विचार

परीक्षाफल अबको पखाई होइन, परीक्षापछिको तीन महिने बिदामा धेरै कुरा सिक्ने अवसरहरु छन् । साथीहरु हाम्रो परीक्षा सकिएको होइन अब बल्ल सहि मतलबमा जीवनको परीक्षा सुरुवात भएको हो ।

आइरन गेट एसईईः परीक्षा सकियो, अब के गर्ने ?

आइरन गेट, कलिला विद्यार्थीका लागि सुन्दै डरलाग्दो अभ्यस्त शब्द । दुई वर्षसम्म आइरन गेटको सुनाइ अलिक कम हुँदै गएको थियो, बरु कोरोना ब्याच भनेर विद्यार्थीलाई हतोत्साही बनाउने गरियो । यसपटक कोरोनाको त्रास सकियो, शुरु भयो फेरि आइरन गेटको त्रास ।

म भर्खरै होप इन्टरनेसनल एकेडेमी स्कुलको विद्यार्थी भएर एस. ई. ई परिक्षा सकेर बसेकी छात्रा हुँ । दुई वर्षको लामो कोरोना कालपछि भएको एस. ई. ई परीक्षा दिँदाको अनेकौँ अनुभवहरु लेख्न मन लागिरहँदा आइरन गेटका अभ्यस्त शब्दहरु अहिले पनि मेरो मानसपटलमा घुमिरहेको छ ।

अहो ! १० कक्षाको प्री टेष्ट सकेपछि एस. ई. ई परीक्षा भनेर विद्यार्थी साथीहरु माझ अलिक बढि नै त्रास पाएको थिएँ । विद्यार्थीहरुलाई जिम्मेवार बनाउन कौतुहलता सृजना गरिनु स्वाभाविक होला, तर अहिले परीक्षा सकेर बस्दा अनाहकको बहस मात्र रहेछ भन्ने अनुभूति भयो । जसरी अन्य कक्षामा परिक्षा दिन्थ्यौँ हो त्यस्तै नै रहेछ एस. ई. ई ।

बरु, अनेकखालका अनुभूति गर्ने अवसर पो रहेछ यो । नौलो विद्यालय गएर नौला साथी बनाउन पाउनु यसको मुख्यत विशेषता लाग्यो । एस. ई. ई परीक्षामा अरु बेलाको परीक्षाको तुलनामा प्रश्न पत्र गार्हो आउने त रहेनछ तर सरल प्रश्नलाई गार्हो बनाएर सृजना मात्र गरिँदो रहेछ । २ वर्ष देखि कोभिडको कारण हुन नसकेको परीक्षा यसपालि भौतिक रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड व्यवस्था गरेरै सन्चालन भयो, तर पालनामा खासै कोही पनि गम्भीर देखिएनन् ।

     मैले नयाँ नयाँ साथी बनाएँ ।  नयाँ ठाउँमा गएर परीक्षा दिँदाको अनुभव त झनै मज्जा । यसपालि गणितको र विज्ञानको प्रश्न पत्रमा  प्रश्नहरु अलिकति गार्हो जस्तो थियो ।  तर प्रश्न बुझेपछि गार्हो चाहिँ लागेन । विज्ञानको प्रश्नमा भने अङ्ग्रेजीमा बेग्लै प्रश्न अनि नेपालीमा बेग्लै थियो । यी त थिए प्रश्नका कुरा । अझ भनौं प्राविधिक कुरा । किनभने मलाई गार्हो लागेको कुरा जान्नेलाई सजिलो लाग्न सक्छ, मैले सजिलो मानेको प्रश्न साथीलाई समस्या बन्न सक्छ । अध्ययन अनि बुझाईको प्रश्न हो यो भन्ने लाग्छ ।  

कोभिडले गर्दा यसपालि पनि परीक्षा हुँदैन कि भन्ने आशंका सबैमा थियो । तर, आखिरमा परीक्षा हुने निधो भयो । त्यही अनुसार सबै विद्यार्थीहरुलाई स्कुलले आवश्यक दिशा निर्देश गरिरह्यो । विद्यार्थीहरुले पनि आ–आफ्नो तयारी गरे । मैले पनि तयारीमा कुनै कमी बाँकी राखेकी थिइन । तर, पनि परीक्षामा के होला कसो होला भन्ने अचम्मको कौतुहलता कायम नै थियो । आइरन गेटको आतंक जो थियो मेरो मानसपटलमा पनि !

सबै परीक्षा राम्रै सँग दिइरहेकी थिएँ र अन्तिममा परिक्षा सकिने दिन पनि आयो । समय थियो अन्तिम परीक्षा सकेर परिक्षा केन्द्रबाट निस्केर आफ्नो विद्यालय फर्कने, हामी सबै साथीहरुको आँखामा त्यस समयमा एकअर्काको लागि निकै नै भावनाले भरिएको माया झल्किरहेको थियो । बरु, एक दशकका स्कूले संगत छुट्ने भावनाका ति पीडा एकातिर थिए भने यसैसाता बनेका साथलाई कसरी निरन्तरता दिइएला भन्ने विषय पो अनौठा भए । सायद, अब यसरी भेट्ने, मस्ती गर्ने र उफ्रने दिन आउला ? अब त कोहि कता कोहि कता हुने त होला, मेरो जस्तै सबैका मनमा यीनै कुरा पक्कै खेले होलान् लाग्यो ।

मनमा परीक्षा सकिएको खुसीको साथमा साथीहरुसँगैको साथ र विद्यालयको जीवन सकिएको अनौठो समिश्रणले मलाई अचम्मको बनाइदिएको थियो । परीक्षा सकेर परीक्षा केन्द्रबाट बिद्यालयको बसमा रमाइलो गर्दै स्कुल पुग्यौँ । स्कुलको सर्टमा यादहरुको रेखा कोर्यौँ, ती अनौठा र अविस्मरणीय पलहरुलाई विद्यालय पोशाक ( सर्ट)मा हस्ताक्षर गरिए, कहिल्यै नमेटिने याद बनाएर ।

परीक्षा त हाम्रो सकिएको थियो तर खुसीको बेग्लै चमकको मुस्कान चाहिं मेरी प्रिन्सिपल म्याडमको ओठमा देखिन्थ्यो । दुई वर्ष देखि भौतिक रुपमा यसरी परीक्षा नभएको र यसपालि दिएका विद्यार्थीहरुले खुसीका साथ फर्केको देखेर हुनुपर्छ हाम्री म्याडमको आँखामा र अनुहारमा देखिएको त्यो खुसीले मलाई पो फुरुङ्ग बनायो । हामी सबैले स्कुलमा तस्बिर खिच्यौँ । ती पलहरु साँच्चै अविस्मरणीय रहे, रहिरहनेछन् ।

अन्तत ः परीक्षा हो भन्दैमा आत्तिने र आफुलाई आउँछ भनेर मात्तिन हुँदैन भन्ने सिक्न पाएँ । साथीहरुको साथले नै विद्यालय जीवन सुनौलो रहेछ । सारा शिक्षकहरुले हाम्रा लागि गरेका हरेक मिहेनतको रङ्ग हामीले परीक्षामा राम्रो गर्दा देखिने रहेछ । यो लेखाई अब आउने पुस्ताका लागि मेरो अनुभूति दिन सकुँ भनेरै गरिएको तत्परता हो ।

हामीले गर्ने मिहेनत समेत पुरा वर्षमा एकनासले हुनपर्छ । परीक्षाको समयमा मात्र पढ्न लागेपछि गार्हो हुन्छ भन्ने महत्वपूर्ण सिक सबैको लागि रहेछ । अब जसरी परीक्षा राम्रो गरेकी छु त्यस्तै गरी परीक्षाफल पनि राम्रो हुनेछ भन्ने आशा अनि बिश्वास छ । तर, परीक्षाफल अबको पखाई होइन, परीक्षापछिको तीन महिने बिदामा धेरै कुरा सिक्ने अवसरहरु छन् । अन्तिममा, साथीहरु हाम्रो परीक्षा सकिएको होइन अब बल्ल सहि मतलबमा जीवनको परीक्षा सुरुवात भएको हो । यो शुरुवात राम्रो हुनुपर्छ । शुभकामना ! (शनिवार सकिएको एस.ई.ई. परीक्षामा सहभागी सन्ध्या होप इन्टरनेशनल एकेडमीकी विद्यार्थी हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया