नेपालगन्ज: निर्णायक संख्या १९ हजार ३ सय ९७

कसलाई रोज्लान् मतदाताले ? तथ्यांकले भन्छ, पार्टी होइन व्यक्ति हेर्छन्, नेपालगन्जका मतदाता


नेपालगन्ज उपमहानगरपालिकामा आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि १८ जनाले प्रमुख र १० जनाले उपप्रमुखमा उम्मेदवारी दिए । शुक्रवार अन्तिम समयमा प्रमुख र उपप्रमुखका एक/एकले उम्मेदवारी फिर्ता लिए । कोही जित्ने दाउमा त कोही उपस्थिति मात्रै जनाउने औपचारिकता लागि उम्मेदवारी दिएको पाइन्छ । त्यो कुराको पुष्टि माओवादी केन्द्र र जनमोर्चाले गरेको पछिल्लो उम्मेदवारी दर्ता÷फिर्ताले पनि गरेको छ ।


नेपालगन्ज उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा मिश्रित परिणाम आएको थियो । त्यसको कारण नेपालगन्जमा आम मतदाताले पार्टी भन्दा उम्मेदवारलाई रोज्ने तथा उम्मेदवारको व्यक्तिगत सम्पर्क सम्बन्धले पनि प्रभाव पार्ने राजनीतिक दलका नेता बताउँछन् । ‘निर्वाचन परिणाममा व्यक्तिको प्रभाव निकै पार्ने देखिन्छ’, दलका नेता भन्छन्, ‘राजनीतिक दलको आउने प्रतिबद्ध भोटले मात्रै नेपालगन्जमा पछिल्लो निर्वाचन जितेको पाइँदैन ।

नेपालगन्ज उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाका डा.धवल समशेर राणाले प्रमुख पद जित्दा उपप्रमुख भने जितेन । उपप्रमुख पदमा काँग्रेसबाट उम्मेदवार उमा थापा मगर विजयी भएकी थिइन् । अब हुने स्थानीय तहको निर्वाचनमा दुवै जना उम्मेदवार छैनन् । २३ वडा रहेका नेपालगन्ज उपमहानगरपालिकामा ८ वटा वडाध्यक्ष काँग्रेस, ६ वटा वडाध्यक्ष एमाले, माओवादी केन्द्रले ४ वटा, राप्रपाले ३ वटा वडा, संघीय समाजवादी फोरमले २ वटा वडाध्यक्ष जितेको थियो । नेपाली काँग्रसले वडा नं. २, १०, ११, १२, १३, १६, १९, २२, नेकपा एमालेले वडा नं. १, ६, ९, १४, १८, २०, तत्कालिन संघीय समाजवादी फोरम १५, २३ राप्रपाले वडा ४, ५, ८, माओवादी केन्द्रले वडा नं. ३, ७, १७, २१ नं. वडा जितेको थियो ।


वडामा जित्दा उक्त पार्टीको भन्दा अर्को पार्टीबाट उठेको मेयर पदका लागि भोट गएको थियो । नेपालगन्जका मतदाताले व्यक्ति छानेको आधार एउटा वडाध्यक्ष र सोही वडाबाट उपप्रमुख र उपप्रमुखले पाएको मत पनि हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख पदमा डा. धवल समशेर राणा विजयी भएका थिए । तर, वडा भने राप्रपाले तीन वटा मात्रै जित्न सकेको थियो । धेरै वडाका मतदाताले काँग्रेस, एमाले र माओवादीको वडाध्यक्षलाई मत दिंदा प्रमुख पदमा भने डा. राणालाई मत दिएका थिए ।

नगर प्रमुख निर्वाचित राणाले १२ हजार ५ सय १५ मत पाएका थिए । काँग्रेसबाट प्रमुख पदका उम्मेदवारले ८ हजार ७ सय ३०, माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवारले ७ हजार १ सय ९८, नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवारले ६ हजार ९ सय २५ मत प्राप्त गरेका थिए । त्यस्तै तत्कालिन संघीय समाजवादी फोरमले प्रमुख पदमा ५ हजार ४ सय ११ मत प्राप्त गरेको थियो ।


२०७४ सालको स्थानीय तह निर्वाचनमा उमा थापा मगर काँग्रेसबाट १० हजार ७ सय ३१ मत सहित उपप्रमुख पदमा विजयी भइन् । राप्रपाबाट उपप्रमुख उम्मेदवार रमारानी वैश्यले ८ हजार ९ सय २४ मत, नेकपा एमालेकी शान्ति ढकालले ७ हजार ७ सय ७३ मत प्राप्त गरिन् । माओवादी केन्द्रबाट उपप्रमुख पदकी उम्मेदवार कलामुन अन्सारीले ७ हजार ६७ मत प्राप्त गरेकी थिइन् ।

नेपालगन्ज उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा ६२ हजार ३ सय ९७ मतदाता रहेका थिए । अहिले त्यो संख्या ८१ हजार ७ सय ९४ पुगेको छ । अहिले १९ हजार ३ सय ९७ मतदाता थपिएका छन् ।


जितेका बाहेक राजनीतिक दल पहिले र अहिलेको परिस्थिति फेरिएको दाबी गर्दै आफ्नै जित सुनिश्चित रहेको दाबी गर्दछन् । राप्रपाबाट अहिले डा. राणा उम्मेदवार नहुँदाको फाइदा अन्य पार्टीलाई पुग्ने विश्लेषण आम मतदाता गर्दछन् । ‘व्यक्तिगत छवि कारण डा. राणा मेयर निर्वाचित हुनु भएको थियो, उहाँको ठाउँमा अर्को निर्वाचन लड्दा त्यति मत आउँदैन भन्ने राप्रपाले पहिले जितेका वडाको संख्याबाट पुष्टि हुन्छ’, एक एमालेले नेताले भने, ‘२० बर्ष अघि नेकपा एमालेबाट मेयर हुँदा गरेका कामकै कारण डा. राणा विजयी भएका हुन् ।’


राप्रपाले नगर प्रमुखमा नन्दलाल वैश्यलाई उम्मेदवार बनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वैश्य आफ्नो समुदायका अग्रज नेता पनि हुन्, उनी बैश्य समाजका अध्यक्ष छन् । बजार क्षेत्रमा बलियो पकड रहेका वैश्य उम्मेदवारीको केही दिन अघि मात्रै माओवादी छाडेर राप्रपा प्रवेश गरेका थिए ।

माओवादीबाट प्रमुख र उपप्रमुखमा परेको स्वतन्त्र उम्मेदवारी फिर्ता भइसकेको छ । यद्यपि, पार्टी केन्द्रीय नेतृत्वको दबाबमा उम्मेदवारी फिर्ता भएपनि माओवादी मत यसलाईनै जान्छ भन्नसक्ने निकै कम सम्भावना रहेको सम्बद्ध पार्टी नेता बताउँछन् । ‘स्वतन्त्र उम्मेदवारका नाममा माओवादीले अघि सारेका उम्मेदवारको नाम फिर्ताले गठबन्धन एक भएको सन्देश दिनुबाहेक ठुलो अर्थ राख्दैन,’ उनीहरु भन्छन्, ‘बरु उम्मेदवारी कायमै रहेको भए निरन्तर क्षयीकरणमा गइरहेको माओवादी मत आगामी निर्वाचनसम्म जोगिने आशा बच्थ्यो ।’

नगरप्रमुखमा दिइएको माओवादी समर्थनको स्वतन्त्र उम्मेदवारी दर्तानै हुन सकेन भने उपप्रमुखको उम्मेदवारी शुक्रवार फिर्ता लिइएको छ । जबकी नेपालगन्जमा माओवादीका लागि तत्कालिन उम्मेदवार दामोदर आचार्यले ठुलै आधार तयार गरेका थिए । पछिल्ला घटनाक्रमले आचार्यको देहान्तसँगै माओवादीमा खसेका मत विघटनको जोखिम उत्तिकै देखापरेको छ ।


‘आफ्नो पार्टीको उम्मेदवार नभएको पदमा मतदाताले जो सुकैलाई पनि रोज्न सक्ने सम्भावना हुन्छ’, माओवादीका स्थानीय एक नेताले भने, ‘नेपालगन्जमा प्रमुख वा उपप्रमुख दुवै पद नदिएको रुष्टता स्थानीय पार्टी नेता तथा कार्यकर्ता छ, अब केन्द्रीय नेताहरुले कसरी मिलाउँछन्, त्यसमा पनि भर पर्छ ।’ उनको अनुमानमा सत्यता छ, माओवादीलाई सामान्य रुपमा पनि सम्बोधन नगरेको आक्रोश स्थानीय नेतृत्वमा प्रष्ट छ, गठबन्धन विरुद्ध ।

नेपालगन्जका नगर प्रमुख र उपप्रमुख पद सत्ता गठबन्धनले काँग्रेस र जनता समाजवादी पार्टीलाई दिएको छ । काँग्रेसबाट प्रशान्त विष्ट र जसपाबाट कमरुद्दिन राई प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा नगर प्रमुखमा सफल नभएपछि यसपाली राईले आफुलाई लामो समय प्रमुख पदका लागि घरदैलो गरेपनि अन्ततः उपप्रमुखमा उम्मेदवारी दर्ता गराए । विष्ट पहिलो पटक उम्मेदवार बनेका युवा हुन् । २०७४ सालमा काँग्रेस र जसपाको मत जोड्ने हो भने १३ हजार ८ सय ११ हुन्छ, गठबन्धनमा माओवादी समेत रहेकाले त्यो बेलाको माओवादी मत थपिंदा २१ हजार ९ मत हुन्छ । गठबन्धन भित्रका नेकपा एस र जनमोर्चाले पनि दुबै पदमा उम्मेदवारी कायम राखेन ।


उम्मेदवारले नयाँ थपिएका मतदाता र व्यक्तिगत प्रभाव मत थप्न सक्ने हो भने गठबन्धन नेपालगन्जमा निकै बलियो देखिन्छ मतको गणितमा । यद्यपि, महिलालाई उम्मेदवार नबनाएको भन्दै गठबन्धन प्रति महिला मतदाता भने रुष्ट रहेको पाइन्छ । ‘गठबन्धनका नाममा महिलाको उम्मेदवारी नै दिइएन प्रमुख, उपप्रमुख पदमा’, महिला नेतृ तथा मतदाता भन्छन् । काँग्रेसले उम्मेदवारी दर्ता गराउन जानुअघि जिल्ला पार्टी कार्यालयमा महिला समूहबाट घेरिएका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको आश्वासनबाट नथामिएको आक्रोश बैशाख ३० सम्म धकेलियो भने त्यसले नकारात्मक प्रभाव पार्ने निश्चित छ ।

जसपाबाट उपप्रमुखको तयारी गरेर एक महिनाबढी प्रचारमा जुटेकी रमारानीले एकाएक टिकट नपाउने र कमरुद्दिन नै उपप्रमुखमा लड्ने निर्णय भएपछि पार्टी छाडिदिएकी छन् । उनी राप्रपा नेपाल प्रवेशमात्रै गरिनन्, दलभित्रको पुरुषत्व र आफ्नो निरहतालाई राजनीति प्रवृत्तिका रुपमा उजागर गरेकी छिन् ।


नेकपा एमालेले प्रमुख पदमा पशुपति दयाल मिश्रलाई उम्मेदवार बनाएको छ । उनी पुराना नेता हुन् । यसअघि स्वतन्त्र समूहमा रहेका मिश्रले नेपालगन्जमा सांसदको निर्वाचन सुर्य चिन्हबाट नै लडेका थिए । एमाले प्रवेश गरेका उनी अहिले पार्टी अध्यक्ष केपी ओलीसँग सोझै सम्पर्कमामात्रै होइन, अध्यक्ष ओलीको प्राथमिकतामा छन् । पार्टी केन्द्रीय सदस्य उनले नेपालगन्जमै ४ हजार बढीलाई पार्टी प्रवेश गराएको एमाले नेता बताउँछन् । नगरभित्रको ग्रामिण वस्ती, १२ देखि २३ सम्मको वडामा मिश्रले विगतदेखिनै आफ्नो पकड जमाएका छन् ।


२०७४ सालमा ६ हजार ९ सय २५ मत प्रमुख पदमा पाएको एमाले नेता अहिले नेपालगन्जमा एमालेको लहर रहेकाले जित्ने दाबी गर्दछन् । पशुपतिसँगै भित्रिएका नेता, हजारौं मतदाता सहितका कार्यकर्ताले नेपालगन्जमा एमालेले बलियो बनाएको एमाले सम्बद्ध नेताहरु दाबी गर्दछन् । दुई दशक अघिको स्थानीय तहको निर्वाचनमा एमालेले नेपालगन्जको नेतृत्व जितेकाले सोही अवस्थामा पार्टी फर्किसकेको पार्टी नेता दाबी गर्दछन् । ‘पार्टी एक भइ नेकपा हुँदाको भावनात्मक सम्बन्ध जनस्तरमा बिथोलिएको छैन, आफ्ना उम्मेदवार नभएपछि त्यो मत सुर्यमै जान्छ,’ यसरी जीतको आश गरेको पनि पाइयो ।

डा. राणा नेपालगन्जका नगर प्रमुख हँुदा मुलककै सेलिब्रेटी रहे । बनाउन कति सके, नेपालगन्ज बिगारेको आरोप उनीमाथि दाग लाग्ने गरि कसैले देखाएको छैन । राष्ट्रिय पार्टीको महामन्त्री, १०/१० वर्ष नगर हाँकेका डा. राणाको उत्तराधिकारी को होला ? विकासका दृष्टिले पछाडी पर्दै जाँदापनि देशव्यापी रुपमा बनेको त्यो धवल छवि, पोष्टरमा टाँसिएको त्यो परिपक्वता र सञ्चारमाध्ययमले चलाएका चर्चालाई हाँक्न सक्ने अबको नेतृत्व नेपालगन्जका लागि छान्ने दायित्व बोकेका नेपालगन्जका मतदाताले प्रयोग गर्ने विवेकनै नेपालगन्जको आगामी भविष्य हो । सके विकासको नेतृत्व, नसके कम्तिमा विनास रोक्ने परिपक्व दायित्व अब चुनिने नेतृत्वको रहनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया