वाटरपार्क दुर्गन्धित, वस्तीलाई सास्ती

तलाउमा मरेका माछा नहटाइँदा भएको दुर्गन्धले छेउछाउका बासिन्दालाई सहिनसक्नु, बेवास्ताको गुनासो


नेपालगन्जमा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बनेको धम्बोझीस्थित वाटरपार्कमा बढ्दो दुर्गन्धले छेउछाउका बासिन्दाका लागि सास्ती भएको छ । एकाएक वाटरपार्कमा मरेका माछा यत्तिका दिनसम्म पनि नहटाइँदा बढेको दुर्गन्धले छेउछाउका बस्ती र पार्क डुल्न जानेहरुका लागि सास्ती भएको हो ।


‘नाक थुनेर मर्निङवाक वा इभिनिङवाक गर्ने अवस्थालाई अन्त गरिनुपर्छ,’ मंगलवार वाटरपार्कमा भेटिएका स्थानीयले आक्रोश व्यक्त गर्दै भने, ‘अनुदानका माछा ल्याएर पैसा कमाउनेमात्रै उद्देश्य राखेर होला ? एकसातादेखि पार्क क्षेत्र दुर्गन्धित भइरहँदा कहाँ कस्लाई भन्न जाने हो ?’ उनीहरुले वडालाई भन्दा ठेकेदारको जिम्मेवारी भएको भन्दै सुनुवाई नगरेको र ठेकेदारले बेवास्ता गरेको गुनासो गरे ।


स्थानीयवासी राजकुमार चन्दले वाटरपार्कलाई व्यवसायिक स्वार्थका लागिमात्रै उपयोग गरिएको टिप्पणी गरे । ‘वाटरपार्क संरक्षणको दायित्व पनि ठेकेदारले लिनुपर्छ,’ वाटरपार्ककै छेउका बासिन्दा चन्दले दैनिक नेपालगन्जसँग भने, ‘माछा मरेर यो हालत हुँदा पनि ठेकेदारले बेवास्ता गर्न मिल्छ ?’ उनले दुर्गन्धले पार्क आउनेहरुको संख्या घट्दै गएको जानकारी दिंदै तत्काल वाटरपार्क सफाइ गरेर आकर्षक बनाउनुपर्ने बताए । ‘होइन भने उपमहानगरपालिकाले फिर्ता लिएर संरक्षणको व्यवस्थापन गर्नेपर्छ,’ उनले भने ।


वाटरपार्कको पछिल्लो दुर्दशाबारे ठेकेदारलाई जानकारी छ । मरेका माछा किन ननिकालेको होला ? वाटरपार्क छेवैमा पल्लोपट्टी माछा मारिरहेका एक युवाले दैनिक नेपालगन्जको जिज्ञासामा भने, ‘हुकुमदाईलाई जानकारी छ, उहाँले चुनावपछि हेरौंला भन्नु भयो ।’ वाटरपार्कमा माछामात्रै होइन, सर्प र भ्यागुता लगायतका जलचर, उभयचर पनि मरेर पानीमा तैरिएका देखिन्छन् ।


चर्काे गर्मीले पानीमा अक्सिजनको मात्रा कम भएर माछा, भ्यागुता, सर्पलगायत मरेको सम्बद्धको भनाइ छ । ‘अक्सिजन लेभल कम भएकाले माछा मरेका हुन्’, वाटरपार्क सञ्चालनको ठेक्का पाएका हुकुम केसीले दैनिक नेपालगन्जसँग भने, ‘केही समय अघि पनि माछा मरेका थिए, त्यसपछि वाटरपार्कमा पानी थपियो, तर पनि माछा मर्न छाडेका छैनन्, दैनिक माछा मरिरहेका छन् ।’


वाटरपार्क सञ्चालनमा आएपनि त्यहाँ बोटिङ भने हुँदैन । ठेक्का पाएको कम्पनी नेपालगन्जमा फनपार्कहरु खुलेपछि बोटिङकै लागि भनेर मानिसहरु नआउने गरेको बताउँछ । ‘आम्दानीको प्रमुख स्रोत माछा पालन नै हो’, केसीले भने, ‘पालेका माछा मरिरहेका छन् ।’
केसीले मरेका माछा तलाउबाट फालेर सफा गर्न कर्मचारीलाई निर्देशन दिएको बताएका छन् । ‘मरेका माछा तत्काल फालेर तलाउ सफा राख्न कर्मचारीलाई भनेको छु, निर्वाचनको व्यस्तताका कारण आफै पुगेर हेर्न भने भएको छैन’, उनले भने ।

वाटरपार्कको संरक्षण जिम्मेवारी नेपालगन्ज उपमहानगरपालिकाको हो । उपमहानगरपालिकाले वाटरपार्क सञ्चालनको जिम्मेवारीको ठेक्का १० बर्षलाई दिइसकेको छ । वाटरपार्कमा छाडिएको माछा केसीको एकल लगानीको भने होइन । नेपालगन्ज उपमहानगरपालिकाले दिएको ५० प्रतिशत अनुदानमा माछा मालन गरिएको केसी बताउँछन् ।


नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले वाटरपार्क संरक्षणमा देखिएको उदासिनता र दुर्गन्धित अवस्था बारे सम्बन्धितसँग कुरा बुझ्ने बताइन् । ‘के भएको हो, म बुझेर सुधारका लागि पहल गर्न भन्छु,’ उप–प्रमुख थापाले दैनिक नेपालगन्जसँग
भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया