नेपालगन्जको भविष्यका लागि राप्रपाको २४ बुँदा

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगन्ज उपमहानगरपालिकाका लागि आफ्नो २४ बुंदे प्रतिबद्धता सार्वजनिक गर्दै ‘कुरा भन्दा काम बढी गर्ने’ दाबी गरेको छ ।

बुधबार नेपालगन्जमा पार्टी महामन्त्री समेत रहेका नेपालगन्ज उपमहानगपालिका नगर प्रमुख डा. धवल समशेर राणाको प्रमुख आतिथ्यतामा उम्मेदवार तथा दलका नेताहरुले प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

‘हामीले अघिल्लो निर्वाचनमा २१ बुंदे प्रतिबद्धता सार्वजनिक गरेर निर्वाचनमा होमिएका थियौं’, प्रतिबद्धता पत्रको संयोजन गरेका राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले भने, ‘अधिकांस बुंदा पूरा भएकाले यो पटक पनि हामीले संक्षिप्त प्रतिबद्धता तयार गरेका छौं ।’

नगर प्रमुख पदका उम्मेदवार नन्दलाल वैश्यले प्रतिबद्धतामा धेरै कुरा लेखेर काम नगर्नु भन्दा थोरै लेखेर धेरै काम गर्ने घोषणा गरे । ‘धेरै गफ दिएर काम नगर्नु भन्दा म जे काम गर्न सक्छु त्यो मात्रै प्रतिबद्धता जनाएर मतदाता माझ पुग्ने हो’, वैश्यले पत्रकारहरुसँग भने, ‘ढुक्क हुनुस्, यसमा लेखिएका भन्दा धेरै काम गरेर देखाउँछौं ।’

उपप्रमुख पदका उम्मेदवार बिन्दु चर्तिमगरले विशेषतः महिलाहरुको आयआर्जन र आर्थिक स्तरोन्नतीसँग जोडिएर योजना ल्याउने बताइन् । सँगै रहेका नगर प्रमुख डा. राणाले आफ्नै कार्यकालमा महिला तथा पछाडि पारिएका सीमान्तकृत वर्गका लागि आफुले अघि सारेका योजनालाई अब आउने टिमले निरन्तरता दिने दिनुपर्ने बताए ।

राप्रपाले नेपालगन्ज नगर भित्र सरसफाई र हरियाली कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । आफ्नो कार्यालयको सम्पूर्ण तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका नगर प्रमुख पदका उम्मेदवार वैश्यले शिक्षाबाट वञ्चित बालबालिकाहरुलाई पूर्ण रुपमा शिक्षाको पहुँचमा लैजाने कुरालाई उच्च प्राथमिकतामा राखेका छन् ।

‘नेपालगन्जलाई पर्यटकीय हबका रुपमा विकास गरिनेछ’, वैश्यले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै भने, ‘बेरोजगारी घटाउन सीपमूलक तालिम दिई स्वरोजगार सिर्जना गरिनेछ ।’

नगर भित्र रहेका पिच हुन बाँकी सबै सडकहरुलाई एक तह स्तरोन्नती गरिने प्रतिबद्धता जनाएका वैश्यले नगर बाहिर र भित्र रिंगरोड निर्माणको महत्वाकांक्षी योजना पनि प्रस्तुत गरेका छन् । उनले नेपालगन्जलाई मेडिकल हबको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका वैश्यले अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको पहल गर्ने विषयलाई पनि समेटेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया