बाँके : ८१ वडामा १ मात्रै मत परिणाम, मतगणना ढिलाई

बाँकेमा निकै ढिलो गरी मतपरिणाम आइरहेको छ । शनिबार विहान र दिउँसो मतगणना सुरु भएपछि शनिबार राती १० बजेसम्म बाँकेका ८१ मध्ये एउटा वडाको मात्रै मत परिणाम आएको छ । नेपालगन्ज वडा नं. २३ को मतपरिणाम मात्रै सार्वजनिक भएको हो । जहाँ नेपाली काँग्रेस विजयी भएको छ ।

शुक्रबार निर्वाचन सम्पन्न भएपछि मतगणना हुने भनिएपनि प्रक्रियागत कारणले अपेक्षा र तयारी अनुसार मतगणना हुन सकेन । बाँकेको डुडुवा गाउँपालिका बाहेकका स्थानीय तहमा शनिबार विहान र दिउँसो मतगणना सुरु भयो । डुडुवामा भने अपरान्हमात्रै मतगणना सुरु भएको थियो ।

मतगणना सुरु भएपछि परिणाम भने निकै सुस्त गतिमा आइरहँदा त्यसले उम्मेदवार तथा मतदातालाई असन्तुष्ट बनाएको छ । मत परिणामको व्यग्र प्रतिक्षामा रहेका मतदाताले मत परिणामको ढिलाईको चर्को आलोचना गरिरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमा मत परिणाममा ढिलो भएको भन्दै विभिन्न टिका टिप्पणी सुरु गरेका छन् ।

‘रेडियो, टिभी तथा सामाजिक सञ्जाल हेर्यो अपडेट निकै ढिलो आइरहेको हुन्छ’, संगीता अधिकारीले भनिन्, ‘निर्वाचन परिणाम छिटो सक्ने गरी आयोगले तयारी गरेको देखिंदैन ।’ २०७४ सालको मत परिणाम आउन लागेको समयबारे निर्वाचन आयोग जानकारी हुँदा पनि परिणाम छिटो ल्याउने गरी पूर्व तयारी गर्न नसकेको स्थानीय बताउँछन् ।

सबैजसो मतगणना केन्द्रहरुमा दुई÷तीन वटा वडाको एकै पटक गणना भैरहेको भनिएपनि सूचना भने निकै ढिलो आइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा कम मतदाता रहेको वडा नं. २३ को मत परिणाम ४ बजेपछि मात्रै आएको थियो ।

मतगणना केन्द्र बाहिर मतदाताको भिड लाग्ने गरेको देखिन्छ । ‘एक पटकको परिणाम आउन नै ३÷४ घण्टा लाग्छ, पट्यार लाग्दो भयो पर्खाइ’, नेपालगन्जको मतगणना स्थल भेरी प्राविधिक शिक्षालय अघि भेटिएका दिनेश सुवेदीले भने ।

सञ्चारकर्मीहरु पनि मतगणना स्थल पुगेर मत परिणाम कुर्दा निकै ढिलो मतपरिणाम आइरहेको महसुस गरेको बताउँछन् । यही गतिमा मतगणना हुने हो भने एक सातामा पनि परिणाम आउन गाह्रो हुने उनीहरु बताउँछन् । ‘कि मोवाइल अफ गर्नुस्, की सूचना दिनुस्,’ निर्वाचन सूचना नदिएर समस्या परेको गुनासो गर्दै पत्रकार रुपा गहतराजले सार्वजनिक रुपमै भनेकी छन् । ‘अति भएर नि !, पत्रकार गहतराजले दैनिक नेपालगन्जसँग भनिन्, ‘ढिला भयो त भयो, आइसकेको परिणाम त सहज उपलब्धता हुनुपर्यो नि !’

निर्वाचन आयोगले शुक्रबार रातीबाटै मतगणना गर्न सक्ने गरी तयारी रहेको बताएपछि मतदातामा शुक्रबार राती देखिनै प्रारम्भिक परिणाम आउने अनुमान गरेका थिए । तर, त्यसो हुन सकेन । निर्वाचनमा उत्साहजनक सहभागिता देखाएका यहाँका मतदाताहरुले मतगणना क्रममा समेत नतिजा लिन उत्तिकै उत्साहित देखिएका छन् ।

मतदातालाई बढी चासो आफ्नो वडाको गणनाको पनि रहेको पाइन्छ । ‘आफ्नो वडाको पालो कहिले आउने हो ?’, सुमित्रा भट्टराईले भनिन्, ‘यही ताल हो भने त २० दिन लाग्छ ।’

जानकीका दिनेश काँदुले निर्वाचन आयोगले मत परिणाम चाँडै जारी गर्ने बताएपनि त्यसो नभएको धारणा राख्छन् । ‘आयोगले यसअघि स्थानीय तह निर्वाचनको मतपरिणाममा भएको ढिलाईबारे जानकार हुँदा पनि सिकेको पाइएन’, उनले दैैनिक नेपालगन्जसँग भने, ‘कर्मचारी र दलका प्रतिनिधिको संख्या बढाएर एकै पटक धेरै वडाको मतगणना गर्नुपर्ने हो, दिनभरीमा एउटा वडा पनि गनि नसक्ने हो भने कहिले परिणाम आउँला ?’

मत परिणामको ढिलाई बाँकेमा मात्रै नभएर देशभरको हो । थोरै मतदाता रहेको वडाका मतपरिणाम भने आउन थालेको पाइन्छ । तर, धेरै मतदाता रहेका वडामा भने मत परिणाम आउन निकै समय लाग्ने देखिन्छ ।

मतदाताले निर्वाचन परिणाम बारे जानकारी नपाएपछि सञ्चारमाध्यम तथा पत्रकारलाई सम्पर्क गरेर जानकारी लिन खोजेको पाइन्छ । तर, सञ्चारकर्मी पनि सूचनाका लागि पर्खनुको विकल्प नरहेको प्रतिक्रिया दिन्छन् ।

‘मत जाहेर गरिसके पछि सुचना पाउनु पनि हाम्रो अधिकार हो तर यसबारेमा निर्वाचन कार्यालयले प्रभावकारी बेवास्ता नै गरेको पाइएन’, मतदाता भन्छन्, ‘सामाजिक सञ्जालमा पेज बनाएर नियमित अपडेट गरेको भए निकै सजिलो हुन्थ्यो ।’

मतगणना स्थलबाट निर्वाचन अधिकारीहरुले निश्चित संख्या गनेपछि मात्रै त्यसबारे आधिकारिक जानकारी दिने गरेको छन् । त्यसले गर्दा कुन वडाको मतगणना हुँदैछ, कसले अहिले लिड गरिरहेको भन्नका लागि गणनामा खटिएका दलका प्रतिनिधि नै सूचनाको स्रोत बनेका छन् । उनैको सूचनाका आधारमा सामाजिक सञ्जालमा मत पोष्ट हुने तथा समाचार बन्ने गरेको पाइन्छ । ‘उनीहरु पनि आफ्नो पक्षको सूचनामात्रै सार्वजनिक गर्छन्,’ उनीहरु भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया