बाँके : प्रमुख र उपप्रमुखमा को अगाडि ?

शनिबार अबेरसम्म बाँकेका स्थानीय तहमा भैरहेको मतगणनामा एकाध वडाको मात्रै मतगणना सकिएको छ । प्रारम्भिक मत परिणाम अनुसार, बाँकेमा फरक फरक दल र उम्मेदवारले अग्रता लिइरहेका छन् । सुरुवाती चरणको मतगणना भैरहेकाले अग्रता लिने र पछाडि पर्ने क्रम चलिरहने मत गणनामा खटिएका दलका प्रतिनिधिले बताएका छन् । दल तथा उम्मेदवारको सबै वडामा समान प्रभाव नरहेकाले अघि, पछि पर्ने क्रम चलिरहने गरेको छ ।

बाँकेका खजुरा गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित केही वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको छ । प्रारम्भिक मत परिणाममा, प्रमुख पदमा नेकपा एमालेका सुमन मल्ल अगाडि देखिएकाछन् । उनलाई गठबन्धनबाट माओवादीबाट प्रमुख पदका उम्मेदवार डम्मर विक तुफानले पछ्याइरहेका छन् । उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसकी मञ्जु मल्ल अगाडि छन् भने उनलाई नेकपा एमालेबाट उपप्रमुख पदकी उम्मेदवार जागरुन निशाले पछ्याइरहेकी छन् ।

नेपालगन्जमा सत्ता गठबन्धनबाट प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट शुरुवाती रुझानमा अगाडि देखिए । उपप्रमुखमा सत्ता गठबन्धनकै कमरुद्दिन राई अगाडि छन् । उनीहरुलाई नेकपा एमालेबाट प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार पशुपति दयाल मिश्र र शान्ति ढकालले पछ्याइरहेका छन् ।

कोहलपुर नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन छ । वडा नं. १ को मतगणना जारी रहँदा त्यहाँ माओवादीबाट प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपानेले राम्रो अग्रता लिए । उपप्रमुखमा एकीकृत समाजवादीकी नारायणी वली अगाडि देखिइन् । त्यहाँ काँग्रेस र एमालेका उम्मेदवारले उनीहरुलाई पछ्याइरहेका छन् ।

जानकी गाउँपालिकामा प्रमुख पदमा काँग्रेसका छब्बन खाँ र उपप्रमुखमा काँग्रेसकै उम्मेदवार रामप्यारी यादव अगाडि रहेका छन् । उनीहरुलाई अन्य दलका उम्मेदवारले पछ्याइरहेका छन् ।

बैजनाथ गाउँपालिकामा शुरुवाती रुझानमा प्रमुख काँग्रेसका उम्मेदवार प्रकाश बहादुर शाही अगाडि देखिए । उनलाई एमालेका घननाथ खनाल, माओवादी केन्द्रका दिपेन्द्र शाहले पछ्याइरहेका छन् । उपप्रमुखमा काँग्रेस, एमाले र एकीकृत समाजवादीका उम्मेदवार अघिपछि चलिरहेको छ ।

राप्तीसोनारी गाउँपालिकामा प्रमुख पदमा एमालेका उम्मेदवार रामदास थारु अगाडि रहे । उनलाई नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार तप्त बहादुर पौडेलले पछ्याइरहेको पाइयो । उपप्रमुख पदमा एमालेकी चमेली बागवल अगाडि छन् । उनलाई काँग्रेस उम्मेदवार मनिषा थारुले पछ्याइरहेकी छिन् ।

डुडुवा गाउँपालिकाको प्रारम्भिक मतपरिणाम अबेर रातीसम्म पनि आउन सकेको छैन ।

नरैनापुर गाउँपालिका जसपाका उम्मेदवार इस्तियाक अहमद शाह प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार पञ्चराम यादवको शुरुवाती रुझानलाई पछाडी पार्दै अबेरराती काँग्रेसका रामचन्द्र मौर्य प्रमुखमा र अतिपुन निशा उपप्रमुखमा अगाडी आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया