मत माग्ने मात्रै होइन मतदातालाई मत हाल्न पनि सिकाउनुपर्छ ः एमाले केन्द्रीय सदस्य ढकाल
अब निर्वाचन आउन १४ दिनमात्र बाँकी छ । तर, बाँकेमा मतदाता शिक्षा सम्बन्धी कुनै कार्यक्रम सञ्चालन भएको छैन । मतदाता शिक्षा निकै महत्वपूर्ण रहेको राजनीतिक दलका नेतादेखि आम मतदाता बताउँछन् । मतदाता शिक्षाको अभावमा हजारौं मत बदर हुनसक्छन् । त्यसले जित्ने व्यक्ति हार्ने र हार्ने व्यक्ति जित्ने सम्मका परिणाम आउँछन् । यति गम्भीर विषयमा बाँके न त राजनीतिक दल न त निर्वाचन आयोग खासै वास्ता गरेको पाइँदैन । निर्वाचन आयोगले समेत गाउँगाउँ पुगेर भोट हाल्न सिकाउने खालका कुनै कार्यक्रम सार्वजनिक गरेको छैन ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख, जिल्ला निर्वाचन अधिकारी रमा पन्तले आठ वटै पालिकामा नमूना मतदानको कार्यक्रम रहेको बताउँछिन् । ‘मतदाता शिक्षाका लागि टेलिभिजन, रेडियो, पत्रपत्रिका मार्फत सचेतनामूलक सूचना जारी भैरहेको छ’, उनले भनिन् । निर्वाचन कार्यालय बाँकेकी प्रमुख पन्तले नमूना मतदान बाहेकको मतदाता शिक्षा सम्बन्धी अर्को कार्यक्रम भने नरहेको बताइन् । निर्वाचन कार्यालयले मतदाता शिक्षा सम्बन्धी टेलिभिजन, रेडियो, पत्रपत्रिकामा सूचना आइरहेको भनेपनि बाँकेका मतदाता त्यसबारे अनभिज्ञ छन् ।
‘मत हाल्न सिकाउने खालको कुनै सूचना कुनै माध्यमबाट पाएका छैनौं’, नेपालगन्जकी सुमित्रा भट्टराईले भनिन्, ‘कसैले भोट हाल्न सिकाएको छैन ।’ रुस्तम अली पनि मतदाता शिक्षाबारे अनुभिज्ञ छन् । उनीहरु मात्रै होइन दैनिक नेपालगन्जले मतदाता शिक्षा कुनै माध्यमबाट पाइएको छ भन्ने प्रश्नमा कसैले पनि पाएको बताएनन् । बरु अधिकांसले यसअघि भोट हालेकाले भोट हाल्न आउने बताएका थिए ।
बाँकेमा २०७४ सालको स्थानीय तह निर्वाचनमा २ लाख ४६ हजार १ सय ३ मतदाता थिए । अहिले त्यो संख्या ८१ हजार ७ सय ९४ पुगेको छ । पहिलो पटक १९ हजार ३ सय ९७ मतदाताले मतदान गर्दैछन् ।
‘मत माग्ने मात्रै होइन मतदातालाई मत हाल्न पनि सिकाउनुपर्छ’, नेकपा एमाले बाँके इन्चार्ज सुर्य ढकालले मतदाता शिक्षाको महत्व उम्मेदवारसँगको भेटघाटमा भन्ने गर्दछन्, ‘भोट माग्ने, भोट हाल्ने र बदर हुने अवस्था नहोस् ।’ उनले मत बदरले निर्वाचन परिणाम नै उल्टिने गरेको उदाहरण दिंदै नरैनापुर गाउँपालिकाका एमाले उम्मेदवारहरुलाई नमूना मतपत्र लिएर प्रचारमा हिड्न निर्देशन दिएका थिए ।
स्थानीय तह निर्वाचन २०७४
कुल बदर मतको ५० प्रतिशत नेपालगन्जमै
मतदाता शिक्षा प्रभावकारी नहुने हो भने मत कति बदर हुन्छ भन्ने पछिल्लो उदाहरण स्थानीय तह २०७४ को निर्वाचन हो । २०७४ को स्थानीय तहको निर्वाचनमा कुल खसेको मतमा ६.८४ प्रतिशत बदर भएको थियो ।
स्थानीय तह निर्वाचनमा बाँकेका आठ स्थानीय तहमा कुल १ लाख ९२ हजार ३ सय ६३ मत खसेको थियो । जसमा १ लाख ७३ हजार ९ सय ५२ मत सदर भयो । अर्थात्, १३ हजार १ सय ६७ मत बदर भयो ।
मत बदर सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा भएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा ४८ हजार ६ सय ६९ मत खसेकोमा ६ हजार ८ सय १६ मत बदर भएको थियो । कुल खसेको मतको १४ प्रतिशत मत नेपालगन्जमा बदर भएको थियो । कुल बदर मतको ५० प्रतिशत भन्दा बढी मत नेपालगन्जमा बदर भएको थियो ।
नेपालगन्जपछि बढी मत बदर डुडुवा गाउँ पालिकामा भएको थियो । डुडुवा गाउँपालिकामा कुल खसेको मतमा ११.६२ प्रतिशत मत बदर भएको थियो । सबैभन्दा कम मत बदर १.८८ प्रतिशत कोहलपुरमा बदर भएको थियो ।