नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रसान्त विष्टले आफूलाई मतदान गर्न अपिल गर्नु भएको छ । नेपालगन्जको समुन्नत विकासका लागि आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा मंगलबार (आज) निकालिएको बृहत्त र्यालीलाई सम्बोधन गर्दै उहाँले उपमहानगरपालिकामा आफु निर्वाचित भएपछि सबैलाई समेट्ने बताउनु भयो । “सबै जाती, भाषा, धर्म, समुदायको लागि मैले समान रुपले काम गर्नेछु, मलाई एक पटक जनताको सेवा गर्ने मौका दिनुहोस्,” उहाँले भन्नुभयो ।
मतदाताले दिएको हौसला र मायाले आफुमा हौसला बढेको बताउनु भयो । निर्वाचनको मुखमा विपक्षीले अनेक प्रपञ्च रच्न सक्ने र अफवाह फैलाउन सक्नेतर्फ सचेत रहन उहाँले सबै मतदाता तथा शुभेच्छुकलाई अपिल गर्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा निकालिएको उक्त र्यालीमा संविधान सभा सदस्य बादशाह कुर्र्मी, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, कांग्रेसका नेता सुदिप नरसिंह राणा, वडा नम्बर १७ का वडाअध्यक्षका उम्मेदवार लक्ष्मणप्रसाद बर्मा लगायत ठुलो संख्यामा कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो ।











