बाँकेका नागरिक समाजले निर्वाचन अनुगमन गर्ने भएका छन । स्थानीय निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनका लागि नागरिक समाजले प्रभावकारी अनुगमनको गर्ने निर्णय गरेका हुन् ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संजाल नेपालगन्जको संयुक्त आयोजनामा भएको निर्वाचन आचार संिहताबारे छलफलमा सहभागीहरुले अनुगमनको निर्णय गरेका ह्ुन् ।
आयोजकका अनुसार, छलफलमा स्थानीय निर्वाचनलाई भयरहित, निश्पक्ष र स्वतन्त्र बातावरणमा सम्पन्न गर्न र मतदानका क्रममा अपांगता भएका, असहाय, विरामी, जेष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरिने भएको छ ।
कार्यक्रमका सहभागीहरुले चुनाव हुन अब केही दिन मात्र बाकी रहदा अहिले पनि निर्वाचन आचार संहिता उलंघन भइरहेको पाइएकोले सरोकारवाला निकायको ध्यानाकर्षण गराउने भन्दै निर्वाचन आचारसंहितासंग सम्वन्धित क्रियाकलापको बारेमा अनुगमनमा देखिएका कुरालाई मानव अधिकार आयोगको कार्यालयमा हेल्प डेक्समार्फत सूचना प्रवाह गर्ने बताए ।
मानवअधिकार आयोगका नेपालगन्ज प्रमुख झंकर रावलले आयोगले नेपालगन्जमा हेल्प डेक्स स्थापना गरि निर्वाचनसंग सम्वन्धित विभिन्न गतिबिधीहरुको अनुगमन गर्ने र बेला बेलामा बैठक बसेर छलफल गरि सरोकारवालाको ध्यानाकर्षण गराइने जानकारी दिए ।
छलफलमा मानव अधिकार आयोगका पुर्व आयुक्त सुदिप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनितिक दल, मिडिया, उम्मेदवार लगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिदै भयरहित बातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भुमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले निर्वाचन आचारसंहिताका बारेमा प्रस्तुतिकरण गरे । डिजिटल राइटस नेपालका अध्यक्ष सन्तोष सिग्देलले सामाजिक संजालको प्रयोग र कानूनीका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
छलफलमा नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेकका भोला महत, नियोकका प्रदेश संयोजक सुरेश गौतम, भावुकजंग थापा, मैमुना सिद्दिकी, कमला पन्त, कृष्णमुरारी प्रसाद भट, आलम खान, लगायतले निर्वाचन आचारसंहिताको उलघंनका घटनाहरु बढी भइरहेकाले त्यसलाई न्युनीकरणमा जोड दिएका थिए ।











