समृद्ध नरैनापुर एमालेको प्रतिबद्धता : ढकाल
बाँकेको नरैनापुर गाउँपालिकामा उम्मेदवारहरुले सामूहिक रुपमा घरदैलो सुरु गरेका छन् । यसअघि उम्मेदवारहरुले व्यक्तिगत भेटघाट गरेकोमा बुधबारदेखि सामूहिक घरदैलो सुरु गरेका हुन् ।
नेकपा एमाले नरैनापुर गाउँपालिकाले निर्वाचन लक्षित गरी योजना बनाउनका लागि बुधबार आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले ६ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटिको घोषणा गरेका थिए । त्यसक्रममा जिल्ला इन्चार्ज ढकालले निर्वाचनमा प्रतिबद्ध भएर लाग्न र समस्या तत्काल खबर गर्न उम्मेदवारलाई आग्रह गरेका थिए । ‘कुनै समस्या भए तत्काल भन्नुहोस्, एमालेले गरेका काम र नरैनापुरमा एमालेले बनाएको एजेन्डा लिएर घरदैलोमा जानुहोस्’, इन्चार्ज ढकालले भने ।
एमाले बाँके इन्चार्ज ढकालले नरैनापुर पिछडिएको भन्ने छापलाई एमालेले विकास गरेर समृद्ध बनाउने सपना बोकेको बताएका थिए । ‘टोल, गाउँ, पालिका, जिल्ला, प्रदेश हुँदै देश विकास गरेर समृद्ध राष्ट्र बनाउने एमालेको अभियानलाई सार्थक बनाउन सबै तहका निर्वाचनमा एमालेले जित्नु पर्दछ’, निर्वाचन आचारसंहिता, अनुशासनको पालना गरेर आम मतदातालाई एमालेका विकासका एजेन्डा बुझाएर मत माग्न उम्मेदवारहरुलाई सुझाव दिंदै नेता ढकालले भने, ‘आफु मात्रै होइन सिंगो गाउँपालिका जित्ने गरेर निर्वाचनमा होमिनुस् ।’
एमाले नरैनापुर गाउँपालिकाले निर्वाचन परिचालनका लागि रामकुमार दीक्षितको संयोजक, विराट थारु सहसंयोजक रहने गरी ६ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि बनाएको हो । ‘अब व्यवस्थिति, सामूहिक रुपमा प्रचार अभियान सुरु भयो’, एमाले बाँके इन्चार्ज ढकालले भने ।
कार्यक्रममा बोल्दै निर्वाचन परिचालन कमिटिका संयोजक दीक्षितले नरैनापुरको विकास, आफ्ना सन्ततिको भविष्यका लागि नरैनापुरको मुहार फेर्न आवश्यक रहेको र त्यसका लागि एमालेको नेतृत्व नरैनापुरमा आवश्यक रहेको बताएका थिए । ‘अब नरैनापुरमा विकासका लागि राजनीति हुन्छ, समृद्धिका लागि राजनीति हुन्छ’, उनले भने ।
एमाले नेता देवराज भारले नरैनापुर गाउँपालिकाले सही नेतृत्व नपाउँदा विकासमा पिछडिएको बताए ।
एमाले नेतृ समेत रहेकी प्रदेशसभा सदस्य आरती पौडेलले एमालेले जितेका पालिकाहरुको उदाहरण दिंदै नरैनापुरमा एमालेले जितेपछि विकासका धेरै काम हुने बताइन् । उनले नरैनापुरलाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा धेरै काम गर्न आवश्यक रहेको उल्लेख गरिन् । निर्वाचनका बेला मतदाताले सही ढंगले मत नहाल्दा परिणाममा असर पर्ने तर्फ उम्मेदवारहरुको ध्यानाकर्षण गराउँदै नेतृ पौडेलले भनिन्, ‘प्रचारप्रसार सँगै मतदातालाई मत कसरी हाल्ने भन्ने पनि सिकाउनुस्, मत बदर हुँदा त्यसले अपेक्षित परिणाम नआउन सक्छ ।’
एमाले नरैनापुर गाउँपालिकाका अध्यक्ष पञ्चराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता विराट चौधरी, पुजन विश्वकर्मा, सोहनलाल यादव, गाउँपालिका प्रमुख पदका उम्मेदवार पदमावति यादव, वडाध्यक्ष पदका उम्मेदवारहरु लगायतको सहभागिता रहेको थियो ।
यसैबीच नरैनापुर गाउँपालिका बुधबारदेखि औपचारिक रुपमा घरदैलो सुरु गरिएको वडा नं. ६ का वडाध्यक्ष पदका उम्मेदवार शालिकराम यादवले जानकारी दिएका छन् । आफ्ना एजेन्डा लिएर मतदाता भेटघाट गरिरहेको जानकारी दिंदै उम्मेदवार यादवले मतदाताको साथ पाउनेमा ढुक्क रहेको बताए । वडा नं. ६ को घरदैलोमा प्रमुख पदका उम्मेदवार पनि सहभागी रहेकी थिइन् ।
त्यस्तै वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार विनय दीक्षितले यसअघि नै घरदैलो सुरु गरेका छन् । पार्टीबाट टिकट पाउने सुनिश्चित भए लगत्तै उनले व्यक्तिगत भेटघाट सुरु गरेका थिए । ‘अहिले टिम सहित घरघरमा पुगेर मत मागिरहेको छु’, दीक्षितले भने ।
नेकपा एमालेबाट अध्यक्ष पदमा नरैनापुर वडा नं. १ मा मलहे शेष, वडा नं. २ मा मैसर खाँ, वडा नं. ३ मा ताज खाँ, वडा नं ४ मा सुनैना मिश्र, वडा नं. ५ मा विनय दीक्षित दीक्षित, वडा नं. ६ मा शालिकराम यादवले उम्मेदवारी दिएका छन् ।