा वडामा समेत एकीकृत समाजवादी सँग गठबन्धन गरेको छ । कोहलपुर १ मा माओवादी केन्द्रका बद्री प्रसाद जैशीको प्यालन विजयी भएको छ । एमालेको किल्ला मानिएको बाँकेको खजुरा गाउँपालिकाको वडा नं. १ मा मनबीर खत्री नेपाली काँग्रेसबाट विजयी भए । त्यहाँ वडा सदस्यमा भने एमाले विजयी भएको छ । वडा नं. १ मा वडाध्यक्ष हारे पनि पालिका प्रमुख र उपप्रमुखमा भने एमालेले राम्रो मत ल्याएको छ । खजुरा गाउँपालिकाको वडा नं. २ मा माओवादी केन्द्रका धनीराम ओली विजयी भएका छन् । वडा नं. ३ मा मतगणना जारी रहँदा वडाध्यक्षमा एमाले र प्रमुख तथा उपप्रमुख पदमा भने गठबन्धनले बढी मत पाइरहेको अवस्था देखिन्थ्यो ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ नेपाली काँग्रेस विजयी भएको छ । त्यहाँ निकटम प्रतिद्वन्द्वी नेकपा एमाले रह्यो । २०७४ सालमा निकै कमजोर रहेको एमाले यसपटक वडामा पराजित भएपनि सम्मानजनक मत ल्याउँदै दोस्रो स्थानमा रह्यो । वडामा काँग्रेसले प्रमुख तथा उपप्रमुख पदमा बढी मत ल्याए पनि एमाले निकै नजिकबाट पछ्याइरहेको छ । डुडुवा वडा नं. १ मा पटेश्वरी कुर्मीको प्यानल विजयी भएको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. १, २ र ३ मा नेकपा एमालेका वडाध्यक्ष विजयी भए । काँग्रेसको गढ रहेको ठाउँमा एमालेले राम्रो नतिजा निकाल्दै प्रमुख र उपप्रमुख पदमा पनि राम्रो मत ल्याएको छ । वडा नं. ४ मा भने माओवादी केन्द्र वडाध्यक्ष सहित प्रमुख र उपप्रमुख पदमा अगाडि छ । एमालेका उम्मेदवार बाँके राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का, राप्तीसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु, वडा नम्बर २ मा ज्ञानेन्द्र राज वली सहितको सम्पूर्ण प्यानल विजयी भएको छ । जानकी गाउँपालिका वडा नं. १ मा जसपा विजयी भएको छ । जसपा विजयी हुँदा प्रमुख पदमा भने नेपाली काँग्रेसका उम्मेदवार छब्बन खाँले अग्रता लिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया