वडाध्यक्षका उम्मेदवार सिद्दिकीले तलबभत्ता नलिने

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष पदका उम्मेदवार निजामुद्दिन सिद्दिकी (मुन्ना) ले निर्वाचित भएपछि राज्यबाट प्राप्त हुने सेवा, सुविधा नलिने घोषणा गरेका छन् ।

यसअघि दुई पटक वडाध्यक्ष चलाइसकेका सिद्दिकीले शुक्रबार वडाका तर्फबाट निर्वाचनमा उम्मेदवारीका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै राज्यबाट प्राप्त सेवा, सुविधा वडा भित्रका लक्षित वर्गका हितमा खर्च गर्ने घोषणा गरे ।

‘वडाध्यक्ष निर्वाचित भएपछि प्राप्त हुने कुनै पनि आर्थिक सेवा सुविधा मेरो व्यक्तिगत वा पारिवारिक हितमा खर्च गर्ने छैन’, नेपाली काँग्रेसका वडा समितिका सभापति समेत रहेका सिद्दिकीले प्रतिबद्धता सार्वजनिक गर्दै भने, ‘उक्त रकमलाई वडाभित्रका लक्षित समुदायमा खर्च गरिनेछ ।’

सिद्दिकीले वडाभित्र गरिबीको रेखामूनि रहेका नागरिकको संख्या ठूलो रहेकाले उनीहरुको हितमा सीपमूलक र आयमूलक योजना अघि सारेका छन् । ‘अहिलेको वडा पहिले जस्तो होइन’, पुराना वडाध्यक्ष सिद्दिकीले वर्तमान वडा सरकारले अपेक्षित काम गर्न नसकेकाले आफु अग्रसर हुनुपरेको तर्क गर्दै भने, ‘अबको वडाले सिंह दरबारका सेवा सुविधालाई जनताको घरदैलोमै पुर्याइदिन सक्छ भन्ने कुरा बुझेर नै म फेरिपनि वडाध्यक्षको रुपमा आफुलाई उम्मेदवार बनाएको हुँ ।’

नेपाली काँग्रेसबाट प्रचारका लागि जिम्मेवारी लिएका पार्टी नेता अशोक कुमार श्रेष्ठले सिद्दिकी अनुभवी र परिपक्व भएकाले उनको उम्मेदवारीबाट वडाबासीले आशा गर्ने ठाउँ पाएको दाबी गरे । ‘सिद्दिकीसँग अनुभव मात्रै होइन वडालाई भिजन सहित प्रस्तुत गर्ने क्षमता छ’, उनको उम्मेदवारी औचित्य पुष्टि गर्दै काँग्रेस नेता श्रेष्ठले भने ।

प्रतिक्रिया

प्रतिक्रिया