स्थानीय तहको आसन्न निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाका लागि स्वतन्त्र उम्मेदवार बनेका दिनेश थापामगरले व्यक्ति, पार्टी नभई उम्मेदवारको एजेन्डामा मतदान गर्न आव्हान गरेका छन् ।

व्यवसायिक क्षेत्रमा क्रियाशिल उद्यमी समेत रहेका थापाले आफ्ना तर्फबाट निर्वाचनका लागि प्रतिबद्धता सार्वजनिक गर्दै एजेन्डामा बहस नगरी मतदान गर्दा पछुताउनु पर्ने बताए । ‘राजनीति र युवा पुस्ता बीचको पुल बनेर मेरो उम्मेदवारी हो’, थापाले विभिन्न क्षेत्रका प्रतिनिधिमूलक सवाललाई सम्बोधन गर्ने गरी तयार गरेको प्रतिबद्धता दिंदै भने, ‘अहिले गर्ने सामान्य भुलले आउने १० बर्ष फेरि युवाहरु पलायनको अवस्थामा पुग्छन् ।’
उनको जोड थियो, ‘राजनीतिलाई सफा गर्न दल भित्रबाट सम्भव देखिएन, स्वतन्त्र युवाहरु प्रतिनिधिमूलक ढंगले अगाडि आउन जरुरी छ ।’ स्वयंसेवक परिचालन गरी निर्वाचन अभियानमा खटिएका उम्मेदवार थापाले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, कृषि तथा पशुपालनलाई प्रतिबद्धतामा प्राथमिकता दिएका छन् ।

पेशाले इन्जिनियर थापा, व्यवसायिक कृषि र युवाहरुलाई खेलकुदका लागि प्ररित गर्दै आएका युवा हुन् । उनले नेपालगन्जको दीर्घकालीन विकासका लागि पर्यटनमा जोड दिएका छन् ।
खेलकुद, सुशासन, सामाजिक सुरक्षा, पर्यावरण, सरसफाई र सामाजिक सद्भावको सवाललाई प्रतिबद्धतामा समेटेका नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार थापाले दैनिक नेपालगन्जसँग भने, ‘कम्तिमा मतदाताले उम्मेदवारका योजना र दृष्टिकोणका आधारमा मत दिने वातावरणको सिर्जना गरिनु पर्छ ।’ हेर्नुस् भिडियो











