सन्दर्भ

देश स्थानीय निवार्चनको चटारोमा छ । आगामी वैसाख ३० गतेको निर्वाचनका लागि उम्मेदवारी दर्ता पछि आज अन्तिम नामावली पनि आउँदै छ । अधिकांश पालिकाहरुमा पुरानै अनुहार दोहरिएका छन् भने स्वतन्त्र उठ्नेहरुको भीड नै लागेको छ । वितेका पाँच बर्षसम्म कतै केन्द्रिय सिंहदरबारमा त कतै स्थानीय सिंहदरबारमा बसेर तलब भत्ता, अनुगमनभत्ता, पोषाक, तेल, टेलिफोन भत्ता पचाउने देखि पिर्के सलामीको सौख पुरा गरेकाहरुको तरमराइबाट आर्कषित भएर या पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवार बन्ने लहड निकै चलेको बुझ्न गाह्रो छैन । यो बैसाखको उखर्माउलो गर्मीमा चुनावी गर्मी पक्कै थपिएको छ । हिजो सत्तामा भएकाहरुले आफ्ना कार्यकर्तालाई स्थानीय बजेटबाट बाटोका खाल्टाखुल्टी पुर्ने नाममा पैसा पस्केर बिकासप्रेमि भएको स्वाँङ पारिसकेकाछन् । सरकारी गाडीमा सरकारी तेल भरेर नीजि काममा दौडेकाहरु अहिले चुनाव प्रचारका लागि पनि सरकारी गाडी मैं हुँकिदैछन् । भ्यूटावर देखि आवश्यकता नै नपरेका संरचनाहरु बनाएर राज्यकोषको दुरुपयोग गर्नेहरु आफ्नो विगत पाँच बर्षको हिसाबको कागज मिलान गरेर कामको फेहरिस्त पेश गर्दैछन् ।

जनताको आधरभूत समृद्धिमा पाँचबर्ष पहिला जे जस्तो अवस्था थियो त्यसमा बीसको उन्नाइस भएको छैन । जनप्रतिनीधिहरु नै डोजर मालिक, सिमेन्ट सरिया सप्लायर्सका मालिक, ठेक्कापट्टाका हिस्सेदार भएका छन् । यसपटकको स्थानीय निर्वाचनमा दामपैसोको जोहो गर्न सत्तामा भएकाहरुलाई त कुनै दौडधुप छैन तर हिजो सत्ता नजिक हुँदाहुँदै पनि बाहिर भएकाहरु ठेकेदारहरुसँग ठूलाठूला गोप्य सम्झौताहरु गरेर रकम जोहो गर्दैछन् भन्ने बजार हल्ला मात्रै होइन विगतका निर्वाचन र त्यसपछिका व्यवहारले देखाएको छ ।

यसपटकको निर्वाचनमा थुप्रै नयाँ पार्टी र अनुहार पनि उदाएका छन् । सबैका आ आफ्नै घोषणा छन् । कसैको मनमा गर्छु भन्ने पनि होला या कसैले अर्काको देखासिकी मै बनाएको पनि होला । कुरा धेरै हुन्छन् चुनावका बेला तर काम भनेको त उहि ढाकको तीन पात नै भएको छ ।

निर्वाचनको महत्वपूर्ण तर कहिल्यै पूरा गर्न नपर्ने वाचाको पोको पारेका २०७४ सालमा चुनाव जितेका पार्टीहरुले उनै चुनावी बाचाहरुलाई उलटफेर पारेर नयाँ बनाएका छन् । पाँच बर्ष पहिला गरेका वाचाहरु सबै बाचामै रहे तर पनि त्यसैलाई नयाँ र्यापिङ गरेर जनतालाई आँखामा (टिलिटिलेऐना) टल्काउने ऐना बनाएर पेश गरिसकेका छन् । कुनै कुनै पार्टीले २०६४ साल देखि आकाश कै तारा खसाल्ने वाचा गरेर थाकेकोले होकि यसपटक घोषणा नै गर्न भ्याएन । यी सबै घोषणाका लागि गरिने घोषणा पत्रहरु २०७४ सालमा निर्वाचन जितेकाहरुको ‘उहि मुलाको सिन्की उहि मूलाको चाना’ भएका छ ।अब फेरि नयाँ लेपनमा पस्किएको घोषणा फेरिपनि त्यस्तै हुनेमा शंका छैन ।

यसपटकको स्थानीय निर्वाचन मतपत्रमा लड्ने दिन आइसक्यो । त्यो भन्दा पहिला समाजिक सञ्जालमा ब्यापक रुपमा लडाइँ चलेको थियो । यो ब्यवस्था र जनप्रतिनिधीको अवस्थाबाट वाक्क हुनेहरुको ब्यथा निकै पोखिएको पनि थियो र छ । जिन्दगी एउटा पार्टीको राजनीतिमा खपाएर अर्कैको चुनाव चिन्हमा भोट हाल्ने फरमानलाई कसरी मान्ने ? भित्रभित्रै उल्लघंन गर्ने कि नगर्ने भन्ने दुबिधा पनि चुलिएको छ । हिजोका प्रतिनिधिको दुर्गंन्धलाई नपचाएकाहरु आफै उम्मेदवार बन्ने भनेर तिघ्रा त घसे तर थोरैैले हिम्मत पनि देखिएका छन् । यस्तोे अवस्थामा अब कसलाई भोटहाल्ने भनेर यसपटकको स्थानीय निर्वाचनमा जनताले पनि आफ्नो घोषणा पत्र तयार गरि पेश गर्नुपने भएको छ ।

यहाँ प्रस्तुत छ जनताले पस्किने घोषणा पत्रका कुराः
आदरणीय स्थानीय पालिकाका बिभिन्न पदमा उम्मेदवार बन्नु भएका आमा बुबा दाजुभाई तथा दिदी बहिनीहरु,
तपाइँहरुलाई नेपाल आमाको माटोको कसम ।
तपाइँलाई हामी भुइँमान्छेहरुले छाक काटेर पालीपोषी हाम्रै छोराछोरीको काँधमा बन्दुक बोकाएर हाम्रै ढुकुटी लुटाएर, हामीले नै बुट, लाठी गोली खाएर ल्याइदिएको गणतन्त्रमा पिर्के सलामी खाने बन्नु भएकोमा हामीलाई बधाइ छ । तपाइँलाई हाम्रोे पनि जयनेपाल लालसलाम सप्पै छ । यो गणतन्त्रको गन्धमा लठ्ठ पर्नु भएका आदरणीय उम्मेदवार ज्यूहरु तपाइँलाई हामीहरुसँग भोट माग्न आउँदा यो घोषणा पत्रमा भएका प्रश्नहरुको प्रमाणिक उत्तर सहति उपस्थित हुनुहोला भनि देहायका घोषणाहरु गर्दछौं ।
– तपाइँले विगतमा गरेका बाचाहरु के कति पुरा भए त्यसको लेखाजोखा पेश गर्नुहोला ।
-तपाइँले विगत पाँच बर्षमा राज्यकोषबाट के कति तलबभत्ता, अनुगमन भत्ता बुझ्नु भो ? कस्तो सवारी साधन प्रयोग गर्नु भएको छ ? कति लीटर इन्धन खपत गर्नु भयो ?
-पार्टीको बैठक, बिहेबारी भोजभतेर, परिवारलाई भ्रमण गराउँदा सरकारी गाडी प्रयोग गरेको कति इन्धन खर्च गरियो त्यसको श्वेत पत्र साथमा ल्याउनु होला ।
– राज्यकोषको रकमबाट हिस्सा पाउने गरि आफन्तका नाममा कतिवटा निर्माण कम्पनी बनाएर कतिवटा ठेका पार्नु भयो ? तपाइँसँग पालिकामा छिरेपछि कतिवटा डोजर, टिपर खरिद थपिएका छन् ? त्यसको लगत सहित आउनु होला ।
-तपाइँको वा तपाइँका आफन्तको नाममा भएको सिमेन्ट, छड, पेन्टका पसलको पाँच बर्ष पहिलाको कारोबार र त्यस यताको कारोबारको तुलानत्मक वासलात प्रस्तुत गर्नुहोला ।
-तपाइँको पाँच बर्ष पहिलाको खेतबारी घरघडेरी सुनचाँदी बैंक मौज्दात नगद आदि र अहिले भएको खेतबारी घरघडेरी सुनचाँदी बैंक नगद मौज्दातहरुको विवरण पत्र साथमा ल्याउनु होला ।
– तपाइँको पालिकामा तपाइँका आफन्त वा नजिकका मान्छेले करार अस्थायी जागीर यो पाँच बर्षमा कति जनाले कतिपटक पाए त्यसको लगत ल्याउन नभूल्नु होला ।
-तपाइँले बनाएका भ्यूटावरहरु, सभाहलहरु, पेटीपार्कहरुले कति बेघरहरुको बासको समस्या समाधान भयो ? कति जनाले रोजगारी पाए ? कति उत्पादन बढ्यो ? कति विद्यालयमा शिक्षकहरु थपिए ? कति किसानले सिँचाइ सुविधा पाए ? कतिवटा बाटाहरु बने ? कतिवटा अस्पताल बने ? यसको हामीले बुझ्ने गरि विवरण बनाइ पेश गर्नुहोला ।
-तपाइँले बाँडेको कोषबाट पाँच बर्षमा नेपालको मौलिकता यहाँको मूलकुल धर्मसँस्कृति भाषा सभ्यताको क्षेत्रमा के के काम भयो ?
-तपाइँको कार्यकालमा नेपाली भाषा र स्थानीय भाषाको विकासका लागि के के काम भयो ? कतिवटा नेपाली भाषा माध्यममा पढाउने शिक्षक वा विद्यालयको शैक्षिकस्तर बृद्धि भै सम्मान योग्य बने ?
ड्डतपाइँको पार्टीको पाँच बर्षे कार्यकालमा वास्तविक समस्या परेका कतिजना जनताको घरदैलो पुगेर समस्या बुझ्ने र समाधान गर्ने काम गर्नु भयो ?
-तपाइँले बाँडेका अनुदानका सिचाइँ मोटर, घाँसकाट्ने मेशिन, साइकल, मलबीउ, आदि कस्तो आर्थिकस्तर भएको व्यक्तिले पाएको छ ?त्यो किन्ता कहाँ बाट कतिको बिलभरभाई बनाएर ल्याइएको हो ? कस्तोे आर्थिक हैसियत भएकालाई बाँडिएको हो ? सोको विवरण सहित आउनु होला ।
-तपाइँले अनुदानमा दिन खरिद गरेको सामानको बजार मूल्य कति छ ? तपाइँले खरिद गरेको बिल मूल्य कति छ ? अनि कति प्रतिशत अनुदान्मा कति रकम लिएर दिनु भएको हो ? त्यसको विवरण ल्याउनु होला ।
-तपाइँले खाजा खाना खर्च भनि पालिकामा पेश गरेको बार्षिक बिल कति छ ? त्यो खाजा खाना सरकारी पैसाबाटै खानु पर्नाको कारण खुलाउनु होला ।
-तपाइँले एमसीसी भनेको कसरी बुझ्नु भएको छ ? तपाइँ सम्मिलित पार्टीले एमसीसी सदनमा पेश गर्ने निर्णय गर्दा, पेश गर्दा र पारित गर्दा तपाइँले खुशी मनाउनुको कारण लिखितममा पेश गर्नुहोला ।
-तपाइँको पालिकामा उत्पादन हुने फलफूल तरकारीको उचित मूल्य किसानलाई दिलाउन के काम गर्नु भयो ?लकडाउनका बेला नेपालको तरकारी खाल्टो खनेर गाड्दा र पारीको तरकारी खुलेआम बिक्री गर्न दिँदा तपाइँलाई कतै किन पोलेन ?
-तपाइँ आइसकेपछि पालिकामा कति जनाले पशुपालन गरे ? कति दुध उत्पादन बढ्यो ? नेपाली किसानले आफ्नो उत्पादनको कस्तो मूल्य पाए ?
-हाम्रो पालिकामा रहेका राष्ट्रिय उद्यमीहरुले सीमा पारीबाट आउने बीना भन्सारका समानका कारण आफ्नो लगानी उठाउन नसकेर पलायनको अवस्थामा पुगे ? तपाइँले त्यसलाई रोकेर स्थानीय ब्यापारीलाई संरक्षण गर्न खोई के कदम उठाउनु भयो ?
ड्डशिक्षामा आइएनजिओको मनमर्जी रोक्न के काम गर्नु भयो ?तपाइँको पालिकाका जनप्रतिनिधी र कर्मचारीलाई कतिवटा आइएनजिओका भतेर र भत्तामा सहभागी गराउनु भयो ?
-तपाइँको पालिकाको बजार व्यवस्थापनमा तपाइँको योगदान के रह्यो ? फोहर र ढल ब्यवस्थापनगर्न के काम गर्नु भयो ?
-छाडा पशु चौपायालाई नियन्त्रण गरि किसानको बाली जोगाउने र सडक दूर्घटना रोक्न के के उपाय अपनाउनु भयो ?
-तपाइँले पालिका भित्र रहेका सार्वजनिक सम्पत्ति, जग्गाको अतिक्रमण रोक्न के कति काम गर्नु भयो ? नीजि सार्वजनिक जमीनमा सीमापारिबाट आएर पाल टाँगेर बस्दा पनि उनीहरुलाई हटाउने काम किन गर्नु भएन ? कसका अनुमतिले यसरी आउँने गर्छन् विदेशीहरु ?
-काम नगर्ने, काम बिगार्ने, कमसल काम गर्ने ठेकेदारहरुलाई नै पटकपटक ठेक्का दिनुपर्ने तपाइँको मजबुरी वा स्वार्थ के हो ? त्यस बिषयमा खुलस्त पार्नु होला ।
-पढ्न नखोज्ने विद्यार्थी र लागूऔषधमा कुदेका युवाहरुलाई नैतिक शिक्षा दिन के कस्तो काम गर्नु भयो ?
-तपाइँले गत निर्वाचनमा बिजयी हुँदा गाउँगाउँमा दिएको भोजको खर्च कति हो ? कहाँबाट आयो त्यो श्रोत ?अहिले कस्तो भोजगर्ने योजना छ ?
-तपाइँलाई जनप्रतिनिधी किन भन्ने ?तपाइँले निर्वाह गरेको कुन जिम्मेवारी जनप्रतिनिधीको देखियो ?
-तपाइँ सम्मिलित पार्टीको मूल सिद्धान्त, आर्दश, वाद र प्रतिमान कुन देश र कहाँको व्यक्तिको ल्याइएको हो ? त्यसमा नेपाल र नेपालीत्व नेपाल सापेक्षता कहाँ झल्किन्छ ?
-तपाइँको पार्टीको फरमान अर्को पार्टीलाई भोट हाल्ने पनि छ । त्यसमा पार्टी फरक भन्ने कुरा अब रहेन भने तपाइँले यो सब गर्नुको कारण सत्ता र भत्ता मात्रै हो भन्न किन नसकेको ?
-२०४७ साल देखि तपाइँको पार्टी पटकपटक सत्तामा रहेको छ । अब पनि तपाइँ नै सत्तामा बसेर के लछारपाटो लाउने सोच्नु भएको छ ? तपाइँको पार्टीलाई नै पटकपटक किन हेर्नुपर्ने ?
– तपाइँले शिक्षक, कर्मचारीलाई पार्टी काममा किन खटाएको ? के तपाइँको भोट माग्ने काम शिक्षक कर्मचारीको हो ?
आशा छ तपाईहरुबाट यसको सहि उत्तर र वाचा सहित भोट माग्न आउनुहुनेछ ।
हामी भुइँमान्छेहरुको तर्फबाट तपाइँहरुलाई सत्कर्म र सद्बुद्धिको शुभकामना !
जय वन्दे नेपाल मातरम् । जय स्वराज्य ।

प्रतिक्रिया

प्रतिक्रिया