निर्वाचन शान्तिपूर्ण बनाउन बर्दियाका राजनीतिक दलहरु प्रतिबद्ध

बर्दियाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले स्थानीय तह निर्वाचन आचारसंहिता पालना गर्ने र निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय तह निर्वाचनलाई शान्तिपुर्ण बनाउन निर्वाचन आयोगले बनाएको आचारसंहिता पालन सम्बन्धि संवाद समूह बर्दियाले सदरमुकाम गुलरियामा आयोजना गरेको संवाद कार्यक्रममा सहभागि बर्दियाका राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्ने र निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने प्रतिद्धता जनाएका हुन् ।


स्थानीय तहको निर्वाचन २०७९ लाई व्यवस्थित बनाउन तयार पारिएको आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्नेे विषयमा संवाद समूह बर्दियाले आयोजना गरेको संवाद कार्यक्रममा विभिन्न जिल्लाभरका राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले सामुहिक रुपमा प्रतिबद्धता जनाएका संवाद समुह सदस्य लक्ष्मी नेपालले जानकारी दिनुभयो ।


बर्दियाका मुख्य निर्वाचन कार्यालय, जिल्ला निर्वाचन अधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अधिवक्ता, अधिकारकर्मी, नागरिक समाज लगायतको सहभागितामा आयोजित संवाद कार्यक्रममा बर्दिया जिल्लाका राजनीतिकर्मीहरुले आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउँदै निर्वाचन द्वन्द्वरहित बनाउने प्रतिवद्धता प्रकट गरेका हुन् ।


नेकपा एमालेका सचिवालय सदस्य अंगत श्रेष्ठले आचारसंहिता मात्र नभएर समावेशी सिद्धान्तलाई पनि आत्मासात् गर्दै चुनावमा सहभागी हुने बताउनुभयो । निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचारसंहिताको पालना आफुले पनि पुर्ण रुपमा गर्ने र अरुलाई पनि गर्न लगाउने उहाँले बताउनुभयो । नेपाली काँगे्रसका जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले आचारसंहिता पालना गर्नु नै चुनावलाई द्वन्द्वरहित बनाउनु पर्ने भएकाले सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा बताउनुभयो ।


आचारसंहिताको कहिँ कतै उल्लंघन भएको पाइएमा उजुरी गर्न आग्रह गर्दै सहायक निर्वाचन अधिकृत हरी बहादुर चौधरीले प्रमाणका आधारमा कानूनी कारवाही गरिने बताउनुभयो । उहाँले निर्वाचन आयोगले गर्नुपर्ने आचारसंहिताको काम संवाद समुह बर्दियाले गरिदिएकोमा धन्यवाद दिनुभयो ।

संवाद समूह बर्दियाले आयोजना गरेको राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुसंग निर्वाचन आचारसंहिता पालना विषयक संवाद कार्यक्रममा मुख्य निर्वाचन कार्यालय बर्दियाका सहायक निर्वाचन अधिकृत हरी बहादुर चौधरी, जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत लोकप्रसाद ढकाल, प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश सापकोटा, जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर कुँवर, जिल्ला बर्दिया अदालत बारका अध्यक्ष कासिराम चौधरीको सहभागिता रहेको थियो ।


नेपाली काँगे्रस जिल्ला सभापति अरुण प्रकाशसिंह राठौर, नेकपा माओबादी केन्द्रका प्रतिनिधि गेहेन्द्र प्रसाद ढकाल, नेकपा एमालेका सचिवालय सदस्य अंगत श्रेष्ठ, नेकपा एकिकृत समाजबादीका अध्यक्ष प्रेम प्रसाद पोख्रेल, राप्रपाका जिल्ला अध्यक्ष बासुदेव शर्मा, जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य कृष्णप्रसाद यादव लगायत राजनितिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । बर्दियामा विगत चार वर्षदेखि संवाद समूहले बहुसरोकारका विवादित सवालहरुमा सहजिकरण गर्दै आइरहेको छ ।


निर्वाचन आचारसंहिता पालना गर्न संचारकर्मीहरुको पनि प्रतिवद्धता
स्थानीय तह निर्वाचन लक्षित बर्दियामा संचारकर्मीहरुसंग गरिएको पत्रकार आचारसंहिताका विषययक संवादमा निर्वाचन आचारसंहिता पालना गर्न बर्दियाका संचारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । संवाद समूहको आयोजनामा संचारकर्मीहरुका लागि निर्वाचन आचारसंहिता पालना विषयक संवाद कार्यक्रममा सहभागि संचारकर्मीहरुले आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी कृष्ण कुँवरले पत्रकार आचारसंहिताका बारेमा जानकारी गराउनु भएको थियो । आचारसंहिता कार्यान्वयन आफुबाट शुरुवात गरि आफ्नो क्षेत्रमा कार्यान्यन गराउन प्रतिबद्ध हुुनुपर्ने बताउनुभयो । निर्वाचन आयोगले गर्नुपर्ने आचारसंहिताको काम संवाद समुहले गरिदिएकोमा उहाँले धन्यवाद समेत दिनुभयो ।

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले निर्वाचन आचारसहिंता पालना गर्न बर्दियाका सम्पुर्ण संचारकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले निष्पक्ष र धाँधलीरहित रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दायित्व हामी सबैको भएको बताउँदै निर्वाचन सम्पन्न गर्नका लागि सम्पुर्ण संचारकर्मीहरु सहमत भएको बताउनुभयो ।


नेपाल पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धितालले पत्रकारहरुले निर्वाचन आचारसंहिता आफुले पनि पालना गर्ने र कसैले उल्लघंन गरेको देखेमा नेपाल महासंघको समितीमा वा निर्वाचन कार्यालयसम्म पुर्याउन अनुरोध गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले शान्ति सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको छ, पत्रकार लगायतका सम्पुर्ण व्यक्तिहरुले गर्नुपर्ने आचारसहिंता पालनाको विषयलाई सबैसंग समन्वय तथा सहकार्य गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
पाण्डेले संचारकर्मीलाई निर्वाचन आचारसंहिता पालना गर्दै राजनीतिक दलहरुलाई सचेत गराउन महत्वुर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो । उहाँले उम्मेद्वार तथा राजनीतिक दलले आचारसंहिताको उल्घंन गरेको पाइएमा निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न समेत आग्रह गर्नुभयो ।

संचारकर्मीहरुका लागि निर्वाचन आचारसंहिता पालना विषयक संवाद कार्यक्रममा बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डे, जिल्ला निर्वाचन अधिकारी कृष्ण कुँवर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यम घिमिरे, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल, नेपाल पत्रकार महासंघका अध्यक्ष यादब आचार्य, संवाद समुह सदस्य लक्ष्मि नेपाल, अर्जुन सुवेदीसहित जिल्लाभरका २२ जना संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


युवा तथा महिला नेतृहरु पनि प्रतिवद्ध
बर्दियाका राजनितिक दलका भातृ संस्था युवा संगठन तथा महिला संघ, संगठनहरुले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउन प्रतिवद्धता व्यक्त गरेका छन् । बर्दियाका राजनितिक दलका विभिन्न संघसंस्था तथा संगठनमा आबद्ध युवा तथा महिलाहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचारसंहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन् ।


संवाद समूह बर्दियाले स्थानीय तह निर्वाचन २०७९ निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा युवा तथा महिला नेतृहरुसंग गरिएको अन्तरक्रियात्मक संवाद कार्यक्रममा आफु र आफ्ना सहकर्मीहरुलाई पनि आचारसंहिता पालना गर्न र आग्रह गर्नेमा सामुहिक प्रतिवद्धता जनाएका हुन् ।


निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन आचारसंहिता कार्यान्वयन गर्नुपर्नेमा सम्पुर्ण युवा तथा महिलाहरु एकमत भएको र आचारसंहितालाई पालना गर्नु नै चुनावलाई द्वन्द्वरहित बनाउनु आफुहरुको दायित्व जनाउँदै ऐकेवद्धता जनाएका संबाद समुह सदस्य लक्ष्मी नेपालले जानकारी दिनुभयो ।

कसैले पनि आचारसंहिता उल्लंघन गरेको कही कतै पाइएमा उजुरी गर्न आह्वान गर्दैे प्रमाणका आधारमा कानूनी कारवाही गरिने समेत निर्वाचन आयोगको कार्यलय बर्दियाले जनाएको छ । स्थानीय तह निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन संवाद समूह बर्दियाले सरोकारवालाहरुसँग संवाद कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया